जेल चलान भएका सिण्डिकेटधारी यातायात व्यवसायीले प्रहरीसंग भने : अब आइन्दा यातायात बन्द गर्दैनौ
काठमाडौं । सिण्डिकेट लागु हुनुपर्ने माग गर्दै शुक्रबार यातायात सेवा बन्द गर्ने क्रममा पक्राउ परेका यातायात व्यवसायीले अब आइन्दा हड्ताल नगर्ने कागज गर्दै धमाधम छुट्न थालेका छन् । यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका हुन् । सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरिएकोमा सवारी सञ्चालनमा अवरोध नगर्ने सहमतिपछि यातायात उनीहरु रिहा भएका हुन् । यस्तै सार्वजनिक सवारी सञ्चालन नगरेपछि प्रहरीले मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरीलगायत आठजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको थियो । उनीहरुले पनि आइदा हड्ताल नगर्ने कागज गरेपछि छुटेका हुन् । व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित सहमति जनाएपछि यातायात व्यवसायीलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी अब आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । यातायात हड्ताल गरेपछि उनीहरुलाई शुक्रबार प्रहरीले बुटवल र भैरहवाबाट पक्राउ गरेको थियो । उनीहरुले अब आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा हस्ताक्षर गरे पछि छोडिएको जिल्ला प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । शुक्रबार सिण्डिकेट लागु हुनुपर्ने माग गर्दै शुक्रबार देशभर यातायात सेवा बन्द गर्ने ११९ जना बढी यातायात व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र ३ नम्बर प्रदेशका संयोजनक धर्मराज रिमाल लाई शनिबार काठमाडौं प्रहरीले पक्राउ गरेको छ । गत चैत १८ गते सरकारले जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात व्यसायीले शुक्रबार बिहानैदेखि सार्वजनिक सवारी सञ्चालनमा बन्द गरेका थिए । शुक्रबार पक्राउ गरेका महासंघका अध्यक्ष, उपाध्याक्ष र महसचिवलगायत यातायात व्यवसायीमाथि सरकारले सार्वजनिक एनेअनुसार मुद्धा चलाउने भएको छ ।
नयाँ बजेटमा ब्रोकरका मागः ओलीले भ्याट लाउँदिन भन्थे, बक्यौता पनि तिर्न सक्दैनौं
काठमाडौं । ‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं, ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ’, यो भनाई हो प्रधानमन्त्री केपी ओलीको । उनले गत माघ १५ गते नेपाल चेम्बर अफ कमर्शका नव निर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा सेयरमा भ्याट नलाग्ने घोषणा गरेका थिए । ओलीले बोलेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस यतिबेला उनै ओली प्रधानमन्त्री छन् र ब्रोकर कम्पनीहरु नयाँ बजेटबाट भ्याटको लफडा समाधानको आशा गरिरहेका छन् । महालेखा परिक्षकले ब्रोकर कम्पनीसँग भ्याट असुल्नुपर्ने तथ्य उजागर गरेपछि कर दाता सेवा कार्यालय त्रिपुरेश्वरले ३ वटा ब्रोकर कम्पनीलाई करिब ३ करोड कर निर्धारण गरेर पत्र काटेको थियो । सो कर निर्धारणका विरुद्ध ब्रोकर कम्पनीहरु आन्तरिक राजश्व विभागमा पुनरावेदनमा गएका थिए । तीन वटा ब्रोकर कम्पनीलाई निर्धारण गरिएको ३ करोडको भ्याट अझै टुंगो लागेको छैन् । आन्तरिक राजश्व विभागले भने ब्रोकर कम्पनीहरुको पुनरावलोकनमाथी