विकासन्युज

नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ, निक्षेपसँगै बढ्यो कर्जा

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा खुद नाफा १४.५७ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख ररुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेर ७९ करोड ८७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँ, सञ्चालन नाफा १०.८४ प्रतिशत घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ गरेको छ ।  असोज मसान्तसम्मा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो वितरणयोग्य नाफाका आधारमा बैंकले ३०.१५ प्रतिशत लाभांश क्षमता राखेको छ ।  यसअवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष ३.८० प्रतिशत बढेर ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ६.१० प्रतिशत बढेर ५ खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ र कर्जा लगानी १.९९ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २ करोड ६६ लाख रुपैयाँ प्रवाह गरेको छ ।  नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३.८६ रुपैयाँ घटेर २५.९७ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ । गत वर्षको असोजसम्म ४.२४ प्रतिशत रहेको खराब कर्जा यस वर्ष घटेर ४.३१ प्रतिशतमा झारेको छ ।

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीय स्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि २ हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पद मार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ । पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । ‘गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो । केही वर्ष अघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ,’ उनले भने ।  ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझ खर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो ।  स्थानीयले चन्दा सङ्कलन गरेर माझ खर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको ७ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब ३ लाख रुपैयाँ सङ्कलन भएको थियो ।  गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।  यसैगरी, मङ्गला गाउँपालिका-५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । समुद्र सतहबाट २ हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।  तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ ।

नेपाल एयरलाइन्सको अध्यक्ष बने विक्रम राई, कार्यभार सम्हाल्दै दिए यस्तो निर्देशन

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइन् ।  शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहना अनुसार निगममा देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाए ।  उनले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान १५ दिनभित्र टुंग्याउन निर्देशन दिए । उनले बेलाबेलामा जनमानसमा उठ्दै आएको ‘विजनेस क्लास’को टिकटलाई ‘अपग्रेड’ गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘ब्यागेज’ नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु ब्यागेज टुटफुट सम्बन्धमा आएको जन गुनासो यथा शीघ्र सम्बोधन गर्न पनि निर्देशन दिए ।  अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियम सङ्गत बदर गर्न समेत निर्देशन दिए । उनले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पारे । नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेसँगै उनलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरूले आ-आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराए । निमित्त महाप्रबन्धक कालाखेतीले मङ्गलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिए । झण्डै २ दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहेका घिमिरेले संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पुर्याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

२०८१ चैतसम्म स्वास्थ्य बीमाको रकम चुक्ता, वैशाख–असोजसम्म ११ अर्ब रुपैयाँ बाँकी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको बक्यौता रकम केही दिनअघि मात्र भुक्तानी गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए । बोर्डले पुरानो भुक्तानी बाँकी नराख्ने गरी नियमित भुक्तानी गर्ने तयारी गरेको उनले बताए ।  ‘धेरै वर्षदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त भएका कागजातको पुनरावलोकन गरी हामीले गत असोजसम्मको बक्यौता रकम निकालेका छौँ । अहिले गत चैतसम्मको रकम अस्पताललाई दिएका छौँ,’ उनले भने ।  उनले कात्तिक महिनाभित्रमा वैशाखदेखि असोजसम्मको बाँकी बक्यौता रकम अस्पताललाई उपलब्ध गराइने दाबी गरे । काफ्लेका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकमका लागि अर्थमन्त्रालयसँग माग गरिएको छ । उनले वैशाखदेखि असोजसम्म करिब ११ अर्ब रुपैयाँ बक्यौता रहेको जानकारी दिए । बोर्डले बीमित आबद्धबापत वार्षिक ३ खर्ब ७२ करोड रुपैयाँ सङ्कलन गर्दै आइरहेको छ । बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेका अनुसार बोर्डको वार्षिक खर्च करिब २६ अर्ब रुपैयाँ रहेको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ५ जना परिवारसम्मका लागि ३ हजार ५०० रुपैयाँ बराबरको योगदानको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । देशभरि बोर्डमा प्रथम सेवा बिन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् । 

प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति यादवले सुनाए खिलराजको नेतृत्वमा सम्पन्न भएको निर्वाचन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जन निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् । त्यस क्रममा पूर्व राष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे । प्रधानमन्त्री कार्कीले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको  यादवले सराहना पनि गरे । उनले भने, ‘राजनीतिक दलहरू चुनावमा जानैपर्छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो । तपाईंहरूले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरूसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ । निर्वाचन आयोगलाई बजेट दिनुभएको छ । बन्दोबस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ । यो राम्रो कुरा हो । अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस् । नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ ।’ पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव सुनाए । त्यतिखेरको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशका सम्बन्धमा पनि उनले चर्चा गरे । उनले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायबीचको समन्वयमा जोड दिए । दलहरूले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।  ‘दलहरूलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन । चुनाव नगरी हुँदैन । अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन,’ उनले भने । 

राष्ट्रपति पौडेल आज अपरान्ह स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वेदश फर्किने भएका छन् । कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्किने भएका हुन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण: गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । 

हरिवंश, धुर्मुस, जितु, बले र दीपाश्री एउटै पर्दामा, नवीनको लगानीमा पाँच पाण्डव

  काठमाडौं । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए ।  निर्देशक निरौलाले भने, ‘हामीले ५ जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।’ उनले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङ लगायतको अभिनय रहने जानकारी दिए । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताए ।  कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र ५ पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिए । 

अस्पतालकै भवनबाट गाउँपालिका सञ्चालन, अस्पतालका नियमित सेवा प्रभावित

काठमाडौं । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए । उनका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । अध्यक्ष यादवले भने, ‘पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भयो । हाल अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छौँ । गत वर्षदेखि निर्माण सुरु गरिएको नयाँ प्रशासकीय भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न दूर्त गतिमा काम गर्न लगाएका छौँ ।’ उनका अनुसार ७ करोड ९४ लाख १८ हजार ८९० रुपैयाँमा नयाँ भवन निर्माणको काम भइरहेको छ । अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुन थालेपछि बिरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ गाउँपालिका कार्यालयका कर्मचारीलाई पर्याप्त स्थान अभावका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले बताए । हाल अस्पतालको माथिल्लो तलामा गाउँपालिकाको प्रमुख प्रशासकीय कक्षसहित शिक्षा र स्वास्थ्य शाखा सञ्चालनमा छन् । कोठा अभावका कारण अस्पतालकै माथिल्लो तलामा रहेको न्यायिक समितिको हलमै अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष व्यवस्थापन गरिएको छ । कृषि, राजस्व र पशु शाखा भने कृषि तथा पशुपन्छी सेवा केन्द्रको छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । अस्पताल प्रमुख उपेन्द्र यादवले गाउँपालिकाको प्रशासनिक कामकाज सञ्चालन हुन थालेपछि अस्पतालका नियमित सेवाहरू प्रभावित भएको बताए ।  उनले भने, ‘गाउँपालिकाका सेवाग्राहीको भीडभाडले गर्दा बिरामीलाई स्वास्थ्य सेवा दिन असहज भइरहेको छ । कोठा अभावमा बहिरङ्ग सेवा, प्रसूति सेवा र अस्पतालको प्रशासनिक कामकाज प्रभावित भएकाले नियमित स्वास्थ्य सेवा दिन समस्या देखिएको छ ।’ १५ शय्या क्षमताको अस्पतालमा हाल ५ शय्या मात्रै सञ्चालनमा छन् । दैनिक १ सय हाराहारी बिरामी उपचारका लागि आउने गरेकाले भीडभाडका कारण स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न थप चुनौती देखिएको अस्पताल प्रशासनले जनाएको छ ।