'नोभा क्लब काठमाडौंबाहिर खुल्दैन, क्लबिङ् लाइफको सेतु बन्दै'

ठमेलमा ४० करोडको लगानीमा क्लब चम्कदै

काठमाडौं । ठमेलमा नोभा क्लबले आफ्नो व्यावसायिक यात्राको एक वर्ष पूरा गरिसकेको छ । क्लबले मनोरञ्जनसँगै पर्यटन, रोजगारी र आतिथ्यको क्षेत्रमा ठमेलबाट सम्भावना खोजिरहेको छ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले १५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। क्लबमा दैनिक आठ जना डिजेले आफ्नो प्रस्तुति दिन्छन् ।

क्लबका सञ्चालक इश्वर डल्लाकोटीको रात्रिकालीन मनोरञ्जन व्यवसायलाई केवल नाचगान र रमाइलो गर्ने स्थानका रूपमा मात्र नभई पर्यटन उद्योगको महत्त्वपूर्ण हिस्साका रूपमा विकास गर्नुपर्ने बुझाइ छ। 

ठमेलजस्तो अन्तर्राष्ट्रिय पर्यटकको आवागमन हुने क्षेत्रमा स्तरीय क्लब सञ्चालन गर्न सके यसले विदेशी पर्यटकको नेपाल बसाइलाई थप आकर्षक बनाउन सक्ने उनको अपेक्षा छ।

डल्लाकोटीका अनुसार यो व्यवसाय सोचे जति सहज भने छैन। पर्यटकीय क्षेत्रमा क्लब सञ्चालन गर्दा सुरक्षा, राजनीतिक अस्थिरता, पूर्वाधार र सरकारी व्यवस्थापनजस्ता चुनौतीसँग जुध्नुपर्ने अवस्था छ ।

सञ्चालनमा आएको एक वर्ष भइसक्दा क्लबले आवश्यक आम्दानी गरिरहेको उनी बताउँछन् । क्लब नोक्सानमा नरहेको र निरन्तर सञ्चालनमै रहेको उनले उल्लेख गरे । 

चुनौतीका बीच क्लब अगाडि बढ्दै

'ठमेल क्षेत्रमा सडक तथा यातायात व्यवस्थापन र सुरक्षा मुख्य चुनौती हुन्। रात्रिकालीन व्यवसाय फस्टाउन ग्राहकले मनोरञ्जन मात्र होइन, सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण पनि पाउनुपर्छ। त्यसका लागि व्यवसायीको प्रयाससँगै राज्यको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,' उनले भने ।

नोभा क्लबको योजना काठमाडौंमा व्यवसाय सञ्चालन गरेर नाफा कमाउनेमा मात्र सीमित छैन। यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनिने मनोरञ्जन ब्रान्डका रूपमा स्थापित गर्ने र क्लबले दीर्घकालीन सोच राखेको छ।

यसका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको साउन्ड सिस्टम, अत्याधुनिक लाइटिङ, सुरक्षा व्यवस्था र स्तरीय आतिथ्य सत्कारलाई प्राथमिकतामा राख्नुपर्ने डल्लाकोटीको धारणा छ।

त्यस्तै, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डिजे, संगीतकार तथा कलाकारलाई नेपालमा आमन्त्रण गरेर नियमित कार्यक्रम आयोजना गर्न सके नेपाली मनोरञ्जन बजारले विश्वको ध्यान आकर्षित गर्न सक्ने उनी बताउँछन् ।

विदेशी पर्यटकको आगमन बढाउनुका साथै नेपाललाई रात्रिकालीन मनोरञ्जनको गन्तव्यका रूपमा चिनाउन मद्दत पुग्ने उनको अपेक्षा छ। डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

विश्वका चर्चित ट्राभल ब्लगर, सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) तथा अन्तर्राष्ट्रिय मनोरञ्जनसम्बन्धी सञ्चारमाध्यमसँग सहकार्य गरेर नोभा क्लबको ब्रान्डिङ गर्ने योजना रहेको डल्लाकोटीले उल्लेख गरे ।

क्लबहरूले अपनाउँदै आएका प्रविधि, व्यवस्थापन र ग्राहक सेवाका अभ्यासलाई नेपालमा भित्र्याउन सके यहाँको मनोरञ्जन व्यवसायले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सक्ने डल्लाकोटीको सोचाइ छ।

