१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न, १५ करोडको कारोबार
काठमाडौं । राजधानीमा आयोजित १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । उक्त व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ मा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उनले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका छन् । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिएको प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि-आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेको मेला संयोजक मोहन कटवालले बताए । मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई पनि समावेश गरिएको महासंघले जनाएको छ । नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजित मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय-लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका थिए । त्यसैगरी, अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहेका थिए ।
सिन्डिकेटधारीकाे आन्दोलन असफल हुने पक्का, बामपन्थी व्यवसायीहरुले भने हामी सिन्डिकेट विरोधी हौं
काठमाडौं । बामपन्थी यातायात व्यवसायीहरु सिन्डिकेटको आन्दोलनबाट पछि हटेका छन् । सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीहरूले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका हुन् । बामपन्थी दलका यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझाबका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन् । बुधबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरु सुधार गर्न आफूहरु तयार रहेको बताउँदै व्यवसायीहरुले सरकारसँग वार्तामा बस्न तयार रहेको बताए । “वर्तमान अवस्थामा देखिएको यातायात क्षेत्रका समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यू, विभागीय मन्त्रीहरु, विभिन्न पार्टीका आदरणीय पार्टी अध्यक्षज्यूहरु यथासिघ्र वार्ताबाट समस्या समाधानको लागि आवश्यक पहल गरी पाउन अपिल गर्न चाहन्छौँ ।” संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । “आफूहरु यातायात क्षेत्रको सिन्डिकेटको विरोधी नै भएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, हामी हरेक क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गरी लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गर्दै आधुनिक नेपाल निर्माणमा हातेमालो गर्दै यस संगठन तयार रहेको जानकारी गराउँदछौँ ।” विज्ञप्तिमा भनिएको छ । सरकारले यातायात व्यवसायी संघ संस्थालाई असार मसान्तपश्चात नविकरण नगर्ने निर्णय गरेको हुँदा उक्त अवधिभित्र नविकरणको व्यवस्था मिलाउने माग १३ बुँदे सुझाबको पहिलो नम्बरमा समेटिएको छ । संयुक्त विज्ञप्तिमा यातायात प्राधिकरण गठन गरी दर्ता प्रक्रियामार्फत संचालन गराउन पनि सुझाब दिइएको छ । त्यसैगरी सर्वपक्षीय आयोग गठन गरेर समस्या समाधानको बाटो खोज्न व्यवसायीले सुझाब दिएका छन् । गत चैत १८ गते यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकाका केही बुदाहरु ऐन नियमसँग बाझिएको हुँदा निर्देशिका नै खारेज गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायातका साधनहरु स्वस्थ प्रतिस्पर्धाका आधारमा संचालन गर्ने व्यवस्था, यातायात क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिइनुपर्ने, असिमित बिमा नीति लागुगर्नुपर्ने, २० वर्ष पुराना सवारी सधान विस्थापन गर्ने निर्णय सच्याउने, सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने लगायतका माग संयुक्त रुपमा पेश गरिएको छ । १३ बुँदे माग पूरा गर्न र समस्या समाधानको बाटो खोज्नका लागि तत्काल आफूहरुलाई वार्तामा बोलाउन दुई संगठनले सरकारलाई अनुरोध गरेका छन् । माग पूरा नभए नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले गर्ने भनेको आन्दोलनलाई आफूहरुले समर्थन गर्ने गणतान्त्रिक यातायात व्यवसायी संगठनका महासचिव डोलनाथ खनालले बताएका छन् । गणतान्त्रिककै संयोजनक दधिराम खरेलले सरकारले बेलैमा समस्या समाधानको बाटो खोज्न सके कोही व्यवसायी पनि आन्दोलनमा जानु नपर्ने बताए । “सरकार एकलौटी ढंगले अगाडि बढ्यो भने आन्दोलन हुन सक्छ ।” खरेलले भने । प्रदेश नम्बर एकका प्रदेश सासंद तथा यातायात व्यवसायी श्रीप्रसाद मैनालीले भने सरकारको विरोधमा बन्द हड्ताल गर्न नहुनेमा जोड दिए । सत्तापक्षीय सासंद मैनाललीले भने, “हामी बन्द हड्तालमा जानु हुँदैन । सरकारले हाम्रा माग पूरा गर्छ भन्नेमा म विश्वस्त छु ।” यसअघि नेपाल यतायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायत ५ व्यवसायीहरु आन्दोलनरत रहेका छन् ।
४४ जना नर्सलाई शिक्षण अस्पताल महाराजगञ्जमा जागिर खाने अवसर
काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जले स्टाफ नर्स र प्राविधिक सहायकतर्फ स्थायी कर्मचारीको माग गरेको छ । अस्पतालले ४० जना स्टाफ नर्स ४ जना प्राविधिक सहायक कर्मचारी माग गरेको हो । फारम भर्न अस्पताले १५ दिनको समयअवधि दिएको छ । अस्पतालको खाता रहेको बैंकमा १५ सय तिरेको रसिद समामेश गरी फारम भरी बुझाउनु पर्नेछ । स्टाफ नर्समा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन दिनका लागि नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी नर्सिङ परिषदमा दर्ता भएको पमाणपत्रको प्रतिलिपी आवश्यक कागजात सहित जेठ ७ गतेसम्म पेस गर्नुपर्नेछ ।
स्वीकृति नलिइ विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याए कार्वाही : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही संस्थाले अनुमति नलिइ विद्युतीय भुक्तानी सम्बन्धित उपकरण सञ्चालनमा ल्याएको भन्दै कार्वाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय बैंकले स्वीकृति वेगरनै क्यासब्याक अफर, स्मार्ट कार्ड र भाइवर बैंकिङलगायत अन्य विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याएको भन्दै यसलाई रोक्न भनेको छ । अनुमति नलिई कुनै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी उपकरणहरु सञ्चालन गरेको भए ३५ दिन भित्र नियमित गराउन केन्द्रीय बैंकले भनेको छ । इजाजतपत्रप्राप्त बंैक तथा वित्तीय संस्था अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्था÷संयन्त्रले यस बंैकबाट अनुमति नलिई सोही प्रकृतिका अन्य भुक्तानीका उपकरणहरु सञ्चालन गरिरहेको भन्ने जानकारी हुन आएका केन्द्रीय बैंकको भनाई छ ।
गभर्नरलाई सचेत गराउँदै अर्थमन्त्रीले भने : राष्ट्र बैंकलाई पनि कार्वाही गर्ने निकाय छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम नगरे नेपाल राष्ट्र बैंकलाई कार्वाही गर्ने निकाय पनि रहेको भन्दै गभर्नर डा. चिरन्जीवि नेपाललाई सचेत गराएका छन् । उनले बैंक तथा वित्तीय संस्थाको अनुगमनको फाइल लुकाउने, यथार्थ विवरण नदिने कर्मचारीमाथि कार्वाही गर्न गभर्नर डा. नेपालको ध्यानकर्षण गराएका छन् । ‘केन्द्रिय बैंकलाई पनि कारवाही गर्ने निकाय छ, नराम्रो काम गरे मलाई पनि कारवाही गर्ने निकाय छन् । स्थलगत नीरिक्षण बढाउनुस, फाइल लुकाउने कर्मचारीलाई कारवाही गर्नुस’, अर्थमन्त्री डा. खतिवडाले भने । उनले वित्तिय प्रणालीमा आघात पुर्याउने जो कोहीलाई कारवाही हुने स्पष्ट पनि पारेका थिए । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकिकृत बैंकिङ कारोबारको बुधबार राजधानीमा शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले वित्तिय प्रणाली चक्रिय जोखिममा रहेको बताउँदै भने-‘ अर्थतन्त्रमा चक्रिय जोखिमहरु आउँनेछन्, त्यसको समाधानका लागि केन्द्रिय बैंक चनाखो होस ।’ उनले बैंक तथा वित्तिय संस्थाको लाइसेन्स केन्द्रिय बैंकको गेटबाटै वितरण हुन्छ भन्ने अवस्थामा आफुले व्यापक सुधार ल्याएको दावी पनि गरे । ‘बैंक तथा वित्तिय संस्थाको लाइसेन्स लिन राष्ट्र बैंक भित्र जानै पर्दैन, गेटबाटै पाइन्छ भन्ने समयमा म गभर्नर भएर गएको थिएँ, त्यसपछि के के सुधार भयो सबैले देख्नु भएकै छ’, डा. खतिवडाले भने ।
राष्ट्र बैंकद्धारा ४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको नोट निष्कासन, कागजी नोट कारोबार कम गराउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ । जसमध्ये ४ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ चलनचल्तिमा रहेका छन् । १० अर्ब २७ करोड रुपैयाँ केन्द्रीय बैंकको बैंकिङ कार्यालयमा मौज्दात छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा सो जानकारी गराएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्छ । केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ । विदेशी मुद्रा र ऋणपत्र धितो राख्नु परेको छैन् । सरकारले कागजी नोटको प्रयोग क्रमशः कटौती गर्दै लैजाने भएको । नोटको कारोबार कम गराउन सरकारले गत साउनदेखि १० लाख रुपैयाँ भन्दा बढिको वित्तिय कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै गाडी किन्दा २० लाख रुपैयाँ र जग्गा किन्दा २० लाख रुपैयाँदेखि भुक्तानी चेकमार्फत हुने अनिवार्य व्यवस्था गरिएको छ । सरकारले नोट कारोबारमा कडाई गर्दै त्यसको प्रयोगलाई निरुत्साहित पार्दै जाने योजना अघि सारेको छ । केन्द्रीय बैंकले नोटको कारोबारको सट्टा अब विद्युतीय ट्रान्सफर, एटीएम र डेविट कार्डमार्फत कारोबार बढाउन थालेको छ । विद्युतीय वित्तीय कारोबार बढेपछि राष्ट्र बैंकले धेरै नोट निष्कासन गर्नुपर्दैन । गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । यस्तै वाणिज्य बैंकहरुको १ खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको छ । केन्द्रीय बैंकमा ३२ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ विदेशी मुद्रा रहेको छ । बैंकको कुल सम्पत्ति बढेर ६ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ रहेको छ । मुलुकभर नेपाली नोटको व्यवस्था गर्न कम्तीमा ३.२५ वर्षका लागि धान्ने नोटको स्टक राख्ने नीतिगत व्यवस्था अनुसार २०७४ वैशाखदेखि २०७४ चैत मसान्तसम्ममा विभिन्न दरका १ खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
साहरा विकास बैंकको १८ करोड २४ लाख ८७ हजारकाे हकप्रद सेयर जेठ ६ गतेदेखि बिक्री खुला
काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द असार ९ गते हुने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैशाख ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्ने एनआईबीएल क्यापिटलले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्ने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन किन ?
