विकासन्युज

सात दिन भित्र नयाँ योजना पेस गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नीतिगत सुधार सहितका तत्कालिन र दिर्घकालिन योजनाको खाका सात दिन भित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित चालु आर्थिक वर्ष २०७३/०७४ को वार्षिक समिक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले उर्जाक्षेत्र विकासका लागि नयाँ योजनाको खाका माग गरेका हुन् । उनले प्रशासनिक तथा नीतिगत सुधारको योजनाको सूचि पनि मागेका छन् । काम भएन, काम पाइएन भन्दै नबस्न र सात दिन भित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । विशेषगरी जलविद्युत् उत्पादन कम्पनी, जलविद्युत् उत्पादन तथा विकास कम्पनी, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय प्रसारण कम्पनीलगायतका निकायलाई कामको सूची पेस गर्न निर्देशन दिएका हुन् । परम्परागत तथा नियमित तरिकाले काम गरेर सुधार हुन नसक्ने उल्लेख गर्दै द्रुत विधिबाट काम गर्ने वातावरण मिलाउन र जनताले कुनै पनि गुनासो गर्ने अवस्था आउन नदिन समेत कर्मचारीलाई सचेत गराए । लगानी गर्न नसक्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्तिको अन्त्यका लागि आर्थिक रुपमा सबल भएका र सवल देखिएकालाई परियोजनाको अनुमतिपत्र दिन, अनुमतिपत्र लिएको दुई वर्ष्भित्र निर्माण सुरु गराउन र आवश्यक नीतिगत सुधारका लागि के कस्तो गर्नुपर्ने हो त्यसको समेत फेहरिस्त बनाउन समेत शाहीले उनले मातहतका निकायलाई निर्देशन दिए । काम गर्ने तरिकामा सुधार ल्याउन, जनता र मुलुकप्रति उत्तरदायी बन्न तथा पारदर्शी तवरले काम गर्न आग्रह गरे ‘ काम सार्ने र जागिर पकाउने तरिकाले अब चल्न सक्दैन । नयाँ सोच जरुरी छ । घिसेपिटे तरिकाले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकिदैन ।’ नदी प्रवाहमा आधारित आयोजना भन्दा पनि बहुउद्देश्यिय आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राख्न जोड दिदै उनले ऊर्जाको माग र जनताको चाहानलाई सम्बोधन गर्न पनि ठूला आयोजना आवश्यक रहेको उल्लेख गरे । ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले जनताको माग र भावनालाई केन्द्रमा राखेर जिम्मेवारीअनुसारको कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । उज्यालो नेपालको अभियानले जनताका केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश गएको भन्दै उहाँले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्ने उनको कथन थियो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अरविन्द्र मिश्र, उर्जा मन्त्रालयका सचिव अनुपराज उपाध्याय, विद्युत विकास विभागका महानिर्देश नविनराज सिंह, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका पदाधिकारीहरुको सहभागिता थियो ।  

