विकासन्युज

जीवन बीमा कम्पनीको बजार २० प्रतिशतले बढ्यो, नेपाल लाइफको बजार हिस्सा ३१ प्रतिशत(सूचिसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बजार २० प्रतिशतले बढेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २० प्रतिशतले बजार वृद्धि गरेर ३८ अर्ब ४० करोड प्रिमियम(बीमा शुल्क) संकलन गरेका हुन् । यीनै कम्पनीहरुले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ३१ अर्ब ९७ करोडको प्रिमियम मात्रै संकलन गर्न सकेका थिए । ९ वटा बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै १२ अर्ब प्रिमिय संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशत बढि प्रिमियम संकलन गरेको हो । कुल प्रिमियममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै हिस्सा ३१ प्रतिशत ओगट्न सफल भएको हो । धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा दोश्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । यो कम्पनीले ८ अर्ब ८० करोड रुपैंयाँ प्रिमियम संकलन गरेको हो । यसले आफ्नो बजार २५ प्रतिशतले वृद्धि गरेको देखिन्छ । त्यस्तै, तेश्रो धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा नेशनल लाइफ इन्स्योरेन्स स्थापित भएको छ, जसले ४ अर्ब ९५ करोड प्रिमियम संकलन गरेको हो । नेशलन लाइफ इन्स्योरेन्सक कम्पनीले आफ्नो बजार हिस्सा २९ प्रतिशतले बढाएको देखिन्छ । जीवन बीमा कम्पनीहरुले आफ्नो बजारलाई ८ प्रतिशतदेखि २९ प्रतिशतसम्म विस्तार गर्न सफल भएका छन् । राष्ट्रिय बीमा संस्थानको बजार ८ प्रतिशतले बढेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले २९ प्रतिशतले बजार बढाएको छ ।

बिनोद ढकालले ल्याए “भ्यालेन्टिनो” नामको पप गीत नेपाली बजारमा

काठमाडौं । बिनोद ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । “उकालीमा पनि हजुर मोटर जाँदो रैछ”,”मर्छु किक्या हो गाँजा तानी तानी”, “भ्रुम-भ्रुम” लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि “बाजेले गितार बजाको बज्यै नाच्न लजाको” बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् । यसपटक बजारमाल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाई मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । मालालिम्बु र सुनिलश्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको बताइएको छ । अहिले बजारमाल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए । २०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेको पनि जानकारी दिइएको छ ।  

ग्लोबल आइएमई क्यापिटलमा खाता खोल्नेलाई एक लाखको दुर्घटना बीमा सित्तैमा

काठमाडौं । ग्लोबल आइएमई क्यापीटलले नयाँ हितग्राही खातासँगै निःशुल्क सामूहिक व्यक्तिगत दुर्घटना बीमा प्रदान गर्ने भएको छ । यस योजना अन्तर्गत क्यापीटलले नयाँ खाता खोल्ने र खाता नविकरण गर्ने ग्राहकलाई १ लाख रुपैयाँको दुर्घटना बीमा सित्तैमा गरिदिने भएको छ । यो योजना साउन ८ गते देखि खोलिने खाताहरुमा लागु हुनेछ । सोको लागि ग्लोबल आइएमई क्यापीटल र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमा खोलिने सम्पूर्ण हितग्राही खाताहरुमा निम्न बमोजिम लागू हुने क्यापिटलले जनाएको छ । यस क्यापीटलले मर्चेन्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई क्यापीटलले मर्चेन्ट बैंकिङ्गका सेवाहरु निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिस्ट्रार, अण्डर राईटी, निक्षेप सदस्य, पोर्टफोलियो व्यवस्थापन र योजना ब्यवस्थापक अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्दै आएको छ ।