काठमाडौं । ‘‘नाकाबन्दी, सीमाअतिक्रमण, व्यापार अवरोध, विकासे आयोजनाहरु ओगट्ने मात्रै, आन्तरिक राजनीतिक मामिलामा निरन्तरको हस्तक्षेप ।’ यी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपालीलाई लगाएका गुण । त्यति मात्रै होइन, मोदीले नेपालीलाई अरु पनि थुप्रै गुण लगाएका छन् । तीमध्येको अर्को एउटा गुण हो, वुद्धको जन्म सम्बन्धी । मोदीले पटक पटक वुद्ध भारतमा जन्मिएका हुन भनेर हाम्रो स्वाभिमानमाथी धावा बोलेका छन् । भूकम्पले थला परेको मुलुकलाई नयाँ संबिधान जारी गर्ने बिषयले एक जुट बनाएको थियो । संबिधान बनाउने मामलामा मधेश केन्द्रित दलहरुले असमति राख्दै आन्दोलन घोषणा गरेका थिए तर मोदीले आन्तरिक मामलालाई उछालेर नेपालमा नाकाबन्दी गरिदिए । नाकाबन्दी मोदीले लगाए तर त्यसको दोष मधेशवादी दलहरुमा थोपर्ने प्रयास पनि गरे । मधेशवादीहरुले सीमा अवरोध गरेर नाका बन्दी गरेको सन्देश दिएर नेपाली नेपालीलाई जुधाउने प्रयास पनि गरे । कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमलाई गोली हानेर हत्या गरेको भारतले अझै माफी मागेको छैन् । पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच विवाद हुँदा एसएसबीले गोली चलाएर गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका वार्ड न ९ बीच फाँटामा १९४ नम्बरको जंगेपिलर नजिक नेपाली भूमिमा लगाएको खेती संरक्षणका गरिएको तारबार एसएसबीले उखेलेर फालेका छन् । सिमा क्षेत्रमा एक तर्फीरुपमा बाँध र सडक निर्माण गरेर हजारौं नेपाली भूमि डुबानमा पर्ने श्रृंखला अझै रोकिएको छैन् । महाकाली सन्धिको कार्यान्वयन, हुलाकी राजमार्गको निर्माणमा ढिला सुस्ति, पश्चेश्वरमा अनिच्छा, माथिल्लो कर्णाली जलविद्युत आयोजना ओगट्ने, भूकम्प पीडितका लागि ५० हजार घर बनाइदिने सम्झौता कार्यान्वयन नगर्नु, अदुवाको निकासीमा अवरोध, बंगलादेश पुग्ने बाटो नदिने, भुटानी शरर्णाथी फिर्ता गराउन असहयोग जस्ता काम भारतबाट हुँदै आएका छन् । तीन पुस्तासम्म नेपाली नागरिकहरुले बिर्सनौ नसक्ने गरि लगाइएको नाकाबन्दी, सीमा अतिक्रमण, विकासमा अवरोध, आन्तरिक राजनीतिक हस्तक्षेप जस्ता अनेकौं घट्नाक्रमहरुलाई बिर्सेर हामी कसरी मोदीलाई नागरिक अभिनन्दन गर्न सक्छौं ? जंगे पिलरहरु हटाउने क्रम नरोकिँदै, नाकाबन्दीको हिसाब किताब नहुँदै, तराई डुबान नरोकिँदै, विकासका अवरोध नहट्दै, आन्तरिक राजनीतिमा हस्तक्षेप नरोकिँदै हामी कसरी मोदीलाई अभिनन्दन गर्न तयार भयौं ? एउटा देशको सरकार प्रमुखलाई अर्को देशका नागरिकले अभिनन्दन गर्ने भनेको त्यो देशको हितमा मनग्गै काम गरेपछि मात्रै हो । अर्थात अभिनन्दनका लागि योग्य कर्म गरेपछि बल्ल अभिनन्दन गरिने हो । तर सधैँ नेपाली स्वाभिमानमा आँच पुर्याउने, नेपाली जमिन मिच्ने, नेपालीको राष्ट्रियतामाथी प्रहार गर्ने, हामीलाई अविकासको भूमरीमा धकेल्ने मोदी नागरिक अभिनन्दनका लागि योग्य पात्र होइनन् । उनले नेपाल र नेपालीका पक्षमा अहिलेसम्म एउटा पनि काम गरेका छैनन् । भूकम्प पीडितका लागि ५० हजार घर बनाईदिने प्रतिवद्धता व्यक्त गरेको भारतले भर्खर तेश्रो पक्ष खटाएर निर्माण सम्पन्न भएका घरहरुको अवलोकन थालेको छ । हुलाकी राजमार्गको निर्माणलाई बर्षौसम्म रोकेर भित्रि मधेशलाई अधिवकासमा भूमिबाट माथि उठ्नै नदिने भारत नै हो । नेपाल र नेपालीको सानका रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीमाथि धावा बोल्ने मोदी कसरी अभिनन्दनका पात्र हुन सक्छन् ? मोदी नेपाल भ्रमणमा आउनु राम्रो पक्ष हो, दुई छिमेकी मुलुक सँधै तित्तताको सम्बन्धमा रहनुहुन्न । तर सम्बन्ध सुधार गर्न हुने भ्रमणमा विना कुनै उपलब्धि नागरिक अभिनन्दन गरिनु सर्वथा गलत हुनेछ । मोदीले आफ्ना तमाम कुकर्महरु प्रति आत्माग्लानी महसुश गर्नुपर्छ । विगताम दुःख दिएकोमा आत्मालोचना गर्नुपर्छ र भविष्यमा दुःख नदिने प्रण गर्नुपर्छ । अनि मात्रै उनी अभिनन्दनका लागि योग्य हुनेछन् । अहिलेकै अवस्थामा गरिने नागरिक अभिनन्दन भनेको मोदीको शक्तिको पुजा मात्रै हुनेछ ।