अटो बजारमा जम्दै ५ युवा उद्यमी

पारिवारिक विरासतलाई दिँदैछन् नयाँ उचाइँ

काठमाडौं । पारिवारिक व्यवसायमा नयाँ पुस्ताको प्रवेश नेपाली व्यावसायिक क्षेत्रमा नौलो विषय होइन । तर, पारिवारिक विरासतलाई निरन्तरता दिँदै त्यसमा आफ्नै नवीनतम सोच, योजना र नेतृत्व क्षमता स्थापित गर्नु भने चुनौतीपूर्ण काम हो । अटो क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका युवा व्यवसायीहरूको सक्रियता र नेतृत्व बढ्दै गएको छ । स्पेयर पार्ट्स, सवारी बिक्री र अटो मेकानिक्सजस्ता विभिन्न क्षेत्रमार्फत युवा अटो व्यवसायीहरूले बजारलाई आधुनिक र विस्तारित बनाइरहेका छन् ।

ठूला अटोमोबाइल ब्रान्ड र डिलरसिप नेपालमा विद्युतीय सवारी र अन्य आधुनिक गाडीहरूको बजार विस्तारसँगै अटोमोबाइल कम्पनीहरूको व्यवस्थापन र सञ्चालनमा पनि युवा उद्यमीहरूको संलग्नता बढेको हो । आज हामीले नेपालको अटो क्षेत्रमा उदाएका ५ युवा अटो व्यवसायीहरूको बारेमा चर्चा गर्ने जमर्को गरेका छाैं ।

निसान ढकाल

निसान ढकाल अशोक लेल्यान्डका सवारीसाधनको आधिकारिक बिक्रेता आईएमई मोर्टसका कार्यकारी निर्देशक हुन् । विशेषगरी नेपालको कर्मसियल गाडीको व्यावसायिक क्षेत्रमा उनी सक्रिय छन् ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् ।

उनले बेलायतको लण्डनस्थित युनिभर्सिटी अफ वेस्ट मिनिस्टरबाट अन्डर ग्राजुएट तथा अमेरिकाको क्यालिफोर्नियास्थित हल्ट बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् भने पछिल्लो समयमा नेपालमै द ब्रिटिश कलेजबाट एमबीए समेत गरेका छन् । 

null

निसान ढकाल ।

आईएमई मोटर्सले नेपालमा विभिन्न व्यावसायिक सवारीसाधन तथा हेभी इक्विपमेन्टको कारोबार गर्दै आइरहेको छ । जसमा अशोक लेल्यान्डका सवारीसाधन, एस्कर्ट्स ब्रान्डका हेभी इक्विपमेन्ट, ब्याकहो लोडर, क्रेन तथा कम्प्याक्टर तथा बिक्रीपछिको सेवा तथा बजार विस्तार गरिरहेका छन् ।

निसान आईएमई ग्रुप अन्तर्गतकै भेन्चर हायर पर्चेज लिमिटेड र जीएमई सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा समेत डाइरेक्टर छन् ।  सन् २०२० देखि आईएमई मोटर्सको निर्देशकका रूपमा सक्रिय ढकालले देशभरका शाखाहरूमार्फत कमर्सियल गाडी (ट्रक, बस, टिपर) तथा विद्युतीय सवारी साधनको बजार विस्तारमा समेत जोड दिइरहेका छन् ।

उनी यसअघि नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाको कार्यसमिति सदस्यका रूपमा समेत रहेर काम गरिसकेका छन् । उनले अटोमोबाइल नीति र ईभी प्रवद्र्धनका विषयमा सक्रिय आवाज उठाउँदै आएका छन् । उनको अटोमोबाइल क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा समेत कार्य गर्ने योजना छ ।

आईएमई ग्रुपको महत्त्वपूर्ण खम्बाको रूपमा परिचित भएर अगाडि बढ्ने उनको लक्ष्य छ । निसान बुवाको नामबाट मात्र चिनिन चाहँदैनन् । उनी आफ्नै मेहनतबाट चिनिन चाहन्छन् । जसका लागि निकै मिहिनेतका साथ काम गरिरहेका छन् । 

आईएमई समूहले आफू प्रवेश गरेको प्रत्येक व्यावसायिक क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने लक्ष्य राखेको र सोही रणनीतिअनुसार अटोमोबाइल व्यवसायलाई पनि अघि बढाइएको निसान बताउँछन् ।

