गाजामा इजरायलको फेरि हवाई आक्रमण, हमासका वरिष्ठ नेता र पत्नीको मृत्यु

फाइल तस्बिर ।

काठमाडौं । इजरायलले गाजाको देर अल–बलाहस्थित एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा हमासका पूर्वउपशिक्षामन्त्री खालिद अबुन्दाह र उनकी पत्नीको मृत्यु भएको बीबीसी फारसीले जनाएको छ ।

बीबीसी फारसीले प्यालेस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै आक्रमणमा अबुन्दाह र उनकी पत्नीको मृत्यु भएको जनाएको हो ।

इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै हमासका एक वरिष्ठ सदस्यलाई लक्षित गरी कारबाही गरिएको बताएको छ । सेनाले आक्रमणबारे विस्तृत जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ ।

यता गाजाका अधिकारीहरूका अनुसार पछिल्ला केही घण्टामा इजरायलले गरेका तीनवटा छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमासको नागरिक सुरक्षा संगठनका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार उद्धारकर्ता र स्वास्थ्यकर्मीले मृतक आठै जनाको शव अल–अक्सा र गाजाको सिफा अस्पताल पुर्याएका छन् ।

Share News