कृषि विकास बैंकको सञ्चालक समिति बैध कि अबैध ? राष्ट्र बैंक पनि अनिर्णित
काठमाडौं । कृषि विकास बैंकको वर्तमान सञ्चालक समिति बैध कि अबैध ? उसले गरेका निर्णय बैध हुने कि अबैध ? सोमबार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर छलफल भयो । तर राष्ट्र बैंक आफैं पनि निर्णयमा पुग्न सकेन । ‘कृषि विकास बैंकको सञ्चालक समिति सम्बन्धि विवादमा गम्भिर कानुनी गाँठो परेको छ । त्यो विषयमा राष्ट्र बैंक सञ्चालक समितिमा सोमबार छलफल भयो । तर निर्णय भने केही हुन सकेन’ राष्ट्र बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । सञ्चालक समिति बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागू भएको २ वर्ष भईसक्यो । उक्त ऐनले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति बढीमा ७ सदस्यीय हुने किटानी गरेको छ । सोही ऐन अनुसार गत फागुन २९ गते सम्पन्न कृषि विकास बैंकको साधारणसभाले प्रबन्धपत्र र नियमाली संशोधन गरी सञ्चालक समिति ७ जनाको मात्र हुने व्यवस्था गरेको थियो । बाफिया र साधारणसभाको निर्णयका आधारमा अर्थमन्त्रालयले सञ्चालक चन्द्रबहादुर अधिकारीलाई पद मुक्त गर्यो । उनलाई मन्त्रालयले नै सरकारी लगानीको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त गरेको थियो । चन्द्रबहादुर अधिकारी यी सबै विधि, प्रक्रिया र निर्णयपछि पनि कृषि विकास बैंकको सञ्चालक समिति ७ सदस्यीय हुन सकेन । पद मुक्त गरिएका अधिकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । अदालतले उनकै पक्षमा फैसला गर्यो । सञ्चालक समिति ८ सदस्यीय भएको छ । ८ जनाको सञ्चालक समितिको बैठक बस्ने कि नबस्ने भन्ने विवादले कृषि विकास बैंकमा गत चैत र बैशाख दुई महिनामा एउटा पनि बैठक बस्न सकेन । अन्ततः कानुनको व्याख्या गर्ने सर्बोच्च अदालतको निर्णय अनुसार नै ८ जना सञ्चालक समितिको बैठक बस्न थालेको छ । निर्णयमा आठै जना सञ्चालकहरुले हस्ताक्षर गर्दै आएका छन् । ‘बाफियाले ७ जना सञ्चालक हुनुपर्छ भनेको छ । सोही अनुसार साधारणसभाले पनि प्रबन्धपत्र, नियमावली संशोधन गरेर ७ जनाको सञ्चालक समिति बनाएको हो । तर सर्वोच्च अदालतको निर्णयको पनि परिपालना गर्नै पर्यो’ बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले भने–‘राष्ट्र बैंकले स्थलगत अध्ययन गरेको छ । उसले प्रस्टीकरण माग्न सक्छ । हामीले पनि अदालतको आदेश अनुसार जवाफ पेस गर्नुपर्ला ।’ वर्तमान बैंक सञ्चालक समितिले गरेका निर्णय विरुद्ध उजुरबाजुर भयो, बैंक सञ्चालनमा अप्ठ्यारो पर्यो भने के गर्ने ? भन्ने विकासन्युजको प्रश्नमा सिटौलाले भने- ‘हामी त्यस्तो नहोला भन्नेमा आशावादी छौं । कानुनी विवाद भयो भने अदालतले जे निर्णय गर्छ, त्यही हुन्छ ।’ बैंकमा अहिलेको समस्या आगामी सात महिनासम्म रहने भएको छ । सञ्चालक चन्द्रबहादुर अधिकारीको कार्यकाल आगामी मंसिरमा सकिने भएकोले त्यसपछि भने ७ जनाको सञ्चालक समिति रहने बताइएको छ ।
हेटौंडाबाट-काठमाडौं सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा
हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्धारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ बताए । उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौंडाबाट काठमाडौं जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाएका छन् । दिवसका उपलक्ष्यमा हेटौंडास्थित बुद्धचोकबाट मंगलबार बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको थियो । रासस
अब जुवाको कारोबार बैंकबाटै, जिते वा हारे पनि नगद लिनदिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो व्यवसायलाई बैंकिङ कारोबारको दायरामा ल्याएको छ । केन्द्रीय बैंकले क्यासिनो इजाजत कारोबार, रिपोटिङ, खाता सञ्चालन र नगद ट्रान्सफरमा कडाइ गर्दै सम्पुर्ण क्यासिनो कारोबारलाई बैंकिङ प्रणालीको दायरामा ल्याएको हो । नयाँ व्यवस्थाअनुसार क्यासिनोमा जुवा खेल्ने खेलाडीले बाहिरबाट विदेशी मुद्रा ल्याउँदा बैंकिङ प्रणालीबाट र जितेर लैजाँदा पनि बैंकिङमार्फत कारोबार गर्नुपर्ने छ । (नियम हेर्न यसमा क्लिक गर्नुहोस्) बैंकमा खाता खोलेर आफनो रकम जम्मा गरेपछि प्रवेश भएको समय समेत लिएर रसिद काट्नुपर्ने व्यवस्था गरिएको छ । हालसम्म सिधै विदेशी मुद्रा लिने र खेल जित्नेले सिधै नगद विदेश लैजाने गरेकोमा अब क्यासिनोमा हुने हरेक कारोबार बैंकबाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताए । बैंकिङ प्रणालीमार्फत विदेशी मुद्राको कारोबार भएपछि सरकारले सिधै २५ प्रतिशत कर पनि पाउने र कारोबार पारदर्शी हुने उनको भनाई छ । अब राष्ट्र बैंक र कर कार्यालयले कुनै पनि बेला क्यासिनोमा छड्के गर्न सक्ने ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार विदेशबाट जुवा खेल्न सिधै नगद ल्याउन सक्ने, जितेमा वा बाँकी रकम फिर्ता लैजाने र क्यासिनोले डलर अपचलन गरेको पत्ता लागेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट विदेशी मुद्रा ल्याउन र लैजान नयाँ व्यवस्था गरिएको हो । कारोबार नदेखिँदा सरकारले करोडौं रुपैयाँ राजश्व गुमाउँदै आएको छ । अब जित्ने खेलाडीले नियमानुसार कर तिर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार क्यासिनो खेलाडीले ५ हजार डलरसम्म नगदमै लिन सक्ने छन् । क्यासिनोले बैंकसँग सम्झौता गरी प्वाइन्ट अफ सेल (पीओएस) मार्फत विदेशी मुद्रा प्राप्त गर्न सक्ने छन् । क्यासिनो कारोबारबाट प्राप्त विदेशी मुद्रा भोलिपल्टसम्म आफनो बैंक खातामा जम्मा हुनुपर्ने छ । भारतबाट आउने क्यासिनो खेलाडीले भारुमा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । खातामा रकम जम्मा गर्ने र जितेको रकम बैंकमार्फत भुक्तानी गर्नुपर्ने छ । क्यासिनोहरुले भारतीय मुद्रा खातामा १० करोड र परिवत्र्य विदेशी मुद्राको २० लाख डलर मात्र मौज्दात राख्न पाउने छन् । सो भन्दा बढी भएमा नेपाली मुद्रामा रुकमान्तर गर्नुपर्ने र वाजी जितेको रकम सोही मौज्दात रकमबाट पठाउनुपर्छ ।
घलेम्दी हाइड्रो आईपीओ निष्कासन गर्न पुग्यो धितोपत्र बोर्ड, साढे ५ करोडको ल्याउने
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेकाे छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
काम अधूरै छाड्ने २७ ठेकेदार कम्पनीको नाम मन्त्रालयमा
