विकासन्युज

सीजी इलेक्ट्रोनिक्सले युनाइेटड इन्स्योरेन्सलाई २४ करोड तिर्नै पर्ने

काठमाडौं । चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सको २४ करोड रुपैंयाँ फिर्ता गर्नै पर्ने भएको छ । सिजी इलेक्ट्रोनिक्स आगलागीमा युनाइटेड इन्स्योरेन्ससँग अतिरिक्त २४ करोड भुक्तानी लिएको थियो । अधिक भुक्तानी लिएको २४ करोड रुपैंया फिर्ता गराउने बीमा समितिको निर्णय विरुद्ध सीजी इलेक्ट्रोनिक्सले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको छ । सर्वाेच्च अदालतले बैशाख २३ गते सीजीले दायर गरेको रिट माथी सुनुवाई गर्दै २४ करोड असुली प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । ‘२४ करोड फिर्ता गर्न बीमा समितिले लेखेके पत्र र सोही अनुसार युनाइेटडले लेखेको पत्रलाई कार्यान्वयन गर्न अन्तरिम आदेश मागिएको रिटमा सर्वाेच्चले त्यस्तो आदेश दिएन, अब २४ करोड असुलीको प्रक्रिया अघि बढ्छ’, बीमा समिति श्रोतले भन्यो । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स गोदाममा आगलागी भएपछि चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सबाट ५८ करोड भुक्तानी लिएको थियो । तर बीमा समितिमा उजुरी परेपछि समितिले छानविन गर्दा ३४ करोड मात्रै क्षति भएको देखिएको थियो । समितिको प्रतिवेदन विरुद्ध चौधरी समुहले तत्कालिन पुनरावेदन अदालत पाटनमा मुद्दा हालेको थियो । अदालतले बीमा समितिकै निर्णयलाई सदर गरिदिएको थियो । अदालतले समितिको निर्णयलाई सदर गर्दै ३४ करोड मात्रै भुक्तानी दिन भनेपनि फैसालको पूर्ण पाठ भने पठाएको थिएन् । चैत १३ गते अदालतले फैसलाको पूर्ण पाठ समितिमा पठाएर २४ करोड फिर्ता गर्न भनेको थियो । चौधरी ग्रुपको सीजी इलोक्ट्रोनिक्सले एक पटक ३६ करोड र एक पटक २२ करोेड गरि ५८ करोड भुक्तानी लिएको थियो । तर अदालतले बीमा समितिको प्रतिवेदन अनुसार ३४ करोड मात्रै क्षति भएको निर्णय सदर गरिदिएपछि चौधरी ग्रुपले २४ करोड रुपैंयाँ युनाइटेड इन्स्योरेन्सलाई फिर्ता गर्नुपर्नेछ । यस्तो थियो नालीबेली सीजीले आगलागीबाट ८४ करोडको क्षति भएको दावी गरेको थियो । युनाइेटडका सर्भेयरले भने ५४ करोड क्षति भएको प्रतिवेदन तयार पारेका थिए । तर ५४ करोड क्षति पनि नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएपछि समितिले आफ्ना सर्भेयर खटाएको थियो । समितिको सर्भेयरले ३४ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । समितिको प्रतिवेदन विरुद्ध सीजी उच्च अदालत पाटनमा पुगेको थियो । अदालतले अण्डर राइटर र सर्भेयरलाई समेत ३।३ हजार जरिवाना गर्न आदेश दिएको थियो ।