हालसम्म कुनै छलफल नै नभएको श्रोतले बतायो । यतिबेला सरकार बजेट निर्माणको कसरतमा छ । ब्रोकरहरुले भने निर्धारण गरिएको भ्याट पनि तिर्न नसकिने र अब पनि भ्याट नलगाउन माग गरेका छन् । ब्रोकर एसोसियसनले अर्थमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा बुझाएका थिए । ‘पहिले निर्धारण गरिएको कर पनि तिर्न नसकिने र अब पनि भ्याट नलगाउन माग गरएको ज्ञापन पत्र आएको छ’, अर्थमन्त्रालय श्रोतले भन्यो । ब्रोकरहरुले आफ्ना कम्पनीहरुलाई वित्तिय सेवा अन्तर्गत समावेश गरिदिन पनि आग्रह गरेका छन् । ब्रोकर कम्पनीलाई वित्तिय सेवा अन्तर्गत समावेश गर्दा उनीहरुले ३० प्रतिशत आयकर तिर्नुपर्छ । हाल ब्रोकरहरुले २५ प्रतिशत आयकर तिर्दै आएका छन् । कर दाता सेवा कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत शिशिर घिमिरेले पुनरावलोकनको प्रक्रिया टुंगो नलागेसम्म कर असुल्न नसकिने जानकारी दिए । ‘हामीले कर निर्धारण गरेका थियौं, ब्रोकरहरु विभागमा पुनरावलोकनमा जानु भएको छ, त्यो प्रक्रिया नटुँगीएसम्म कर असुली हुन्न’, प्रमुख कर अधिकृत घिमिरेले विकासन्युजसँग भने । सो कार्यालयले सेवा सेक्युरीटीज प्राली, सुन्धारा सेक्युरीटीज प्राली र इन्भेष्टमेन्ट मेनेजमेन्ट प्रालीलाई करिब ३ करोड कर निर्धारण गरेको थियो ।
उच्च व्याजदर र उद्यमशिलताको मृत्यु
नेपालको आर्थिक विकास पछाडि पर्नुको मुख्य कारण यहाँको औद्योगिक विकास पछाडि पर्नु हो । औद्योगिक विकास नहुनुमा धेरै कारण छन् । ठूला उद्योगहरु खोल्नको लागि सबैभन्दा पहिला सरकारको नीति सहि हुनुपर्छ । त्यसपछि सडक, विजुली, पानी जस्ता पूर्वाधारको राम्रो प्रबन्ध हुनुपर्छ । साथै वित्तीय सेवा सहज र सुलभ हुनुपर्छ । सरकारको सहि नीति भएर मात्र पनि पुग्दैन । नीतिगत स्थायीत्व पनि धेरै महत्वपूर्ण हुन्छ । राजनीतिक अस्थीरता र सरकारको अस्थीरताका कारणले नेपालीले धेरै लामो समय नीतिगत अस्थीरता भोग्नुपर्यो । साथै, सशस्त्र द्वन्द्व, लोडसेडिङ, श्रम अशान्ति, भूकम्प, नाकाबन्दीले पछिल्लो दुई दशक औद्योगिक वातावरण विगार्यो । वर्तमान पुस्ताले स्थीर सरकार र नीतिगत स्थायीत्वमा बसेर व्यवसाय सञ्चालन गर्न पाएको छैन । २०७२ सालमा नयाँ संविधान जारी भएपछि, निर्वाचन र राजनीतिक दल सम्बन्धि नयाँ कानुनहरु बनेपछि, स्थानीय, प्रदेश र केन्द्र सरकारको लागि निर्वाचन भएपछि राजनीतिक स्थायीत्वको संकेत मिलेको छ । लोडसेडिङ कम भएर कम्तिमा दुई सिफ्ट उद्योग सञ्चालन हुन थालेका छन् । नयाँ श्रम ऐन आएपछि श्रमिक र व्यवस्थापनबीच सम्बन्ध सहज बन्दै गएको छ । उल्लेखित क्षेत्रमा सुधारको संकेत आएको अवस्थामा बैकिङ क्षेत्रबाट नयाँ समस्या सिर्जना भएको छ । यतिबेला उद्योगी व्यवसायीहरुको लागि वित्तीय व्यवस्थापन सबैभन्दा जटिल काम भएको छ । दुई वर्षअघि ७/८ प्रतिशतमा लिएको कर्जाको व्याज अहिले १३/१४ प्रतिशत पुगेको छ । बैंकको उच्च व्याजदर यतिबेलाको सबैभन्दा ठूलो समस्या हो । कर्जा दिनुपूर्व बैंकहरुले नै ती परियोजनाको मूल्याङकन गरेका हुन्छन् । कुन उद्योगमा कति कारोबार हुन सक्छ, कति आम्दानी हुन्छ ? कति खर्च हुन्छ ? कति नाफा हुन्छ ? ऋणिले कसरी कर्जाको सावा व्याज भुक्तानी गर्छ भनेर बैंकले नै परियोजनाको विश्लेषण गरेको हुन्छ । त्यहि विश्लेषण र डकुमेन्टेशनको आधारमा कर्जा लगानी भएको हुन्छ । परियोजन कार्यान्वयनको बीच चरणमा पुग्दा नपुग्दै बैंकले ६० देखि १०० प्रतिशतसम्म व्याज बढाउँदा दुई ठाउँमा गम्भिर असर परेको हुन्छ । पहिलो, उत्पादन लागत वृद्धि हुन्छ र बस्तु तथा सेवाको उपभोग्य मूल्य बढ्न जान्छ । नेपाली बस्तु तथा सेवाको मूल्य बढ्दा विदेशी बस्तु तथा सेवाको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । नेपाली उत्पादन बिक्री हुन छोड्छन् । आयातति बस्तुले बजार खान्छ । नेपाली उद्योगहरु मर्छन् । दोस्रो, व्याजको भार सोझै मूल्य थप्न नमिल्ने उद्योगहरु पनि हुन्छ । जस्तै, जलविद्युत परियोजनाहरु । व्याज तथा अन्य लागत जति बढे पनि विद्युत खरिदबिक्री सम्झौताअनुसार मूल्य स्थीर हुन्छ । यस्तो अवस्थामा उद्योगले व्याज खर्च थेग्न सक्दैन र अन्तिममा कर्जा भुक्तानी समेत नहुन सक्छ । यस्तो परिस्थितिमा कुनै उद्योगले जसो तसो नयाँ व्याज र किस्ता तिर्दै गएको छ भने पनि उसले नयाँ उद्योग खोल्न सक्दैन । यसको अर्थ उद्यमीले लगानी विस्तार गर्न सक्दैन । उत्पादन वृद्धि हुन सक्दैन । रोजगारी सिर्जना हुन सक्दैन । आम्दानी वृद्धि हुन सक्दैन । सरकारी राजश्व वृद्धि हुन सक्दैन । समग्रमा आर्थिक गतिविधि विस्तार हुन सक्दैन । उद्योग राम्रो चल्यो, लगानीकर्ताले राम्रो प्रतिफल पायो भने उद्यमीले फेरी नयाँ उद्योग खोल्छ, लगानी बढाउँछ, उत्पादन बढाउँछ, रोजगारी सिर्जना हुन्छ । बचत निर्माण हुन्छ । समग्रमा देश आर्थिक वृद्धिमा टेवा दिन्छ । साथै, पछिल्लो एक वर्षमा बैंकहरुले नयाँ व्यवसाय गर्नको लागि आवश्यक रकम कर्जा दिन सकिरहेका छैनन् । बैंकर्सहरु लगानीयोग्य पैसा छैन भनिरहेका छन् । नेपाल भित्रबाट वित्तीय व्यवस्थापन गर्न नसक्दा वा व्याजदर महँगो पर्दा विदेशबाट कर्जा ल्याएर लगानी गर्ने सुविधा उद्योग, परियोजनालाई दिनुपर्छ भनेर निजी क्षेत्रले माग गर्दै आएको छ तर सरकारले उक्त बाटो खुला गरेको छैन । पछिल्लो समय कम्तिमा बैंकहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने उदेश्यले विदेशबाट पैसा ल्याउन सक्ने व्यवस्था गरिएको छ । यो सकारात्मक प्रयास हो । नेपालका बैंकहरुको अर्को कमजोरी पनि छ । उनीहरुले आर्थिक वृद्धि ल्याउने, बस्तु तथा सेवाको उत्पादन वृद्धिमा सहयोग गर्ने, दीर्घकालिन बजारका सबै पक्षलाई लाभ पुग्ने क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेनन् । छिटो प्रतिफल दिने, बैंकको नाफामा तत्काल टेवा दिने क्षेत्रलाई बैंकहरुले प्राथमिकता दिएर कर्जा लगानी गरे । आजको विश्वमा प्रतिस्पर्धी बस्तु तथा सेवाको मूल्य धेरै फरक पर्न सक्दैन । जसले उत्पादन लागत कम गर्न सक्यो, उस मात्र बजारमा प्रतिस्पर्धा गर्न सक्छ । नेपालमा अहिले जस्तो उच्च दरको व्याज रहिरहने हो र व्याजदरलाई खुलमखुला छोडि दिने हो भने हाम्रा उत्पादन प्रतिस्पर्धी बन्न सक्दैनन् । कुनै पनि उद्यमीले उत्पादनको गुणस्तर र परिणाम नियन्त्रण गर्न सक्छ । तर मूल्य नियन्त्रण गर्न सक्दैन । मूल्य तय हुने भनेको व्याजका दर, करका दर, सम्बन्धित देशको अर्थतन्त्र भित्र व्यवसाय लागत, त्यहाँको