नाइटलाइफ पर्यटनमा नेपालको सम्भावना

नेपालको पर्यटन भन्नासाथ सामान्यतः हिमाल, पदयात्रा, धार्मिक स्थल र प्राकृतिक सौन्दर्यलाई प्राथमिकतामा राखिन्छ। तर, पछिल्लो समय पर्यटकको रुचि र अपेक्षा विविध हुँदै गएको छ। 

दिनमा घुम्ने र रातमा मनोरञ्जन गर्ने पर्यटकका लागि सुरक्षित तथा व्यवस्थित ठमेल बनाउनु पर्ने उनले बताए । ठमेलका लागि रात्रिकालीन पर्यटन पनि महत्त्वपूर्ण आकर्षण बनिरहेको उनको भनाइ छ ।

'ठमेल, दरबारमार्ग र पोखराजस्ता पर्यटकीय क्षेत्रमा रात्रिकालीन मनोरञ्जनलाई व्यवस्थित गर्न सके पर्यटनको आर्थिक गतिविधि थप विस्तार हुन सक्छ,' डल्लाकोटी भन्छन् ,' क्लब व्यवसायीले मात्र प्रयास गरेर पुग्दैन। पर्यटन बोर्ड, स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित सरकारी संस्थाबीच सहकार्य आवश्यक हुन्छ।'

रात्रिकालीन पर्यटनलाई व्यवस्थित गर्ने नीति, स्पष्ट मापदण्ड र प्रभावकारी सुरक्षा व्यवस्था निर्माण गर्नुपर्ने उनले बताए । डल्लाकोटी आधुनिक मनोरञ्जनसँगै नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई पनि जोड्न सकिने बताउँछन् ।

क्लबदेखि बाहिर खानपानलाई आधुनिक संगीत तथा मनोरञ्जनसँग समिश्रण गरेर विदेशी पर्यटकलाई फरक अनुभव दिन सकिने उनको भनाइ छ ।

पर्यटन अर्थतन्त्रमा थप योगदान

४० करोड रुपैयाँको लगानीमा स्थापना भएको नोभा क्लबले प्रत्यक्ष रूपमा १५० जनालाई रोजगारी दिएको छ। यो एउटा क्लबको रोजगारी सिर्जनाको तथ्यांक मात्र होइन, मनोरञ्जन तथा आतिथ्य व्यवसाय रहेको उनको भनाइ छ ।

'व्यवसाय सञ्चालनका लागि बारटेन्डर, वेटर, सेफ, साउन्ड तथा लाइट इन्जिनियर, सुरक्षाकर्मी र इभेन्ट म्यानेजरजस्ता दक्ष जनशक्ति आवश्यक पर्छन्। यसले युवालाई रोजगारी दिनुका साथै व्यावसायिक सीप विकासको अवसर पनि प्रदान गर्छ,' उनले भने ।

क्लबमा आउने आन्तरिक तथा विदेशी पाहुनाका कारण ट्याक्सी चालक, होटल, रेस्टुरेन्ट, खाद्य सामग्री आपूर्तिकर्ता र सुरक्षा सेवा प्रदायकजस्ता व्यवसायीले लाभ उठाइरहेका उनले बताए । नोभा क्लबले शाखा खोल्ने योजना नराखेको डल्लाकोटीले बताए ।

'हामी ठमेलमा भएको नोभा क्लबलाई व्यवस्थित तरिकाले राम्रोसँग सञ्चालन गर्न तयारीमा छौ,’ उनले अगाडि थपे,’ तत्कालै काठमाडौंदेखि बाहिर जाने कुनै योजना छैन ।'

'नोभा क्लबको ब्रान्ड विश्वसनीयता, सेवा गुणस्तर, आर्थिक व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारको माग बुझ्न आवश्यक रहेको उनी ठान्छन् । एउटा क्लब सफल हुनु र त्यसलाई विभिन्न ठाउँमा खोल्नु फरक हो । पहिलो कुरा आफ्नो ठाउँमा सञ्चालन गरेको व्यवसायलाई राम्रोसँग चलाउने हो,' उनी भन्छन् । 

Share News