व्यापार घाटा घटाउने बजेट बनाउन सुझाव

काठमाडौं । सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरूले मुलुकको स्वाभिमान बढाउने र छिमेकीसँगको व्यापार घाटा कम गर्ने पाटोलाई पनि बजेट तर्जुमा गर्दा उत्तिकै ध्यान दिन जोड दिएका छन् । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले मुलुकको जनसंख्याको ८२ प्रतिशत कृषिमा संलग्न भए पनि किसानले उत्पादनको मूल्य निर्धारण गर्न नपाउनु नै अहिले मुख्य समस्याका रुपमा रहेको टिप्पणी गरेका छन् । उनले भने, “किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको मूल्य तोक्न मूल्य निर्धारण आयोग गठन हुनुपर्छ । चुनावमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सांसद कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।” नेकपा (एमाले)का योगेश भट्टराईले भने, “व्यापक जनआधार र विश्वास रहेको अहिलेको सरकारलाई जनअपेक्षाअनुरुपको बजेट प्रस्तुत गर्नबाट चुक्ने सुविधा छैन, सीमान्तकृत र मजदूरलाई माथि उठाउन सक्छौं भन्नेतर्फ बजेट केन्द्रित हुनुपर्छ ।” “छिमेकीसँगको व्यापार घाटालाई कसरी कम गर्न सक्छौं, मुलुकको स्वाभिमान र अर्थतन्त्रलाई कसरी माथि उठाउन सक्छौं र स्थानीय तहलाई कसरी बलियो बनाउने भन्ने ढंगबाट बजेटले स्पष्ट खाका दिनुपर्छ ” उनले भने । राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले विदेशमा रहेका ५०औँ लाख युवालाई स्वदेशमा फर्काउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा आउने छनक नदेखिएको गुनासो गरेका छन् । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आगामी बजेटमा जोत्नेलाई भूमि, भूकम्पपीडितलाई १० लाख रुपैयाँ अनुदान, प्रत्येक प्रदेशमा विश्वविद्यालय, हरेक जिल्ला र स्थानीय तहमा सुविधासम्पन्न अस्पताल खोल्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् । स्वतन्त्र सांसद छक्कबहादुर लामाले संघीयताको भावनाअनुरुप बजेट व्यवस्थापन गर्न सुझाव दिएका छन्। नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सरकारले अघि सारेको विकास र समृद्धिको नारालाई मूर्तरुप दिन छाती ठूलो बनाएर बजेटको आकार बढाउन आग्रह गरेका छन् । सांसद विनोद चौधरीले सबै नेपाली जनताको आर्थिक समृद्धिको अधिकार हो भन्ने ढंगबाट सबै राजनीतिक दल अघि बढ्न र सोहीअनुसारको बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिए । उनले भने, “सरकारले व्यापार गर्ने होइन, व्यापार गर्ने वातावरण सिर्जना गर्ने हो । दश प्रतिशत गार्हस्थ्य उत्पादन गर्न वार्षिक १० खर्ब रुपैयाँको लगानी गर्नुपर्छ । अहिलेको तीन खर्बको लगानीबाट हामीले चाहेको उपलब्धी हाँशिल गर्न सक्दैनौँ ।” माओवादी केन्द्रका प्रभु शाहले आगामी बजेटले भौतिक पूर्वाधार निर्माणलाई अघि बढाउन, आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न र आयोजना निर्माणलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्न सुझाव दिएका छन् । नेकपा (एमाले)का गणेश ठगुन्नाले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउनु पर्ने भएकाले सो कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका छन् । नेपाली काँग्रेसका भरतबहादुर शाहले तीन तहमा राजश्व संकलन र बाँडफाँड नै अहिलेको ठूलो चुनौती रहेको बताएका छन् । सांसद विमला विकले मुलुकको भौगोलिक विविधता र भौगोलिक धरातलका आधारमा बजेट विनियोजन हुनुपर्छ भने । नेपाली काँग्रेसकी उमा रेग्मीले बजेट चौतर्फी छरिएर आउने संकेत देखिएको र स्वास्थ्य बीमालगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको बताएका छिन् । माओवादी केन्द्रका सत्या पहाडीले जल, जंगल र जमिन हाम्रा आम्दानीका मुख्य स्रोत भएकाले त्यसको समुचित प्रयोग हुने ढंगबाट बजेट विनियोजन गर्न तथा समानुपातिक र समावेशीको सिद्धान्तलाई पनि ख्याल गर्न सुझाव दिए। रासस

सिजीको फ्रिजहरुमा ५ वर्षको वारेण्टी, खरिदमा आकर्षक उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्यनजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार योजनाहरु ल्याएको छ । उक्त फ्रिजहरुमा अब बत्ती गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाई राख्ने कम्पनीले जनाएको छ ।

गण्डकी विकास बैंक अब नयाँ बानेश्वरमा, थप १८ वटा सञ्चालनमा ल्याउने

काठमाडौं । गण्डकी विकास बैंकको थप शाखा नयाँ बानेश्वरमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिनुपर्ने बताए । बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । बैंकको हाल ५९ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सुविधा दिँदै आएको छ । साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । बंैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

डलरको भाउ बढेर १०८ रुपैंयाँ नजिक, मूल्य वृद्धिको त्राश

काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । डलर महंगिएपछि नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिक्री दर १ डलर बराबर १०७ रुपैयाँ ९२ पैसा तोकेको छ । दुई साताअघि १०७ रुपैयाँ ३५ पैसा थियो । वैशाख शुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि डलर मजवुत भई यसको असर नेपाली रुपैयाँमा परेको हो । रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६७.३७ भारु तोकेको छ । दुई साताअघि १ डलर बराबर ६६.६९ भारु बिक्री मूल्य तोकेको थियो । भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ महिनाको अवधिमा डलरसंग साढे ३ रुपैयाँ कमजोर भएको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । अमेरिकाको वित्तीय नीति विस्तारकारी हुनुका साथै मौद्रिक नीति कसिलो हुँदा विस्तारै पुँजी अमेरिकातर्फ जान थालेपछि त्यहाँको अर्थतन्त्रमा सुधार आउँदा डलर मजवुत हुन थालेको हो । अमेरिकामा लगानी फिर्ता आउन थालेपछि यसको असर भारतमा पर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन भएको विश्लेषकको भनाई छ । केही साताअघि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर १.५ बाट बढाएर १.७ प्रतिशत पुर्याएपछि यसको असर भारुमा परेको हो । फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानीकर्ता अमेरिकातर्फ बढी आकर्षित हुदा विस्तारै डलर संचिती घट्दै गएपछि यसको असर भारुमा परेको राष्ट्र बैंकको भनाई छ । डलर बलियो हुँदाका बेफाइदा विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढदा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

देवःविकास बैंकको बुटवलमा नयाँ शाखा, थप तीन स्थानमा विस्तार गर्ने तयारी

काठमाडौं । देवःविकास बैंक लिमिटेडले बुटवलमा शाखा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी र यस बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा नगर प्रमुख सुवेदीले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधीबाट नगर लगायत यस क्षेत्रका ग्रामीण भेगमा समेत रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका साथसाथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा उपमहानगरपालिकासँग सहकार्य गर्न अनुरोध गरेका छन् । बैंकका संचालक समितिका सदस्य विजय राजशर्मा भुसालले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताएका छन् । समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका स्थानीय उत्पादकत्व तथा आर्थिक सम्बृद्धिका लागि लगानी र अवसर सिर्जना गर्ने बताएका छन् । बैंकले चैत मसान्तसम्म १३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले २० करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, यसै आवमा वीरगञ्ज, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, सबै समूह राताम्मे

काठमाडौं । केही दिनयता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताभरको बजारमा उतारचढाव देखिएको छ । सो अवधिमा मंगलबार बाहेक अन्य ४ दिनको बजार ओरालो लागेका छन् । अन्ततः साताको अन्तिम कारोबारमा(बिहीबार) नेप्से परिसूचक ७.७० अंकले घटेर १३४८ अंकमा झरेको छ । सो दिनको बजार ०.५७ प्रतिशतले घटेको हो । बजारमा कुल १६१ कम्पनीको ३५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा कुल ७ लाख ७३ हजार २१० कित्ता सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यस्तै, सो दिन कारोबारमा आएका ९ वटै सूचक राताम्मे भएका छन् । जसमध्ये बीमा समूहको सूचक सबैभन्दा बढी ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३१, हाइड्रोपावर २५ र माइक्रोफाइनान्स १४ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । सो दिन समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.९५ प्रतिशत कमाएका छन् ।

विराटनगर औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त, जेठ १५ पछि सबै उद्योगलाई नियमित बिजुली

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङ मुक्त गरेको छ ।  एक साता अघि मात्र परीक्षणको रुपमा हेटौडा–वीरगञ्ज औद्योगिक करिडोरमा लोडसेडिङ हटाएको विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर पनि लोडसेडिङ मुक्त गरेको हो । अब क्रमश अन्य औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले बुटवल, भैरहवा र नेपालगञ्ज औद्योगिक क्षेत्रमा आउदो जेठ १५ गतेपछि लोडसेडिङ मुक्त गर्ने तयारी भइरहेको सुनाए । विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ पिक आवरमा दैनिक ३ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ । अब विराटनगर र वीरगञ्ज औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने छैन् । औद्योगिक क्षेत्रमा ३ सय मेगावाट बराबर लोडसेडिङ हुदै आएको थियो । नियमित रुपम बिजुली आपूर्ति भएपछि माग पनि घटेर २०० मेगावाटमा झर्ने उनले जानकारी दिए । औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरेपछि मुलुकको उद्योग उत्पादनमा विस्तार हुने भएको छ । अधिकारीका अनुसार हाल बिजुलीको माग १ हजार २८५ मेगावाट छ । भारतबाट समेत गरी १ हजार ७५ मेगावाट आपूर्ति भइरहेको छ । यस्तै २१० मेगावाट अपुग भएको छ । भारतबाट मात्रै ५०१ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । २ वर्षअघि विद्युत प्राधिकरणले ग्राहस्थलाई नियमित रुपमा बिजुली आपूर्ति गर्न थालेको हो । नियमित रुपमा बिजुली आपूर्ति भएपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सरकारी तथ्याँकले देखाएको छ । नियमित रुपमा ऊर्जा आपूर्ति भएपछि औद्योगिक उत्पादन क्षमता बढेर ५८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ ।