विकासन्युज

सानिमा बैंक र आइएफसीबीच कर्जा सम्झौता

काठमाडौं । सानिमा बैंक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बीच कर्जा सम्बन्धि प्रारम्भिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ । हाल बैंकको ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम रहेको छ ।

सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंक्यास्योरेन्स सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा पुग्ने छ ।

कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा दिने उद्देश्यले उक्त सम्झौता गरेको हो ।

सेञ्चुरी बैंककोे शाखा बुढानिलकण्ठको मण्डिखटारमा, एक्सटेन्सन् काउन्टर पनि सञ्चालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा बुढानिलकण्ठको मण्डिखटारमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । साथै, बैंकले सोही स्थानको कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकवर्गहरुमा सेवा पुर्याउने उद्देश्य राखेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा दिँदै आएको छ । साथै, १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

बिहीबारकाे नेप्से दोहोरो अंकले घट्यो, ३७ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लगातार ओरालो लागेको परिसूचक बिहीबार पनि १०.०५ अंकले घटेर १३१८ अंकमा अडेको छ । सो दिनको बजारमा कुल १६१ कम्पनीको ७ लाख ९१ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभरको बजारमा कूल ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २ करोड ३३ लाख रुपैयाँ सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ५६० रुपैयाँ रहेको छ । बिहीबार कारोबारमा आएका उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ६२ अंकले ओरालो लागेको छ ।

भारतमा फेरी पेट्रोलियमको भाउ बढ्यो, नेपालमा जेठ १८ गते कति पुग्ला ?

काठमाडौं । भारत सरकारले पेट्रोलियम पदार्थको भाउ बिहीबार फेरी बढाएको छ ।  अन्तराष्ट्रिय बजारमा बढेको भन्दै भारतमा पनि पेट्रोलियमको मूल्य समायोजन भएको हो । भारतमा बिहीबार पेट्रोलियमको भाउ बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ । यो मुम्बइको भाउ हो । यस्तै राजधानी दिल्लीमा प्रतिलिटर ७७ रुपैयाँ ४७ पैसा भारु पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएको दी इण्डियन एक्सप्रेसले आफनो अनलाईन संसकरणमा उल्लेख गरेको छ । यस्तै डिजेलको भाउ पनि बढेर मुम्बइमा प्रतिलिटर ७२ रुपैयाँ ९६ पैसा र दिल्लीमा ६८ रुपैयाँ ५३ पैसा पुगेको इण्डियन एक्सप्रेसले जनाएको छ । केन्द्रीयमन्त्री नितिन गडकरीले भारत विश्व अर्थतन्त्रसंग जोडिएकाले भाउ वृद्धि रोक्न नसक्ने स्पष्टपारेका छन् । उनले पेट्रोलको भाउ वृद्धि नगरी सुखै नभएको उनको तर्क थियो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियको भाउ प्रतिव्यारेल ८० नजिक पुगेपछि भारतमा मूल्य समायोजन भएको हो । पछिल्लो समयमा पेट्रोलियमको भाउ उकालो लाग्दै आएको हो । अन्तराष्ट्रिय बजार विशेष गरी भारतमा पेट्रोलियमको भाउ वृद्धि भएपछि यसको असर नेपालमा पर्ने भएको छ । आउदो जुन १ गते इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य पठाएपछि नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने संभावना छ । नेपालमा पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ पुगेको छ । नयाँ सरकारले ४ पटक पेट्रोलियमको भाउ बढाइसकेको छ । यस्तै डिजेलको भाउ पनि ९२ रुपैयाँ पुगेको छ ।

‘१५ वर्ष भित्र गरीबीको संख्या १४ करोड ५० लाखले घटाउने’

नयाँ दिल्ली । सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्राषदीको वर्ष थियो । भयानक आतङ्कवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली सङ्कटले दशौं हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो । सत्तरीभन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा गिरावट आयो तथा ब्रेक्जिट र अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले राजनीतिमा सनसनी मच्चाए, किनभने यी दुवैको आँकलन न मिडियाले गरेका थिए न राजनीतिका दिग्गजले नै गर्न सकेका थिए । अन्तरराष्ट्रिय जनस्वास्थ्य क्षेत्रमा जिका समस्यालाई लिएर आपतकाल घोषणा गरियो । वास्तवमा यो साल हालसम्मकै विषममध्येमा रह्यो । अखबारका विचार पृष्ठ पढ्दा यस्तो अनुभव हुन्छ मानौँ सारा विश्व सङ्क्रमणमा छ तथा मानिसका सोच पनि कहालीलाग्दो रुपमा बिभाजित छन् । तर एक कदम पछाडि सरेर हेर्यौं भने आशावादी बनाउने धेरै कारण पनि प्रष्ट छन् । साँच्चै नै हामी इतिहासको सुन्दर समयमा बाँचिरहेका छौँ । अझ महत्वपूर्ण त के भने २४ घण्टे न्युज च्यानल र सामाजिक सञ्जालले बताए जस्तो कतिपय मुद्दा आत्तिनुपर्ने र निद्रा भगाउने खालका पनि होइनन् । यो सालको अत्यधिक सम्बोधित समस्या ‘बढ्दो असमानता’लाई नै हेरौँ न । यो अवश्य हो कि पछिल्ला दुई शताब्दीमा उच्च र न्युन आय भएकाको वीच विभेदको खाडल बढेको छ । तर त्यसो हुनुको कारण के हो भने १८२० ताका लगभग सारा विश्वका मानिस अत्यन्त गरीब थिए । ९० प्रतिशतभन्दा बढी मानव पूर्णगरीबीमा बाँचेको थियो । तत्पश्चात औधोगिक क्रान्ति द्रुत आय वृद्धि लिएर आयो सन् १९७८ पछि चीनमा र सन् १९९० पछि भारतमा उच्च वृद्धि देखियो । यसको समग्र असर पोहोर साल देखियो । हाल विश्वको १० प्रतिशत जनसंख्या मात्र अति विपन्नतामा बाँचेको छ । अझ हाल आएर त विकासशिल देशहरुले विश्वभर नै मध्य आय वर्गको वृद्धिमा ठूलो भूमिका खेल्दै आएका छन् र मध्य आय वर्गको विश्व जनसंख्या १९८५ को एक अरवबाट दुई गुणाबाट बढेर अहिले २०१५ मा २ अरब ३ कराेड भएको छ । गरीबीमा आएको यस्तो गिरावटले विगत तीन दशकदेखिको आयको असमानतालाई पनि थेगेर राख्न सकेको छ । असमानता अरु दृष्टिकोणबाट पनि घटेको छ । १९९२ पश्चात संसारमा भोका र खान नपाएका मानिसको संख्यामा २० करोडले कमी आएको छ, यद्यपि विश्व जनसंख्या यही समयमा दुई अरबले बढेको छ । भोकमरीले सन्तप्तको संख्या पनि १९ प्रतिशत देखि ११ मा आएर झन्डै आधा भएको छ । सन् १८७० मा तीन-चौथाई संसार निरक्षर थियो र आयमा भन्दा त्यसबेला शिक्षामा बढी असमानता थियो । अहिले हरेक पाँचमा चार जना पढ्न सक्छन् र विद्यालयमा युवाको अकल्पनीय पहूँच छ । अहिले देखिएको अशिक्षित संख्याको ठूलो भाग पनि पुरानो पुस्ता नै हो । स्वास्थ्य क्षेत्रको कथा पनि उस्तै छ । सन् १९९० मा एक करोड ३० लाख बालबालिका पाँच वर्ष पुग्नु अघि नै मर्थे । हाल खोप, पोषक खानेकुरा तथा स्वास्थ्य सेवाको कारणले यो संख्या ६० लाखभन्दा तल आएको छ । अझ महत्वपूर्ण कुरा त आज संसारभर सरदर उमेरको असमानतामा पनि कमी आएको छ किनभने औषधोपचारको क्षेत्रमा आएको परिवर्तनले एक शताब्दी अघि जुन उपचार सेवा कुलिन वर्गको लागि मात्र सम्भव थियो, अहिले धेरैको पहूँचमा पुगेको छ । छोटकरीमा भन्दा संसार रसातलोन्मुख भएको होइन । हो, धेरै समस्याको सम्बोधन हुन बाँकी छ तर ती भन्दा कम महत्वका कुराले हाम्रा विचार र सार्वजनिक वहसमा ठाउँँ पाइरहेका छन् । ट्रम्पको चुनावी विजय र उनले लत्याएको पेरिस जलवायु सम्झौतालाई लिएर कतिले यसले मानव सभ्यतालाई अन्त्यको संघारमा ल्याउन सक्ने भन्नेसम्म उद्घोष गरे । तर पेरिस सम्झौताले