तराई डुबानमा व्यवसायीको १० अर्ब क्षति, ४० पैसाको लोभले करोडौं गुम्यो

काठमाडौं । साउन अन्तिम साता आएको बाढीले पुर्वी र मध्य तराईमा अरबौंको क्षति पुगेको छ । उद्योगी व्यवसायीले मात्रै १० अर्ब भन्दा बढि नोक्सानी व्यहोरेका छन् । तर ४० पैसाको लोभ गर्दा आफ्नो उद्योग व्यवसायको बीमा गरेकाहरुले नै करोडौं गुमाउनु परेको छ । बीमकले बीमा गर्दा बाढी र डुबानलाई समेट्न प्रति हजार ४० पैसा तिर्नुपर्ने व्यवस्था थियो । तर बीमा गरेका उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायको बीमा गरेको भएपनि बाढी र डुबानको प्रिमियम भने तिरेको देखिएन् । ‘१० औं अर्बको क्षति भएको छ तर थोरैले मात्रै बीमा गरेको देखियो । बीमा गरेकाहरुले पनि बाढी र डुबान कभर नगरेकाले बीमा दावी गर्न नपाउने अवस्था आयो’, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने । तराई मधेशमा सञ्चालित उद्योगहरुका कच्चा पदार्थ, खाद्यान्न, लत्ता कपडा, सिमेन्ट लगायतका समान भुईतल्लामै राखिने भएकाले ठुलो क्षति भएको बताए । ‘सानाले इन्स्योरेन्स नै गरेका छैनन्, इन्स्योरेन्स गरेकाहरुले पनि नीतिगत कमजोरीका कारण भुक्तानी नपाउने अवस्था बनेको छ’, सिएनआई उपाध्यक्ष अग्रवालले भने । उनले थोरै प्रिमियम जोगाउने नाममा व्यवसायीले ठुलो नोक्सानी व्यहोर्नु परेको बताए । ‘नीतिगत कमजोरीको सिकार उद्यमी व्यवसायी भएका छन, अब एकिकृत बीमाको नीति ल्याउनु पर्छ’, अग्रवालले भने । उता, सगरमाथा इन्स्योरेन्सका पुर्व प्रमुख कार्यकारी अधिकृत केबी बस्नेतले पनि सानो प्रीमियम जोगाउन लाग्दा उद्योगी व्यवसायीले बीमा दावी गर्नै नपाउने अवस्था आएको बताए । उनले बीमा समितिले एकिकृत बीमा पोलिसी नल्याउँदा यस्तो समस्या आएको बताए ।‘संसारका अधिकांश देशमा एकिकृत बीमा पोलिसी लागु गरिएको छ, हामी कहाँ भने ऐच्छिक गरिएकाले यस्तो समस्या आयो’, बस्नेतले भने । नेपाल बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहँदै आएको भएपनि नियामक निकायले बीमा पोलिसीमा त्यसलाई समेट्न नसक्नु कमजोरी भएको आरोप पनि लगाए ।‘हरेक बर्षामा बाढी, पहिरो र डुबानको समस्या झेल्दै आएका छौं तर बीमा समितिले यी क्षेत्रलाई प्रीमियमको अनिवार्य सूचिमा राख्न कुनै भूमिका खेलेन’, बस्नेतले भने । उता, बीमा समितिका निर्देशक राजुरमण पौडेल भने अब बाढी, पहिरो र डुबानलाई बीमाको अनिवार्य सूचिमा समावेश गर्नुपर्ने आवश्यकता महशुस गरिएको धारणा राखे । ‘भूकम्पको २ बर्ष अघि मात्रै भूकम्पलाई बीमाको अनिवार्य सूचिमा राखिएको थियो, अब भने बाढी, पहिरो र डुबानलाई पनि समेट्नुपर्ने आवश्यकता महसुश गरेका छौं’, बीमा समितिका निर्देशक पौडेलले विकासन्युजसँग भने ।    

जलविद्युतमा लगानी गर्न अष्ट्रेलियालाई आग्रह

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा जलबिद्युत क्षेत्रको बहुउद्देश्यीय मोडल परियोजना निर्माण गर्न अष्ट्रेलियालाई आग्रह गरेका छन् । ऊर्जा मन्त्रालयमा शुक्रबार नेपालका लागि अष्ट्रेलियाली राजदुत पिट बुडसंगको शिष्टचार भेटका क्रममा मन्त्री शाहीले सो आग्रह गरेका हुन् । कृषि, पर्यटन, खानेपानी, वातावरण लगायतका क्षेत्रमा सहयोग पुग्ने आयोजना जरुरी रहेको आवश्यकता औल्याउँदै उनले देखिने गरी ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ठूला परियोजना दुबै देशका सरकारको लगानीमा पनि निर्माण गर्न सकिने ऊर्जा मन्त्री शाहीको भनाइ थियो । राजदूत बुडले आफ्नो मुलुकमा संघीय राज्यले नै जलस्रोतको बहुआयामिक उपयोगका बारेमा फरक फरक तवरले काम गरिरहेको र त्यस्तो अनुभव नेपालका लागि समेत उपयोगी हुने बताए ।

नेशनल लाईफद्धारा बाढी पीडितलाई विभिन्न खाद्यान्न सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तराईका बाढी पीडितलाई विभिन्न खाद्यान्न सहयोग गरेको छ । कम्पनीले हालै तराईमा आएको महा विनाशकारी बाढिद्वारा रौटहत जिल्लाका विभिन्न गाविसहरु डुवानमा परी घरबार विहिन भएका ३०० जनालाई चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको छ । कम्पनीको गौर शाखा मार्फत उक्त राहत सामाग्री पीडितहरुको घर आगनमै पुगी वितरण गरिएको थियो । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको हो ।

आर बी कम्पलेक्स व्यवसायीले बाढीपीडितलाई ६ लाख राहत दिने

काठमाडौं । आर बी कम्प्लेक्स व्यवसायी संघले नेपाल चेम्बर अफ कमर्सको डिजास्टर म्यानेजमेन्ट सेललाई बाढीपहिरो पीडितलाई वितरण गर्न एक लाख ११ हजार र पाँच लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान हस्तान्तरण गरेको छ । आर बी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालको उपस्थितिमा संघका उपाध्यक्ष सुसान्त घिमिरेले सेलका संयोजक एवं चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल नगद जिन्सी (लत्ताकपडा, जुता लगायतका) सामान दिएको हो । यस अवसरमा संघका महासचिव सन्दीपकुमार अग्रवाल, सचिव थानेश्वर ज्ञवाली, चेम्वर कार्यसमिति सदस्य टिकाराम शर्मालगायतको उपस्थिति रहेको थियो ।

स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ रोड सेफ्टी अभियानको आयोजना गर्दै