घर जग्गाबाट करिब २१ करोड राजस्व, अनलाइन सेवाका कारण राजस्वमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा कारोबारबाट २० अर्ब ८७ करोड ७५ लाख राजस्व असुली भएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा ३७ प्रतिशतले बढी हो । सरकारले गएको आवमा १४ अर्ब ४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयले एलआरआईएमएस अनलाइन प्रणाली लागू गरेपछि राजस्वमा उच्चतम वृद्धि भएको विभागका निर्देशक शुशील प्रसाद आचार्यले बताए । नगरपालिका थपिएको, पुँजीगत लाभकरमा अनुसन्धान गरी यथार्थ कारोबार गर्नलाई प्रोत्साहन तथा अनुगमन गरेकाले राजस्वमा वृद्धि हुँदै गएको हो । हाल नेपालमा २ सय १७ वटा नगरपालिका रहेको छ । सरकारले गत वर्ष नगरपालिका विस्तार गरेको हो । एलआरआईएमएस अनलाइन प्रणाली हाल उपत्यकाका सबै मालपोत कार्यालयका साथै अन्य कार्यालयमा लागू भएको छ । विभागले चालू आवमा ३९ वटा मालपोत कार्यालयमा सो सेवा विस्तार गर्ने रणनीति बनाएको छ । ‘प्रणाली सञ्चालनमा आएपछि करछली क्रियाकलापमा न्यूनिकरण आएको छ,’ उनले भने । गएको वर्ष संकलित राजस्व अघिल्लो वर्षको भन्दा करिब ६० प्रतिशत बढी हो । अघिल्लो वर्ष विभागले १३ अर्ब ७ करोड ६७ लाख राजस्व संकलन गरेको थियो । विभागले घरजग्गा दस्तुर, जग्गाको मोल, राफराफ तथा पूर्जा विक्री , फूटकर दण्ड  जरिवाना तथा रोक्का शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । यी शीर्षकमध्ये सबैभन्दा बढी घरजग्गा दस्तुरबाट बढी राजस्व संकलन भएको छ । गएको वर्ष सरकारले सो शीर्षकबाट १९ खर्ब ३१ करोड राजस्व असुुली गरेको छ । अघिल्लाे वर्ष उक्त शीर्षकबाट ११ अर्ब ९३ करोड राजस्व असुली गरेको थियो ।