कहिल्यै पनि ग्लोबल वार्मिङको समस्यालाई सुल्झाउन सक्ने सामर्थ्य राख्दैनथ्यो । संयुक्त राष्ट्रसंघकैअनुसार पनि औधोगिकरण अघिको तापक्रमभन्दा दुई डिग्री माथिसम्म मात्रै ल्याउन कार्वन डाइअक्साइड उत्सर्जनमा गरिने कटौतीले एक प्रतिशत मात्र सहयोग पुर्याउने थियो । अर्कोतिर ट्रम्पको व्यापार खारेज गर्ने निर्णयलाई पनि विरोध कम छ र बरु न्युयोर्क, वर्लिन र पेरिस जस्ता मुख्य शहरमा समर्थन मिलेको छ । लागत–नाफा विश्लेषणले पनि के भन्छ भने संसारका अति विपन्न जनतालाई पनि सहयोग पु्यार्उने एकमात्र शक्तिशाली उपाय स्वतन्त्र व्यापार नै हो । मेरो आफ्नै ‘थिङ्क ट्याङ्क’ कोपेनहेगन कन्सेन्सस् सेन्टरले गरेको अनुसन्धानअनुसार पनि लगभग सुषुप्त रहेको विश्व स्वतन्त्र व्यापार सम्बन्धी ‘दोहा डेभलप्मेण्ट राउण्ड’ लाई जगाउन सके मात्र पनि यसले संसारभरका अरबौँ मानिसहरुको आयस्तर बढाउने छ र १५ वर्ष भित्र गरीबीको संख्या १४ करोड ५० लाखले घटाउने छ । स्वास्थ्यसम्बन्धी हाम्रा धारणा पनि यसरी नै दिग्भ्रमित छन् । विशेषतः अमेरिकामा जिका भाइरस प्रवेश पछि हामी त्यसैमा रुमल्लिएर बस्यौँ जबकि ब्राजिल वा अन्य विकासशिल देशमा मात्र बालबालिकाको स्वास्थ्यमा जघन्य असार पुर्याउने जिका भाइरस चासोको बिषय हुनु सही हो । क्षयरोगलाई कसैले चासोको बिषय बनाएको छैन तर संसारभर यो जस्तो ज्यानमारा अर्को सरुवा रोग छैन । हामीलाई क्षयरोगको निदान थाहा छ अनि बाल मृत्युदर घटाउन र कुपोषणमा कमी ल्याउन पनि आउँछ, तर हाम्रो ध्यान अरु समस्याहरुमा छ । तसर्थ हामी २०१७ मा अझ राम्रो गर्ने संकल्प गरौं । हामीले गलत बिषयहरुमा तथा समस्या समाधानका असफल प्रयासा समय खेर फाल्न छोड्नु पर्छ । उदाणका लागि जलवायु समस्यासँग जुध्न हामीले हरित उर्जा सस्तो र सुलभ बनाउन तिनको अनुसन्धान र बिकासमा जोड दिनुपर्छ जसले गर्दा तिनीहरु पेट्रोलियम पदार्थका पर्याय बन्न सकुन् । हामीले स्वतन्त्र व्यापार नै गरीबी निवारणका लागि सबभन्दा उपयुक्त नीति हो भनि आवाज बुलन्द पार्न पनि सक्नुपर्छ । साथसाथै के पनि सम्झनुपर्छ भने महत्वपूर्ण सूचकले जीवन विगत भन्दा वर्तमानमा सुन्दर छ भनेर देखाएका छन् । हामीले रोग, अकाल तथा गरीबी विरुद्ध गरेका प्रगतिमा खुशीयाली मनाउनुपर्छ तथा विश्वले सामना गर्नुपरेका वास्तविक समस्याको समाधान गर्न सही र सटिक बिकास पद्दति लगानी गरी अझ अघि लम्कनुपर्छ । (ब्योन लम्बर्ग कोपेनहेगन कन्सेन्सस सेन्टरका निर्देशक तथा कोपेनहेगन बिजिनेस स्कुलका भिजिटिङ प्रोफेसर हुन् ।) अनुवादः एकराज पाठक रासस/प्रोजेक्ट सिन्डिकेट, अन्तरराष्ट्रिय आलेख सेवा

नेपाल बैंक एफपीअाे निष्कासनका लागि बोर्डमा जाने तयारीमा

काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा जाने तयारी गरेको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ मूल्य र १०० प्रतिशत प्रत्याभूतिकर्ता (अण्डरराइटिङ) गराएकाले अब स्वीकृतिका लागि बोर्डमा जान लागेको हो । रेटिङको काम सकिनसाथ एफपीओ निष्कासनका लागि बोर्डमा जाने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले बताए । बोर्डबाट स्वीकृति पाउन साथ एफपीओ निष्कासनको काम थाल्ने उनले जानकारी दिए । १० वटा मर्चेन्ट बैंकरले १०० प्रतिशत एफपीओको अन्डरराइटिङ गर्ने प्रतिवद्धता जनाइसकेका छन् । अण्डरराइटिङको दर लगभग तय भएकाले सर्वसाधारणलाई पनि यही दरमा एफपीओ आउने छ । बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा एफपीओको मूल्य प्रतिकित्ता ३१० निर्धारण गरिएको थियो । तर मर्चेन्ट बैकरले नमानेपछि घटाइएको हो । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।