छाया सेन्टरको व्यापार ९० करोड, आईपीओको मूल्य ४ सय
काठमाडौं । ठमेलस्थित छायादेवी कम्प्लेक्स (छाया सेन्टर)को व्यापारमा वृद्धि आएको छ । पाँच तारे होटल र व्यावसायिक मल समेत रहेको छायादेवी कम्प्लेक्स लिमिटेडले सन् २०२५ मा ९० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हो । कम्पनीले गत वर्षको भन्दा ६.३५ प्रतिशत अर्थात् ५ करोड ४० लाख रुपैयाँ बढी व्यापार गरेको हो । जबकि सन् २०२४ मा कम्पनीले ८५ करोड रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा ८३ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्प्लेक्सको कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत क्षेत्र होटल सञ्चालनको लागि छुट्याइएको छ भने बाँकी क्षेत्र व्यावसायिक परिसरको लागि छुट्याइएको छ । जनवरी २००८ मा स्थापना भएको छायादेवी कम्प्लेक्सले १६७ कोठा भएको पाँचतारे होटल अलफ्ट सञ्चालक गरिरहेको छ । छायादेवी कम्प्लेक्सको सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे छन् । उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत हुन् । यस्तै, कम्पनीको सञ्चालकमा सुमन बिक्रम पाण्डे, सहृदराज घिमिरे र महेश प्रकाश श्रेष्ठ रहेका छन् । कम्पनी जुन २५, २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भई आईपीओ निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । छायादेवी कम्प्लेक्सले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा समेत आवेदन दिइसकेको छ । कम्पनीले आईपीओ जारी गरेर सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल रहेको छ । पौने २ अर्ब रुपैयाँ बैंकको ऋण कम्पनीले कम्प्लेक्स निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पौने २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीले निर्माणका लागि विभिन्न बैंकबाट २ अर्ब ऋण लिए पनि विस्तारै चुक्ता गरेर हाल १ अर्ब ८५ करोड रुपैयाँमा झारेको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण चुक्ता गर्न बाँकी छ । रेटिङ कम्पनी सेयर रेटिङ नेपालले दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस र अल्पकालीन ऋणका लागि ए ३ रेटिङ प्रदान गरेको छ ।
७१ वर्षमा शिक्षामन्त्री पुनले गराए मतदाता नामावलीमा नाम दर्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उमेरले ७१ वर्ष पुगेका उनले काठमाडौंको नयाँ बानेश्वरमा गएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा नामदर्ता गराउँदै गरेको फोटो राख्दै वलीले नामदर्ता गराएको जानकारी गराएका हुन् । उनले आफू २१ गते हुने निर्वाचनका लागि तयारीमा रहेको बताउँदै मन्त्री पुनले १८ वर्ष पुगिसकेका सबै नेपालीलाई नाम दर्ता गराउन आग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अब आउने सरकार जेनजी पुस्ताको बन्नुपर्छ, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन्, यो कुरा समयान्तर ध्रुवसत्य सावित भइसक्यो त्यसैले अब सबै उमेर पुगेका जेनजी भाइबहिनीहरूले नाम दर्ता गराउनुहोला ।’
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा एक हजार एक सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
१७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब निक्षेप तान्ने भएको छ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । गत हप्ताबाट लामोसमयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट छैन् । त्यसैले राष्ट्र बैंकले दीर्घकालिन उपकरण प्रयोग गर्न थालेको छ । हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम चुलिरहेको छ ।
रामकुमारी झाँक्रीको नयाँ मोड : समाजवादीसँगको यात्रा टुंगियो, झाँक्री र किसान एमाले फर्किने संकेत
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीसँगको राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको बाटोमा पुगेको बताउँदै नयाँ राजनीतिक दिशा खोज्ने संकेत दिइन् । 'समाजवादी पार्टीको अभियान भव्य हुने विश्वास थियो, तर त्यो सम्भावना समाप्त भएको छ। हाम्रो त्यो यात्रा यसको विघटनसँगै समाप्त भयो,' झाँक्रीले भनिन् । यसअघि पार्टीका अर्का नेता किसान श्रेष्ठले पनि निसर्त रूपमा एमाले फर्किन तयार रहेको बताएका थिए । 'हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए पुग्छ,' श्रेष्ठले पत्रकार सम्मेलनमा भनेका थिए । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेपछि झाँक्री, श्रेष्ठलगायत नेताहरू असन्तुष्ट बनेका हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्री र उनका सहयात्रीहरू पुनः एमालेमा फर्किए भने नेपालको वाम राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना बलियो देखिएको छ ।
जेनजी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार माग
काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैँ तिहार पनि मुख्य कारक हो । जेनजी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा विभागको सेवा अवरुद्ध हुन पुगेको र दशैँ तिहार मनाउन आउनेहरुले पासपोर्ट बनाएर फर्कन खोज्दा भीड थेगिनसक्नु भएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए । उनकाअनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो। त्यसैले अझै २ महिनालाई राहदानी पुग्ने नै छ । चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरणको कारण कुनै समस्याले बिचमा पुस्तिका अभाव नहोस् भन्ने हेतुले रहेको उनको भनाइ छ । अर्यालकाअनुसार अहिले दैनिक झन्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ । त्यसमा विभागबाट हुने सामान्यतः १ हजार २ सय हो । अहिले विभागले दैनिक १ हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने जरुरी परेर आउने २–३ सय जनालाई पनि विभागले राहदानी दिने गरेका छ । नियोग जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ । अहिले दैनिक २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ । त्यसमध्ये १ हजार देखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालयलाई र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले न्युज एजेन्सी नेपाललाई जानकारी दिए। अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेनजी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरु जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरु विभागमा आएका कारण भीडभाड देखिएको हो । दोस्रो कारण जेनजी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दशैँ तिहारका कारण सेवा अवरुद्ध भयो ।’ ६ हजार राहदानी जले राहादनी विभागकाअनुसार जेनजी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरुको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्याल बताउँछन् । उनले भने, ‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकैपटक बल्कमा रि प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’ अर्यालकाअनुसार अहिले देखिएको भीडभाड एक–दुई हप्तामै समाधान हुन्छ । जसअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कुटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक–दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ । अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरे ।
सिंगटी हाइड्रोको लाभांश घोषणा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुँयाल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुँयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले फुँयाललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै कार्यभार समाल्नेछन् ।