अब मन्त्रिपरिषदले अनुगमनको पनि अनुगमन गर्ने
काठमाडौं । सरकारले अनुगमनको पनि अनुगमन गर्ने नीति अघि सारेको छ । सोमबार आगामी अर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुगमनलाई चुस्त दुरुस्त बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमनको पनि अनुगमन गर्ने बताइन् । त्यस्तै उनले गुणस्तर अनुगमन नियमन गर्ने निकायलाई पुनःसंरचना गर्ने बताइन् । उनको अनसार सबै किसिमको अनुगमनमा सूचना प्रविधि अपनाइनेछ । अनुगमनको क्रममा भेटिने कसैलाई छोडिने छैन ।
ठेकेदारका नेतालाई गृहमन्त्रीका प्रश्नः काम गर्ने कि जेल जाने ?
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारहरुलाई मन्त्रालयमै बाेलाएर थर्काएका छन् । मन्त्रीसामु ज्ञापनपत्र बुझाउन गएका व्यवसायीहरुलाई समयमै सच्चिएर कारबाहीबाट जोगिन सुझाव दिएका हुन् । उनले काम नगर्ने ठेकेदारलाइ जेलसमेत हाल्ने चेतावनी दिए । थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पारेका हुन् । उनले भने-‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस्, यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन । ’ निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री थापाले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए । उनल थपे-‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुस, उनिहरुलाई तत्कालै जेल हाल्छौं । ’’ यो पनि हेर्नुहोस् काठमाडौंमा काम अलपत्र पार्ने २४ ठेकदार कुर्दै सरकार, बेलुकी ५ बजेसम्म नआए पक्राउ गर्ने
रेल र पानी जहाज ओली सरकारको उच्च प्राथमिकतामा
काठमाडौं । सरकारले रेलमार्गको निर्माण र पानी जहाज सञ्चालनको योजनालाई उच्च प्राथमिकतामा राखेको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा मेची-महाकाली रेलमार्गको निर्माण, केरुङ-काठमाडौं- पोखरा-लुम्बिनी रेलमार्ग र काठमाडौं-बिरगञ्ज रेलमार्गलाई उच्च प्राथमकितामा राखेको हो । त्यस्तै, कोशी, गण्डकी र कर्णाली नदिमा पानी जहाज सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था पनि आगामी आर्थिक बर्षभित्रै गरिसक्ने योजना सरकारले अघि सारेको हो । अहिले केरुङ काठमाडौं रेलमार्गको अध्ययनका लागि चिनियाँ प्राबिधि टोली नेपाल भ्रमणमा आएको छ । प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणमा सो रेलमार्ग निर्माण सम्बन्धी सम्झौता गर्ने सोँच सरकारले बनाएको छ । त्यस्तै, मेची महाकाली रेलमार्गको निर्माणलई थप तिब्रता दिने सरकारले बताएको छ । काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि भारत सरकारसँग सम्झौताको तयारी भैरहेको छ । विस्तृत सम्भाव्यता अध्ययन गरेर रेलमार्ग निर्माण गर्ने नेपाल भारत सरकारको योजना छ । त्यस बाहेक प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा गरेको सम्झौता अनुसार नेपालका ठुला नदिहरुमा पानी जहाज सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने सरकारी योजना छ । रेल र पानी जहाजका चर्का भाषण गर्दा अघिल्लो प्रधानमन्त्री कार्यकालमा ओलीको व्यापक आलोचना भएको थियो । तर यसपाली भने ओलीले निती तथा कार्यक्रममै रेल र पानी जहाजलाई उच्च प्राथमिकतामा राखेका हुन् ।
बन्द रुग्ण उद्योगलाई सरकारले निजी, साझेदारीमा सञ्चानल गर्ने
काठमाडौं । मुलकमा रहेको बन्द तथा रुग्ण सरकारी उद्योगहरुलाई निजी तथा साझेदारी रुपमा सञ्चालन गरिने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको निती तथा कार्यक्रम पस्तुत गर्दै मुलुकका विभिन्न बन्द र रुग्ण उद्योगहरुलाई सम्भावनाको आधारमा निजी तथा साझेदारीको रुपले सञ्चालन गरिने बताइन् । मुलुकमा रहेको चिनी, छाला जन्य तथा सिमेन्ट लगायतको उद्योगहरुलाई निर्यातमूखी बनाइने उनको भनाइ छ । त्यस्तै उनको अनुसार फलामको उत्पादन प्रसोधन, जुट, गलैँचा, धागो उद्योगहरुलार्इ समेत अध्ययन अघि बढाइ निर्यातमूखी उद्योगको रुपमा सञ्चालन गरिनेछ ।
निजगढ विमानस्थल निर्माण अघि बढाउने, एक बर्षमा भैरहवा र तीन बर्षमा पोखरा विमानस्थल तयार पार्ने
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ विमानस्थलको निर्माणलाई तिब्रता दिने बताएको हो । त्यस बाहेक आगामी एक बर्षभित्रै भैरहवा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण आगामी ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले निर्धारण गरेको छ । त्यस बाहेक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा क्षमता अभिवृद्धि र देशभै भरका आन्तरिक विमानस्थलहरुमा कालोपत्रे गर्दै जाने योजना पनि अघि सारिएको छ ।
घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने सेवा तथा वस्तुको आयातमा रोक
काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ–आगामी आर्थिक बर्षदेखि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने र घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने बस्तु तथा सेवाको आयातमा रोक लगाउने नीति लिइनेछ ।’ सरकारले अब रक्सी, चुरोट, खैनी, मेकअपका समान, बिलासिताका सवारी साधन लगायतको आयातलाई प्रतिस्थापन गर्ने योजना अघि सार्न लागेको हो । आयात वृद्धि तथा निकासीमा भारी गिरावट आउन थालेपछि सरकारले घरेलु उद्योग संरक्षणका लागि यस्तो कदम चाल्न लागेको हो । आयातमा भएको वृद्धिले व्यापार घाटा चुलिएको छ ।
५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाइने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउइने बताइन् । उनले त्यसको लागि कृषिलाई आधुनिकिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने, कृषि भूमिको खण्डीकरण रोक्ने लगायत कार्य अघि बढाउने बताइन् । कृषिको वहुउपयोगी हुनेगरी उत्पादनहरुको विविधिकरण गरिने समेत उनको भनाइ छ ।
नगद भुक्तानी निषेध, बैंकबाट मात्रै पैसाको लेनदेन
काठमाडौं । सरकारले अब नगद भुक्तानीलाई निषेध गर्ने भएको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमले अब सबै खाले भुक्तानीहरुलाई बैंकिङ प्रणालीबाट मात्रै हुने व्यवस्था गर्ने योजना अघि सारेको हो । त्यस्तै, विभिन्न संघ संस्था र कोषहरुमा रहेको निष्कृय श्रोतलाई उत्पादन मुलक क्षेत्रमा लगाउने योजना पनि अघि सारिएको छ । सरकारले वित्तीय क्षेत्रका नियामक निकायहरुको नियामकीय क्षमता अभिवृद्धिका लागि पनि विशेष योजना ल्याउने बताएको छ । त्यस्तै, आगामी आर्थिक बर्षमा कृषि बीमा कार्यक्रमलाई अझै विस्तार गर्ने योजना पनि सरकारले अघि सारेको छ ।