मुसाका छाउरा नछिर्ने दरबारमा २४ लाख नागरिकले पाइला टेके, राज्य कोषमा आयो २१ करोड

काठमाडौं । “कस्ता–कस्ता कहाँ गए मुसाका छाउरा दरबार” भन्ने उखान नेपाली जनजिब्रोमा अझै लोकप्रिय छ । तर लोकतान्त्रिक गणतन्त्रले त्यहि दरबारमा सर्वसाधारणको सहज पहुँच स्थापित गरिदिएको छ । एक दशक अघिसम्म सर्वसाधारणका लागि सपनाको बिषय बन्ने नारायणहिटी दरबारमा आज नागरिक सहजै जान पाउँछन र घुम्न पाउँछन् । दशक अघिसमम्म नागरिकले दरबारभित्र पाइला टेक्न दशैंको टिका कुर्नै पर्ने दरबारमा अहिले दैनिक हजारौं नेपालीले निर्वाध अवलोकन गरिरहेका हुन्छन् । जसरी १० बर्षमा बागमति नदिमा धेरै पानी बग्यो ठिक त्यसरी नै कुनै समय नागरिकको स्वैर कल्पनामा सिमित नारायणहिटी दरबारमा जनताको ठुलै पंक्तिले अवलोकन गरिसकेको छ । बि.सं २०६५फागुन १६ गतेदेखि नागरिकका लागि एकादेशको कथाकै रुपमा रहेको नारायणहिटी दरबारलाई संग्रहालय बनाएर खुल्ला गरिएको थियो । ९ बर्षमा नारायणहिटी संग्रहालयको २४ लाख ९५ हजार ९ सय ५१ नागरीकले अवलोकन भ्रमण गरिसकेका छन् । र यो सबै लोकतान्त्रिक गाणतन्त्रले मात्रै सम्भव भएको हो । बि.सं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको ६ वर्ष पछि वि.सं २०६५ सालबाट सर्वसाधारणको लागि खुल्ला गरिएको हो । उक्त संग्रालय सामान्य खालको संग्रहालय मात्र नभएर शाह वंशको घर पनि हो । अन्य संग्रहालय भन्दा बिलकुलै फरक किसिमको तथा धेरै तथ्य लुकेको संग्रहालय हो । नारायणहिटीमा प्रवेश गर्दा नेपालीहरुले १ सय रुपैयाँको टिकट काट्नु पर्छ भने विद्यार्थीहरुले २० रुपैयाँमा प्रवेश गर्न पाउने व्यवस्था छ । त्यसैगरी सार्क राष्ट्रका पर्यटकहरुले २ सय ५० रुपैंयाँ तिनुपर्ने हुन्छ भने अन्य राष्ट्रका नागरिकले ५ सय रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, ३ वर्ष मुनिका बालबालीकालाई भने निःशुल्क प्रवेशको सुबिधा छ । संग्रहालयमा जान पाउने कल्पना पनि गर्न नसकिने पहिलाको अवस्थालाई पार गर्दै अहिले संग्रहालयमा प्रवेश गर्न पाउने व्यवस्था आउँदा अचम्म पनि लाग्ने गरेको बताउँछन् अवलोकनकर्ता । नारायणहिटी दरबारमा ५२ वटा कोठा भएता पनि सर्वसाधारणको लागी १९ वटा कोठा मात्र खुल्ला गरिएको छ । त्यस बाहेक बगैँचा र त्रिभुवन सदनको अतिरिक्त अवलोकन पनि गर्न पाइन्छ । संग्रहालयमा जिल्लाको नाम अनुसार कोठाको वर्णन गरिएको छ ।तत्कालिन राजपरिवार सदस्यहरुले मन पराएका जिल्ला र ठाउँहरुका आधारमा कोठाहरुको नामाकरण गरिएको थियो र हाल पनि सोही अनुसारको व्यस्था कायम छ । नेपालको तत्कालिन राज परिवारको जीवनशैली तथा रहनसहनको बारेमा बुझ्न पनि नारायणहिटी संग्रहालयको भ्रमण अनिवार्य हुन आउँछ । दरबारको कोठाहरु निकै नै आकर्षक ढङ्गले सजाइएता पनि भत्किएका पुर्वाधारहरु भने बनाउन सरकारले पैसा खर्च गर्न नसकेको बताउँछन् नारायणहिटी संग्रहालयका उपसचिव रोहित कुमार ढुङ्गाना । उनको भनाई अनुसार भवन निर्माण गर्न सुरु गरेको धेरै समय बित्दा पनि निर्माण कार्य अधुरै रहेको छ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनकर्ता बढ्नुको साथै देशको आर्थिक अवस्थामा पनि सुधार आएको देख्न सकिन्छ तर रकमको परिचालन भने निर्माण कार्यमा लगानी हुन सकेको देखिँदैन । उक्त संग्रहालयमा टिकट बिक्रीबाट २० करोड ९९ लाख २८ हजार ९ सय ९० रुपैयाँ बराबरको रकम उठ्ने गरेको छ भने पार्कीङ्गबाट १३ लाख ४८ हजार ३ सय ३० रुपैँया उठ्ने गरेको छ । वि.सं २०६६ साल देखि देखि २०७३ असार मसान्तसम्ममा जम्मा रकम २१ करोड १२ लाख ७७ हजार ३ सय २० रुपैयाँ उठिसकेकोे देखिन्छ । दरबारमा खुल्ला गरिएको सि.सं २०६५ सालको समय देखि वि.सं २०७४ असार मसन्तसम्ममा अन्य मुलुकका पर्यटक ५८ हजार ९ सय ६७ , सार्क मुलुकका दर्शक १ लाख ४२ हजार ३ सय ६३ रहेका छन् त्यसै गरी नेपाली सर्वसाधारण २२ लाख ९४ हजार ६ सय २१ ले अवलोकन गरेका छन् । कसैले कल्पना नै नगरेको दरबार छिर्न पाउँदा सर्वसाधारण दंग छन् । पहिलाको समयमा दशैँमा मात्र राजाको हातबाट टीका थाप्न जान पाइने दरबारमा अहिले जुनसुकै समयमा पनि सबै मानिस भित्र छिरेर घुम्न पाउँदा आफुलाई गौरवाम्वित महसुस गरेको सर्वसाधारण बताउँछन् । राजाको पालाका पुर्व सई शिवहरी कार्कीले अवलोकनको क्रममा संग्रहालयका वस्तुहरु हराउँदै गएको बताए । जसमा बाघको जुँगा, गैँडा, माछा, बाघको नङ्ग्राहरु तथा बङ्गाराहरु हराएको बताएका छन् । त्यसैगरी, नारायणहिटी भारतका नागरिक भवेस कुमारले नारायणहिटी दरबारको संग्रहालय हेर्दा राज परिवारको शयन कक्ष, बैठक कोठा लगायतका कोठाहरु देख्न पाउँदा खुसि व्यक्त गरे । त्यसैगरी राजदरबारका पुर्व सिपाही जीत बहादुर चौँलागाईले दरबार फोहोर बन्दै गएको हुनाले सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । एक जुगमा एक दिन आएको परिवर्तनले नारायणहिटी दरबारमा जनताको सहज पहुँच स्थापित गरिदिएको हो । अब यसको यथोचित संरक्षण गरेर इतिहास बताउने र अर्थोेपार्जनका लागि पनि उत्तम विकल्पका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता देखिन्छ ।        

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा झापाको गौरादहमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अाफ्नाे नयाँ उपशाखा झापा जिल्लाको गौरादहमा संचालन गरेको छ । इन्स्योरेन्सले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले सो स्थानमा नयाँ शाखा स्थापना गरेको हो । सो शाखाको औपचारिक उद्घाटन बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका छन् । उक्त कार्यक्रममा कार्कीले उपशाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताएका छन् । साथै, उनले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताएका छन् । नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिँदै आएको छ । साथै, उनले चालु आ.व. भित्र मुलुकको ७५ वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताए । यसैगरि, उनले कम्पनीले दावी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दावी भूक्तानी प्रदान गर्दै आईरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने बताए । कम्पनीले गत आ.व.२०७३।०७४ मा कुल बिमा शुल्क आम्दानी करिब १२ अर्ब रुपैयाँ, जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ हासिल गर्न सफल भएको छ । सो अवधिमा कम्पनीले कुल लगानी करिब ४७ अर्ब रुपैयाँभन्दा बढि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

  झापा । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा एक करोड ४८ लाख ६२ हजार ४ सय ३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । तीन हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९ सय २७ साना चिया कृषकले चियाखेती गरिरहेका छन् । कार्यालयको तथ्याँकअनुसार आव २०७०/७१ मा २ करोड १० लाख ७६ हजार ३ सय ६६ किलो तयारी चिया उत्पादन भएको थियो । आव २०७१/७२ मा २ करोड ३१ लख ८६ हजार ७ सय २६ किलो तयारी चिया उत्पादन भएको थियो । चियाखेती तर्फ किसान आकर्षित भएसँगै उत्पादनमा वृद्धि भएको अधिकारीको भनाइ छ । नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो १ सय ५० रुपैयाँका दरले बिक्री हुने गरेको छ भने अर्थोडक्स चिया प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री हुँदैआएको छ । विषादीरहित चिया उत्पादन नेपाली चिया अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनेसँगै किसान विषादी रहित चिया उत्पादनमा जुटेका छन् । केही वर्ष अघिसम्म अधिकतम विषादी प्रयोग गर्दै चिया उत्पादन गर्ने यहाँका कृषक अहिले प्रांगारिक चिया उत्पादनमा जुटेका हुन् । प्रांगारिक चियाले अन्तरराष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने भएकाले झापाली चिया कृषकले विषादीरहित चिया उत्पादन शुरु गरेको कृषि विकास अधिकृत अधिकारी बताउँछन् । उनका अनुसार पूर्वी नेपालको इलाम र पाँचथर प्रांगारिक चिया उत्पादनका लागि चिनिन थालेपछि यहाँका कृषकले पनि प्रांगारिक चिया उत्पादनमा जोड दिएका हुन् । भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकाले यहाँको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चियाले टे«डमार्क नपाएका कारण भारतीय व्यापारीले यहाँ उत्पादन भएको चिया भारत लैजाने गरेको र भारतीय ब्राण्डमा नेपाली चिया बिक्री गर्ने गरेको चिया किसानको भनाइ छ । नेपाली तयारी चिया भारतको मण्डी हुँदै तेस्रो देशमा निर्यात हुने गरेको छ । नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानाडा, जापान, चीनलगायतका मुलुकमा निकासी हुने गरेको छ । धमाधम कारखाना खोल्दै जिल्लाका साना चिया किसान धमाधम चिया कारखाना खोल्न जुटेका छन् । सरकारको ५० प्रतिशत अनुदान लिएर उनीहरु आफैँ कारखाना खोल्न जुटेका हुन् । चिया उद्योगीसँग सधैँ हरियो चियापत्तीको उचित मूल्य नपाएको भन्दै गुनासो गर्दै आएका किसानले आफ्नै पहलमा चिया कारखाना शुरु गरेपछि लामो समयदेखि चिया उद्योगी र चिया किसानको विवाद केही मत्थर भएको छ । विसं २०६८ मा पहिलो पटक पृथ्वीनगरका साना चिया कृषकले ७  करोड ३५ लाख रुपैयाँको लागतमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएका थिए । तीन वर्ष लगाएर सञ्चालनमा ल्याएको सो कारखानाको दैनिक १५ हजार किलो हरियोपत्ती प्रशोधन गर्ने क्षमता भए पनि हाल दैनिक ५ हजार किलो मात्रै प्रशोधन गर्ने गरेको छ । चिया