४.५७ अर्बमा टाफा स्क्वायर बन्दै, प्रतिवर्गफिट २९ हजारमा अपार्टमेन्ट बिक्री

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ४ अर्ब ५७ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको आवासीय अपार्टमेन्ट परियोजना ‘टाफा स्क्वायर’ विभिन्न चुनौतीबीच अघि बढिरहेको छ । अर्बन प्रपर्टी डेभलपर्स प्राइभेट लिमिटेडले विकास गरिरहेको उक्त परियोजना निर्माणको प्रारम्भिक चरणमै रहे पनि यसको डिजाइन, लागत र वित्तीय संरचनामा पटकपटक परिवर्तन भइसकेको छ ।

यसअघि ‘कुमारीपाटी स्क्वायर’ नामबाट अघि बढाइएको परियोजनाको नाम परिवर्तन गरी ‘टाफा स्क्वायर’ राखिएको हो । सन् २०२१ मा स्थापना भएको कम्पनीले सुरुमा आवासीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि दुईवटा भवन निर्माण गर्ने योजना बनाएको थियो । तर, पुरानो संरचनाअनुसार जग्गाधनी प्रमाणपुर्जा जारी गर्न देखिएको नियामकीय अवरोधका कारण परियोजनाको स्वरूप परिवर्तन गरिएको जनाएको छ । 

संशोधित योजनाअनुसार अब एउटै भवनमा आवासीय अपार्टमेन्ट निर्माण गरिनेछ । परियोजनाको कुल बिक्रीयोग्य क्षेत्रफल २ लाख १३ हजार ३६४ वर्गफिट रहनेछ । यसअघि आवासीय तथा व्यावसायिक प्रयोजनका लागि बिक्रीयोग्य र भाडामा दिन सकिने क्षेत्रफल गरी २ लाख १९ हजार ५८० वर्गफिट प्रस्ताव गरिएको थियो ।

परियोजनामा अपार्टमेन्टको संख्या पनि बढाइएको छ । यसअघि ६० वटा अपार्टमेन्ट निर्माण गर्ने योजना रहेकोमा अहिले संख्या बढाएर ११८ पुर्याइएको छ । करिब ९.२६ रोपनी जग्गामा निर्माण हुने परियोजनाको कुल क्षेत्रफलमध्ये करिब ६२ प्रतिशत खुला रहने प्रस्ताव गरिएको छ । कम्पनीले यसै विशेषता र कुमारीपाटीको केन्द्रीय अवस्थिति आधारमा प्रतिवर्गफिट करिब २९ हजार रुपैयाँमा अपार्टमेन्ट बिक्री गर्ने लक्ष्य राखेको छ ।

तर, परियोजनाको संशोधित डिजाइनले आवश्यक स्वीकृति पाउन बाँकी छ । हालसम्म जग्गा अधिग्रहण र आंशिक पाइलिङको काम मात्र सम्पन्न भएको छ । पटकपटकको डिजाइन परिवर्तन र स्वीकृति प्रक्रियामा भएको ढिलाइले निर्माणको गति प्रभावित भएको छ । यसले निर्धारित समयभन्दा ढिलो निर्माण सम्पन्न हुने र लागत थप बढ्ने जोखिमसमेत सिर्जना गरेको छ । कम्पनीले सन् २०२९ को अन्त्यसम्म परियोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

लागत बढ्यो, लगानी जुटाउने चुनौती

परियोजनाको संशोधित लागत करिब ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । डिजाइन परिवर्तनका कारण यसअघिको अनुमानित लागतभन्दा करिब ५ प्रतिशतले वृद्धि भएको हो । परियोजनाका लागि आवश्यक रकममध्ये करिब ६५ प्रतिशत ऋण, १८ प्रतिशत प्रवद्र्धकको स्वपुँजी र १७ प्रतिशत ग्राहकबाट प्राप्त हुने अग्रिम रकममार्फत जुटाउने योजना छ । यसअघि ऋण, स्वपुँजी र ग्राहकको अग्रिम रकमको अनुपात क्रमशः ६७, ३० र ३ प्रतिशत रहने प्रस्ताव गरिएको थियो ।

परियोजनाका लागि आवश्यक २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ ऋणको व्यवस्था भने पूर्ण रूपमा भइसकेको छ । तर, प्रवद्र्धकहरूले प्रतिबद्धता जनाएको स्वपुँजीमध्ये करिब ३८ प्रतिशत रकम अझै लगानी गर्न बाँकी छ । त्यसैगरी, अपार्टमेन्टको औपचारिक बुकिङ सुरु नभएकाले ग्राहकबाट प्राप्त हुने अग्रिम रकम पनि आउन बाँकी नै छ । 