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ नामक सीएसआर अभियानको लागिरोड सेफ्टी अभियानको आयोजना गरेको छ । ट्रेडिङ्ले रोटर्याक्ट क्लब अफ काठमाडौं मिड टाउन र करुणामय फाउण्डेसनसँग सहकार्य गर्दै साउन १७ गतेदेखि संचालन गर्दै अाएकाे छ । उक्त अभियान ६ महिनासम्म चल्नेछ । “जिम्मेवार चालकम” होण्डाकोे सडक अनुशासनलाई प्रोत्साहन दिन गरिएको एक प्रयास हो । मोडहरुमा साइड लाईट बाल्ने, आवश्क परिस्थितिमा मात्र हाई बिम लाईटको प्रयोग गर्ने र वाँया साइडबाट ओभरटेक नगर्ने यस रोड सेफ्टी अभियानको प्रतिज्ञा रहेको छ । पछिल्लो पटक “जिम्मेवार चालकम” अभियान असार, २०७१ मा नेपालभर रहेकाहोण्डा शोरुमबाट संचालन हुँदै आइरहेको छ । सन् १९७६ माहोन्डा मोटरसाइकलहरुकोे बिक्री वितरण सँगै स्थापना भएको स्याकार ट्रेडिङ्ग कम्पनी नेपालकै अग्रणी र प्रतिष्ठित कम्पनीहरु मध्ये एक हो जसका आधिकारिक वितरकहरु आज नेपालभर फैलिएका छन् ।

राजधानीमा बाढी सम्बन्धी बहस, डुबान प्रभावित ठाउँमा तटबन्ध बनाउनुपर्ने

काठमाडौं । नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । आज यहाँ बाँध सरोकार राष्ट्रिय मञ्चद्वारा आयोजित ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभावसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु पर्ने बताए । उनले भारत पक्षले बनाएको बाँधका कारण वर्षेनी दुवै देशका जनता डुबानमा पर्ने गरेको भन्दै दुई देशबीच संयन्त्र बनाई डुबान प्रभावित क्षेत्रका जनतालाई बचाउन तटबन्ध निर्माण गर्नुपर्ने बताए । ‘वर्षेनी राहत सामग्री बाँड्नुको सट्टा दीर्घकालीन समाधानको बाटो अपनाउनु पर्छ’, उनले भने, ‘डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउन सके दुवैतर्फका सीमा क्षेत्रका जनताको सुरक्षा हुने थियो ।’ उनले डुबानबाट नेपालका क्षेत्र बढी प्रभावित भएकाले नेपालले नै पहलकदमी लिनुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा सांसद वैजनाथ चौधरीले भारत पक्षले बनाएको बाँधका कारण नेपाली वर्षेनी डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्ने बताए । उहाँले गण्डक बाँधका कारण तीन पुस्ता डुबानमा परेको भन्दै भारत सरकारले डुबानमा परेका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने धारणा राखे। सांसद चौधरीले बाढी र चुरे पहाड दोहनका कारण तराई मरुभूमिमा बन्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले भारतीय पक्षले एकतर्फी बनाएको बाँधका कारण तराई क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषिमा असर परेको बताए। कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत पक्ष मिलेर संयन्त्र बनाएर डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्ने बताए। कार्यक्रममा प्राध्यापक रतन भण्डारीले ‘सीमावर्ती बाँधले स्थानीय जनताको जीविकोपार्जनमा पारेको असर’ बारे कार्यपत्र प्रस्तुत गर्दै भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएका बाँधका कारण हजाराैं नेपाली डुबानमा पर्ने गरेको भन्दै डुबानबाट रोक्नका लागि तटबन्ध बनाउनुपर्नेमा जोड दिए। रासस

बनेपामा सेयर कारोबार गर्नेको सङ्ख्या वृद्धि, सातामा १० करोड बढीकाे सेयर किनबेच

बनेपा। सेयर बजारको दायरा फराकिलो हुँदै जाँदा बनेपामा पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बनेपामा भिजन सेक्युरिटिज प्रालि (३४), डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि (४४) नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र सेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो । भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट सेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताए । उनले यस क्षेत्रमा शेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै शेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताए । सो शाखामा एक साताको अवधिमा १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा छ करोड तीन लाख ४० हजार रुपैयाँ भएको थियो । त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा ९१ लाख ११ हजार रूपैयाँ बराबरकाे कारोबार गरेको छ । गत साता सो कार्यालयले  ८५ लाख ६० हजार रूपैयाँको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिए । “नयाँ नयाँ तर सानो कारोबार गर्ने ग्राहकको संख्या बढेको छ,” उनले भने । उक्त ब्रोकर कार्यालयले पाँच महिनादेखि बनेपामा सेयर कारोबार गर्दै आएको छ । यी दुई ब्रोकर कार्यालयबाहेक क्रियटिभ सेक्युरिटिज प्रालिले पनि शेयर कारोबार गर्दै आएको छ । बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ । यहाँ आर्थिक कारोबार बढी हुने गर्छ ।