कारखानाका लागि सरकारले ३ करोड १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएपछि कृषकले आफ्नै पहलमा चिया उद्योग स्थापना गरेका हुन् । जिल्लामा हालसम्म ३० वटा भन्दा बढी चिया प्रशोधन कारखाना छन् । केही कारखाना सहकारीको माध्यममबाट सञ्चालनमा आएका छन् । साना चिया किसानले सहकारी मार्फत हल्दिवारी र बाहुनडाँगीमा समेत चिया कारखाना सञ्चालनको तयारी थालेका छन् । पाराखोपी साना किसान चिया सहकारी संस्थाले कारखाना स्थापना गरिसकेको छ । वानस्पति विषादी, जीवाणुमा आधारित विषादी तथा नवीनतम बाली संरक्षणको प्रविधि अपनाएर यहाँका कृषकले चियाखेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । कृषकले खेती गर्न शुरु गरेसँगै बर्सेनि रासायनिक विषादीको प्रयोग घट्दै गएको छ । पछिल्लो समय जिल्लामा कृषक र सरकारीस्तरबाटै प्रांगारिक मल उत्पादनका लागि जोड दिँदै आइपीएम एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति प्रविधिबाट कृषकले चिया तथा तरकारीखेती गर्न थालेका कारण विषादीको प्रयोग घटेको खरेलको भनाइ छ । कृषकले विषादीको सट्टा जैविक तथा वनस्पति विषादी प्रयोग गर्दै उत्पादन गर्ने गरेका कारण विषादीको आयात समेत घटेको छ । तत्कालीन महेशपुरको पराजुली टि स्टेट, जलथल–४ र हल्दिवारी–३ मा आइपीएम प्रविधिबाट चियाखेती गर्न तालिम प्रदान गरेसँगै यहाँका चिया कृषकले रासायनिक विषादी प्रयोग गर्न छाडेका हुन् । चियामा प्रांगारिक प्रमाणीकरणका लागि सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि सुरेन्द्रनगर साना किसान चिया सहकारी संस्था बाहुनडाँगी, तारखी साना किसान सहकारी संस्था आपडाँगी र पथरीयामा रहेको चिया बगानले प्रांगारिक चियाखेती गर्दैआएका छन् । बाहुनडाँगीमा चिया कारखाना सञ्चालन गर्ने तयारी बाहुनडाँगीमा ८ करोडभन्दा बढीको लागतमा चिया प्रशोधन कारखाना सञ्चालन गर्ने तयारी भइरहेको छ । सरकारको ५० प्रतिशत अनुदान र अन्य रकम किसान आफैँले जुटाएर कारखाना सञ्चालन गर्न लागिएको हो । स्थानीय साना चिया कृषक सक्षम निरौलाका अनुसार चार किस्तामा रकम निकासा भइसकेको र सो रकमले चिया कारखाना निर्माण गरिएको छ । पहिलो किस्तामा सरकारले १ करोड ९५ लाख, दोस्रो किस्तामा २३ लाख, तेस्रो किस्तामा ७५ लाख र चौथो किस्तामा ६४ लाख प्रदान गरेको छ । कात्तिकबाट चिया प्रशोधन कारखाना सञ्चालनमा आउनेछ । शुभ चिया किसान सहकारी संस्थामार्फत कृषकले आफ्नै पहलमा चिया प्रशोधन कारखाना सञ्चालन गर्न लागेका हुन् । चिया कारखाना सञ्चालनमा आए सो क्षेत्रका एक हजारभन्दा बढी कृषक लाभान्वित हुने छन् । विसं २०६४ मा स्थापना भएको सो सहकारीले सञ्चालनमा ल्याउन लागेको चिया प्रशोधन कारखानाले दैनिक ५ हजार किलो तयारी चिया उत्पादन गर्ने र वार्षिक १ करोड नाफा गर्ने लक्ष्य राखेको निरौलाले बताए । ‘विषादी नहाल्दा उत्पादन घटेन’ भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका साना चिया कृषक बालकृष्ण गिरीले चियाखेती गरेको लामो समय भएको छ । उनले दुई बिगाहा १० कट्ठा जमिनमा चियाखेती गरिरहेका छन् । एक बिगाहामा उनले शुरु देखिनै प्रांगारिक चियाखेती गरिरहेका छन् । बाँकी एक विगाह १० कट्ठा जमिनमा उनले विषादी न्यून मात्रामा प्रयोग गरेर चियाखेती गरिरहेका छन् । अज्ञानताका कारण शुरु– शुरुमा विषादी प्रयोग गरेर चियाखेती गर्दै आए पनि विषादी प्रयोग गर्दा जीउ पोल्न थालेपछि उनले विषादीको प्रयोग घटाउन थालेको बताए । चियामा विषादीको मात्रा घटाउँदै जाँदा पनि उत्पादन नघटेपछि गिरीले महिनामा दुई प्रटक प्रयोग गर्दै आएको विषादी वर्षमा दुई पटक मात्रै प्रयोग गर्न थालेको बताए । जैविक वनस्पति विषादी प्रयोग गरेर पनि रोग तथा किरा नियन्त्रण गर्न सकिने भएपछि उनले जैविक वनस्पति विषादी प्रयोग गरेर चियाखेती गरिरहेका छन् । कम खर्चमा नै जैविक वनस्पति विषादी तयार गर्न सकिने भएपछि गिरी अहिले पूर्ण रुपमा प्रांगारिक चिया उत्पादनमा जुटेका छन् । साना किसान कृषि सहकारी संस्थामा आबद्ध उनी मात्र होइन सो क्षेत्रका अधिकांश कृषकले प्रांगारिक चिया खेती गरिरहेको गिरीको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय, कारितास नेपाल र सहारा नेपालले आइपीएम पाठशाला सञ्चालन गरेपछि उक्त क्षेत्रका कृषकले प्रांगारिक चिया उत्पादन गर्दैआएका छन् । रासस