कम्पनीले ऋणको साँवा भुक्तानी सुरु गर्न तीन वर्षको स्थगन सुविधा पाए पनि निर्माण अवधिमा लाग्ने ब्याज भने नियमित रूपमा भुक्तानी गर्नुपर्नेछ । यस्तो ब्याज खर्चसमेत प्रवद्र्धकको स्वपुँजीबाट व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । हालसम्म अपार्टमेन्टको औपचारिक बुकिङ सुरु नभएकाले ग्राहकबाट प्राप्त हुने अग्रिम रकम तत्काल जुट्ने अवस्था छैन ।

कम्पनीले ऋणको साँवा भुक्तानी आर्थिक वर्ष २०३० देखि सुरु गर्नुपर्नेछ । त्यसैले परियोजना निर्माण सम्पन्न गर्ने, अपार्टमेन्ट बिक्री गर्ने र बिक्रीबाट प्राप्त रकममार्फत ऋणको भार घटाउने कार्य कम्पनीका लागि महत्त्वपूर्ण हुनेछ ।

घरजग्गा बजारको सुस्तताले बिक्री प्रभावित हुन सक्ने

टाफा स्क्वायरले सामना गर्नुपर्ने अर्को चुनौती घरजग्गा बजारको अवस्था हो । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा घरजग्गाको मूल्यमा उल्लेखनीय वृद्धि हुन नसक्नुले नयाँ आवासीय परियोजनाको बिक्रीमा दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

कम्पनीले प्रतिवर्गफिट करिब २९ हजार रुपैयाँको प्रिमियम मूल्यमा अपार्टमेन्ट बिक्री गर्ने लक्ष्य राखेको छ । तर, बुकिङ तथा बिक्री सुरु हुनुअघि घरजग्गाको मूल्यमा गिरावट आएमा कम्पनीले अपेक्षित मूल्य प्राप्त गर्न कठिन हुन सक्छ । यसले परियोजनाको आम्दानी, नाफा र नगद प्रवाहमा असर पार्न सक्ने जोखिम छ ।

यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले आवासीय कर्जामा लागू गर्ने कर्जा तथा धितो मूल्य अनुपात र जोखिम भारसम्बन्धी व्यवस्थामा गर्ने परिवर्तनले पनि अपार्टमेन्ट खरिदकर्ताको ऋण प्राप्त गर्ने क्षमतामा प्रभाव पार्न सक्छ । आवासीय कर्जा महँगो हुनु वा सहज रूपमा उपलब्ध नहुनुले बजारको माग घटाउन सक्नेछ ।

परियोजनामा हालसम्म ११८ वटा प्रस्तावित अपार्टमेन्टमध्ये दुईवटाको मात्र बुकिङ भएको छ । ती दुवै अपार्टमेन्ट प्रवद्र्धकसँग आबद्ध पक्षबाट बुकिङ गरिएका हुन् । औपचारिक बुकिङ सुरु नभएको र बाह्य ग्राहकबाट माग पुष्टि हुन बाँकी रहेकाले लक्षित मूल्यमा पर्याप्त अपार्टमेन्ट बिक्री गर्नुपर्ने चुनौती कम्पनीसामु छ ।

त्यसैगरी, आगामी दिनमा काठमाडौं उपत्यकामा थप अपार्टमेन्ट परियोजनाहरू सञ्चालनमा आएमा प्रतिस्पर्धा बढ्न सक्छ । यसले बिक्री मूल्य र बजार हिस्सा कायम राख्न कम्पनीलाई थप दबाब दिन सक्नेछ । एउटै परियोजनामा निर्भर रहेकाले कम्पनीमा परियोजना केन्द्रित जोखिमसमेत उच्च रहेको छ ।

सन् २०२६ अक्टोबर मसान्तसम्म कम्पनीका प्रमुख सेयरधनीमध्ये कुमारी होल्डिङ्स प्राइभेट लिमिटेडको ३५ प्रतिशत, प्रदीपकुमार श्रेष्ठको २० प्रतिशत र दीपककुमार मल्होत्राको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी, ललितपुरको प्रमुख आवासीय तथा व्यावसायिक केन्द्र कुमारीपाटीमा परियोजना निर्माण हुनु यसको अर्को सकारात्मक पक्ष हो । उच्च जनघनत्व र काठमाडौं उपत्यकाकेन्द्रित अर्थतन्त्रका कारण उक्त क्षेत्रमा आवासीय अपार्टमेन्टको माग कायम रहने अपेक्षा कम्पनीले गरेको छ ।

Share News