चितवन । जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । निर्माण कम्पनीमध्ये तीन वटाले तीन तीन योजना अधूरो बनाएर छाडेका छन् । तिनमा निर्माण सेवा धादिङ, आजीवन निर्माण सेवा धादिङ र डिभाइन लाइट कन्स्ट्रक्सन भरतपुर छन् । त्यसैगरी पूजा कन्स्ट्रक्सन धादिङ र पृथ्वी निर्माण सेवा धादिङले पनि दुई दुई आयोजना अलपत्र बनाएर छाडेको जिप्रकाले जनाएको छ । काम अधूरो छाड्ने मध्ये चितवनका ११ तथा अन्य धादिङ र काठमाडौँका छन् । अधूरो काम छाड्ने अन्य कम्पनीमा भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन धादिङ, प्यालदोर हिमाल निर्माण सेवा धादिङ, ओएस इञ्जिनीयरिङ निर्माण सेवा, विराज÷शिवशक्ति÷न्यू तीन कन्या जेभी चितवन छन् । त्यसैगरी प्यासिफिक बिल्डर्स सुकेधारा काठमाडौँ, जेएनडी कन्स्ट्रक्सन, दीपश्री इञ्जिनीयरिङ काठमाडौँ, काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँ, आजीवन÷न्यू÷तीनकन्या जेभी, इशान कन्स्ट्रक्सन, त्रिशूली कन्स्ट्रक्सन, शारदा निर्माण सेवा, बरङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स, रुपल सुप्रिम कन्स्ट्रक्सन, सूर्यश्री कन्स्ट्रक्सन, इको इञ्जिनीयरिङ र नेपाल तराई निर्माण तथा डिपट्यूबवेल प्रालि भरतपुर छन् । समयमै काम नगर्ने अन्य निर्माण कम्पनीमा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन भरतपुर, महादेव ड्रिलिङ खैरहनी, भीमज्योति एमआर जेभी भरतपुर, चिता एण्ड सल्लेरी एशोसिएसट भरतपुर र पाल्पा इञ्जिनीयरिङ परासी छन् । प्रजिअ बस्नेतले समयमा काम नगर्ने र काम छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई मन्त्रालयको निर्देशनानुरुप कारवाहीको दायरामा ल्याइने बताए । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले निर्माण व्यवसायीलाई नीतिनियमअनुसार कारवाही गर्न सकिने तर मन्त्रालयले थुन्न नपाउने बताए ।
गणतन्त्र दिवसको दिनमा ८१६ कैदीको कैद सजाय माफी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसरी मनाइयो टुडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक÷एक जोडी परेवा उडाएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए। समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए । झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए । कार्यक्रममा कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्ले नेपालमा उत्पादन हुने कृषि सामग्रीहरु समेटिएको आकर्षक झाँकी प्रस्तुत गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरीय ट्राफिक प्रहरी, महिला प्रहरी, सेना र प्रहरीले ब्याण्ड र कवाज प्रस्तुत गरेका थिए । रासस
एनएमबी बैंकले ३३३ रुपैयाँमा एफपीओ ल्याउने
काठमाडौं । एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासनको प्रस्ताव गरेको छ । यो मूल्यमा एफपीओ ल्याउदा ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ प्राप्त हुनेछ । निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ । ७ वटा मर्चेन्ट बैंकरले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । नागरिक लगानी कोषले प्रस्तावित प्रतिकित्ता ४२५ रुपैयाँमा एफपीओ नकिन्ने भएपछि बैंकले एफपीओको मूल्य घटाएको हो । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेका थियो । चुक्तापूँजी न्युनतम् ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । एनएमबीको पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । एफपीओ निष्कासनपछि १ अर्ब ५४ करोड रुपैयाँ पुँजीमा र बाँकी जगेडा कोषमा राखेर लगानीकर्तालाई बोनस सेयर वितरण हुने छ । बैंकको जगेडा कोष ५ अर्ब रुपैयाँ भन्दा बढी छ । आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ । ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुर्यापछि केन्द्रीय बैंकले एनएमबीको साधारणसभा रोकेको छ ।