पूर्वाधार अवस्था, त्यहाँको प्रविधि, त्यहाँको आपूर्ति प्रणाली, मानव संशाधनको अवस्थाले निर्धारण गर्छ । मूल्य निर्धारणको ती तत्वहरु हाम्रा छिमेकी देश चीन र भारतमा निकै प्रतिस्पर्धी छन् भने नेपालका समस्याग्रस्त छन् । नेपालमा अरु क्षेत्रको तुलनामा वित्तीय क्षेत्र संस्थागत छ, व्यवसायिक छ । प्रभावकारी नियमनकारी निकाय राष्ट्र बैंक छ, सुपर रेगुलेटरी अर्थमन्त्रालय पनि चनाखो छ । वेष्टबे्रन, ट्रेन म्यानपावर, हाइपेइड कर्मचारी बैकिङ क्षेत्रमा छ । उनीहरु व्याजदरको यस्तो अस्थिरता नियन्त्रण गर्न किन सफल भईरहेको छैनन् ? यो गम्भिर विषय हो । बैंकिङ क्षेत्रको व्यवस्थापकिय तहमा, नीतिगत तहमा समस्या छन् भन्ने कुरा अस्थीर व्याजदर, कहिले अधिक तरलता, कहिले तरलताको अभावले प्रष्ट पारिरहेको छ । कुन लेबलको निक्षेप सिर्जना हुन सक्छ ? कुन लेबलको कर्जा लगानी विस्तार हुनसक्छ ? मुद्रा परिचालन कुन लेबेलको हुन सक्छ ? लगायत विषयमा बैंकहरुले अध्ययन गरेर निर्णय गर्नु पर्ने देखिन्छ । उद्यमशिलताको विकासका लागि वित्तीय व्यवस्थापन निकै महत्वपूर्ण पक्ष हो । वित्त व्यवस्थापन जटिल भयो भने उद्यमशिलता मर्छ । उद्यमी भनेको सपना देख्ने र कार्यान्वयन गर्ने क्षमता भएको व्यक्ति हो । उसले एउटा सोच बनाउँछ, त्यसपछि योजना बनाउँछ र कार्यान्वयनमा लैजान्छ । जब योजना कार्यान्वयनको चरणमा पुग्दा बैंकहरुबाट सहयोग पाउँदैन वा बैंकहरुले सहज र सरल तरिकाबाट कर्जा लगानी गर्दैनन् तब व्यवसायी ऊ निराश बन्छ । उसले नयाँ योजना बनाउन छोड्छ । उद्यमीले जुन समयमा एउटा सोच र योजना बनाएको छ, त्यसको लागि तत्काल पुँजी जुटाउन सकेन वा ६ महिना तथा एक वर्षमात्र ढिला भयो भने त्यो त्यो योजना फेल हुन्छ । मेरो विचारमा बैकिङ सुविधा राम्रो नहुँदा ७५ प्रतिशत उद्यमशिलता मरेको छ । यसरी उद्यमशिलता मर्दा अर्थतन्त्र गतिशिल बन्न सक्दैन । समृद्धि हासिल हुन ठूलो उच्च व्याजदर र अस्थीर व्याजदर ठूलो अवरोध हुनसक्छ । (युवा उद्यमी आचार्यसँगको कुराकानीमा आधारित)
कर्णाली डेभलपमेन्ट बैंकको १७ लाख ६२ हजार कित्ता हकप्रद बिक्री नभएपछि लिलामीमा
काठमाडौं । संस्थापक सेयरधनीले नकिनेपछि कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी १७ लाख ६२ हजार १८८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । जसअनुसार संस्थापकतर्फ १४ लाख ६१ हजार २७० र सर्वसाधारणको ३ लाख ९१८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । प्रतिसेयर १०० रुपैयाँ भन्दा बढी प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता खरिदका लागि बोलपत्र पेश गर्नुपर्ने प्रभुले जनाएको छ ।
सूर्या लाइफले घोषणा गर्यो नयाँ बोनसदर, प्रतिहजार ७३ रुपैयाँसम्म दिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम् ३८ देखि ७३ रुपैयाँसम्म बोनस दिने भएको हो । नियामक बीमा समितिले गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याँकन सम्बन्धित बीमाङकीय प्रतिवेदन गत बिहीबार स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर घोषणा गरेको हो । गत असारसम्म जारी भएका जीबन बीमालेखहरुमा नयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ९ वर्षसम्मको बीमालेखमा सावधिक तथा आजीवनमा प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्षमाथि ७३ रुपैयाँ बोनसदर तोकिएको छ ।