निर्जीवन बीमा बजार विस्तार २९%, शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि, एनबी इन्स्योरेन्सको ग्रोथ ९८%

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा निर्जीवन तर्फको बीमा बजार २९.४६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा ती कम्पनीहरुले १४ अर्ब ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । सो कम्पनीले २ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम आघिल्लो आर्थिक वर्षको तुलनामा ३८.४२ प्रतिशतले बढी हो । बीमा शुल्क आर्जको हिसावले सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५० करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८८ प्रतिशत बढी हो । बीमा शुल्कको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा रहेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २६.७२ प्रतिशतले बढी हो । पहिलो स्थानमा रहेको शिखर र दोस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्स बीचको बीमा शुल्क आर्जन अन्तर १ अर्ब २७ करोड रुपैयाँ छ । तर दोस्रो स्थानमा रहेको सिद्धार्थ र तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सबीचको बीमा शुल्क आर्जन अन्तर करिव १० करोड रुपैयाँ छ । बीमा शुल्क आर्जनतर्फ सबैभन्दा उच्च दरको वृद्धि एनबी इन्स्योरेन्सले गरेको छ । यसले अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.५ प्रतिशतले वृद्धि गरी ६९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले ५०.३९ प्रतिशतको वृद्धि हासिल गरी १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ९ वटा कम्पनीहरुले १ अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । त्यसमा शिखर, सिद्धार्थ, सगरमाथा, एनएलजी, नेको, प्रिमियर, प्रुडेन्सियल, हिमालयन जनरल, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । पुर्नबीमा तर्फ नेपाली बजारमा एकाधिकार प्रयोग गर्दै आएको नेपाल पुर्नबीमा कम्पनीको बजार भने २२.३२ प्रतिशतले मात्र बढेको छ । यस कम्पनीले २ अर्ब ९ करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । कसकाे कति ?