काठमाडौं । रेल विभागले चालू आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च गर्ने अधिकार पाएको छ । यो पैसाबाट रेल विभागले चालू आर्थिक वर्षभित्रै ३० किलोमिटर रेलमार्ग बनाउने उद्घोष गरेको छ । रेलमार्ग निर्माणको काम धमाधम अगाडि बढिरहेको छ, चालू आवमा सरकारले विनियोजन गरेको बजेटले आगामी एक वर्षपछि नेपालको आफ्नै ३० किमी रेलमार्ग हुने रेल विभागले जानकारी दिएको छ ।

विभागमार्फत रकम खर्च गर्ने गरी सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ मा रेल विभागको नाममा चार अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट विभागले पूर्व पश्चिम रेलमार्गको पूर्वी खण्डतर्फको ३० किलोमिटर रेलमार्ग पूरा गर्ने भएको विभागका प्रवक्ता प्रकाश उपाध्यायले बताए ।
उनका अनुसार यो रकमबाट विभागले हाल काम सुरु गरिरहेको बर्दिवासबाट लालगढसम्मको ३० किमी रेलमार्ग पूरा गर्ने भएको छ ।
यो मार्ग विभागले गत वर्षबाट नै सिभिल वर्क सुरु गरिएको थियो । हाल यो मार्गमा धमाधम काम भइरहेको पनि उनको बुझाइ छ ।
विभागले यो मार्ग निर्माणलाई पहिलो प्राथमिकताका दिएर काम अगाडि बढाउने भएको छ ।
रेल विभागले दिएको जानकारी अनुसार रेलमार्गमा माटो भर्ने, पुलपुलेसा बनाउने तथा रेलमार्गको लागि बाटो बनाउने काम अघिल्लो वर्षबाट सुरु भैसकेको छ । अब यो वर्ष स्लिपर तथा रेलको लिक बिछ्याउने काम हुने पनि उल्लेख छ ।
यो मार्ग पूरा भएपछि राष्ट्रिय गौरबका आयोजनाको सूचीमा रहेको पूर्वपश्चिम रेलमार्गको एउटा खण्ड तयार हुनेछ । रेल विभागले रेलमार्ग तयार हुँदै गर्दा रेल पनि खरिद गर्नुपर्छ भनेर आफ्नो तालुक निकाय भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालससमक्ष ३ अर्ब रुपैयाँको बजेट पनि माग गरेको छ । उपाध्यायका अनुसार यो बजेटबाट २० डिब्बाको रेल किन्ने प्रस्ताव मन्त्रालयसमक्ष दिएका छौ । मन्त्रालयले कुनै प्रतिकृया दिएको छैन ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले पनि रेल विभागले रेल किन्न बजेट मागेको बताए । उनका अनुसार चालू आवको बजेट भर्खरे खर्च कार्यान्यनमा जान थालिएको छ । यो वर्षको लागि मन्त्रायले बजेट नछुट्याएकोले रकम निकासा हुन सक्ने सम्भावन न्युन छ । सरकारले रुची देखायो भने अर्थ मन्त्रालयमार्फत मन्त्रालयलाई दिइने थप बजेट वा अर्थले सीधै दिने बाहेक अर्को विकल्प हाललाई अन्य नरहेको पनि शर्माको भनाइ छ ।
रेल विभागले भने यो वर्ष रेल मार्ग निर्माण गर्न नयाँ खण्डको डीपीआर बनाउने, सूरु भएका योजनालाई पूरा गर्ने र पूर्व खण्डको दुई र पश्चिमतर्फको चारवटा खण्डको डीपीआर तयार बनाउने कामलाई प्राथमिकता दिइएको छ ।
रेल विभागका अनुसार पूर्व खण्डको बर्दिवासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्म डीपीआरको काम यो वर्ष पूरा हुनेछ । पश्चिम खण्डको बुटवल—लमही, लमही—कोहलपुर, कोहलपुर—सुक्खड, सुक्खड—गड्डाचौकीसम्मको डीपीआर बनाउने काम यही वर्ष पूरा गर्ने लक्ष्य रहेको विभागले जानकारी दिएको छ । त्यसपछिको काम रेलमार्ग निर्माण चरणमा जाने पनि उल्लेख छ ।