माधव नेपाल भन्छनः समाजलाई बुझ्ने पहिलो विद्धान कार्ल मार्क्स हुन्
काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्धानका रुपमा कार्ल मार्क्सलाई बुझ्नुपर्ने बताएका छन् । नेकपा (एमाले) द्वारा कार्ल मार्क्सको जन्म द्विशताब्दीका सन्दर्भमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले मार्क्स समाजको गहिरो अध्ययन र विश्लेषण गर्ने विश्वको पहिलो कम्युनिष्ट नेता भएको पनि बताए । अरु दार्शनिकले संसारका कुरामात्र गरेको भए पनि मार्क्सले जनतालाई सामाजिक न्याय उपलब्ध गराएर संसारलाई बदल्ने कुरा गरेको बताउँदै नेता नेपालले समाजमा विद्यमान गरिबी न्यूनीकरण, देशभक्ति, महिला हिंसा, छुवाछूतको अन्त्य गरी उक्त वादलाई जनतासँग एकाकार हुनेगरी कार्यान्वयन गर्न सकेमा मात्र लोकतन्त्र बलियो हुने विचार व्यक्त गरे।
सवारी सञ्चालनमा अवरोध नगर्ने सहमतिपछि यातायात व्यवसायी रिहा
सुरुङ्गा, झापा । यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि शुक्रबार दिउँसो पक्राउ परेका यातायात व्यवसायी आज साँझ रिहा भएका छन् । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात व्यसायीले शुक्रबार बिहानैदेखि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएका थिए । सार्वजनिक सवारी सञ्चालन नगरेपछि प्रहरीले मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरीलगायत आठजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको थियो । तर आज भएको छलफलमा यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित सहमति जनाएपछि यातायात व्यवसायीलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । –––
आफ्नो टोल आफै सफा गर्दै कीर्तिपुरस्थित शान्तिमार्ग (फोटो फिचरसहित)
काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित ट्याङलाफाँट १/२ मा रहेको शान्तिमार्ग टोलले आफ्नो टोल आफै सफा गरौ भन्ने उद्देश्यका साथ शान्तिमार्ग टोल सफा गरेको छ । पालैपालो महिना/महिनामा उक्त टोल शान्तिमार्ग टोल सुधार समिति र टोलस्थित अजिमाख्य गुठीले सफा गर्दै आइरहेको छ । सोही सेड्युलअनुसार शनिबार टोल सफा गरेको हो । टोल सुधार समितिको अध्यक्ष भरत बस्नेतले आफ्नो टोललाई सफा सुग्घर राख्ने उद्देश्यले टोल महिना/महिनामा गुठीसँगको सहकार्यमा पालै पालो सफा गर्दै आइरहेको बताए । ‘प्राय विदाको दिन पारेर टोलमा रहेका समुदाय स्वस्फूर्त रुपमा जम्मा भएर टोल सफा गर्दै आएका छौं,’ उनले भने ‘हामीले टोललाई सफा राख्नका लागि टोलमा रहेका पसलहरुलाई पनि कुहिने र नकुहीने फोहोरहरु छुट्याएर राख्नका लागि भनिसकेका छौं ।’ टोलको अवस्थाले त्यहाँ रहेको समुदायको प्रतिनिधित्व गर्ने भएकोले पनि टोल सफा, सुग्घर राखे समुदायको इज्जत बढ्ने भएकोले पनि सफाइलाई प्राथमिकता दिएको उनको भनाइ छ । सरसफाइमा सहभागी अर्का सदस्यले टोललाई सफा राख्न स्वस्फूर्त रुपमा सफाई अभियानमा सहभागी भएको बताए । सफाई भइरहदा घरवेटीहरुले अभियानमा सहभागीहरुलाई पानी, जुस लगायत उपलब्ध गराएको देखिन्थे ।