उनका अनुसार आईएमई समूहका लागि अटोमोबाइल व्यवसाय तुलनात्मक रूपमा नयाँ क्षेत्र हो । समूहका अन्य व्यवसायको तुलनामा अटोमोबाइल डिभिजन केही पछि स्थापना भएको हो ।

आईएमई मोटर्सले नेपाली बजारमा कमर्सियल भेहिकलको बजार विस्तारसँगै ईभीको क्षेत्रमा पनि उपस्थिति विस्तार गर्ने तयारी गरिरहेको ढकाल बताउँछन् । 

उनका अनुसार कम्पनीले अहिले आफ्नो उत्पादनको लाइनअप विस्तार गरिरहेको छ । विशेषगरी ट्रक सेग्मेन्टमा कम्पनीको प्राथमिकता रहेको छ । नेपालमा कमर्सियल भेहिकलको बजारलाई ध्यानमा राख्दै कम्पनीले ट्रकसहित विभिन्न सेग्मेन्टका सवारीसाधनमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेको छ ।

कम्पनीले अशोक लेल्यान्डका विद्युतीय सवारीसाधन नेपाली बजारमा ल्याउने तयारीसमेत गरिरहेको छ । यद्यपि, ती सवारीसाधन तत्कालै बजारमा उपलब्ध हुने अवस्था भने बनिसकेको छैन । अशोक लेल्यान्डको मुख्य कम्पनीले उत्पादनको परीक्षण सफलतापूर्वक सम्पन्न गरेपछि मात्रै नेपालमा ईभी भित्र्याउने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

यसका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ । परीक्षण र प्राविधिक तयारी पूरा भएपछि मात्रै विद्युतीय कमर्सियल भेहिकल बजारमा ल्याउने योजना रहेको उनी बताउँछन् । कमर्सियल भेहिकलतर्फ देशभर १४ वटा आफ्नै शाखा सञ्चालनमा छन् भने थप दुईदेखि तीनवटा डिलरमार्फत पनि सेवा प्रदान हुँदै आएको छ ।

त्यस्तै, बीएस सिक्स मापदण्ड लागू भएपछि पनि कम्पनीका सवारीसाधनको स्पेयर पार्ट्स तथा सर्भिसिङ सेवामा समस्या नरहेको उनको दाबी छ । भारतबाट आवश्यक स्पेयर पार्ट्स नियमित रूपमा उपलब्ध भइरहेकाले बिक्रीपछिको सेवा व्यवस्थापन सहज रहेको उनको भनाइ छ ।

नेपाली अटोमोबाइल बजार विद्युतीय सवारीसाधनप्रतिको आकर्षण हुँदै गएको र अब ईभीमै केन्द्रित हुनुपर्ने उनी बताउँछन् । चन्द्रप्रसादले लामो समय लगाएर आईएमई ग्रुपलाई विभिन्न क्षेत्रमा विस्तार गरेका छन् । निसानले यही व्यावसायिक संरचनाभित्र रहेर अटोमोबाइल व्यवसायमा आफ्नो भूमिका विस्तार गर्दै आएका छन् ।

अभिमन्यु गोल्छा

अभिमन्यु गोल्छाले नेपालमा बजाज ब्रान्डको व्यावसायिक नेतृत्व गरिरहेका छन् । उनी पुरानो औद्योगिक तथा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका सदस्य हुन् भने नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक तथा गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक हुन् । उनले बजाजको समग्र बजार विस्तार तथा नयाँ मोडेलहरू भित्र्याउने काम गरिरहेका छन् ।

गोल्छा ग्रुप विभिन्न व्यावसायिक क्षेत्र सक्रिय छ । जसमा अटोमोबाइल, टायर, औद्योगिक उत्पादन, व्यापार तथा अन्य लगानीका क्षेत्र समेटिएका छन् ।

null

अभिमन्यु गोल्छा ।

उनको व्यावसायिक गतिविधिमा विशेषगरी बजाजका दुईपाङ्ग्रे सवारीसाधनको व्यवसाय, युरोग्रिप टायरको बजार विस्तार, वितरण प्रणाली र डिलर नेटवर्कको विकास, व्यावसायिक साझेदारसँगको सम्बन्ध विस्तार तथा आधुनिक व्यवस्थापन र बजार रणनीति केन्द्रित छ । 

उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगपति शेखर गोल्छाका छोरा हुन् । उनले अमेरिकामा इन्जिनियरिङ अध्ययन गरेर नेपाल फर्किएपछि सन् २०१७ देखि गोल्छा ग्रुपमा काम सुरु गरेका हुन् । उनी युवा उद्यमशीलता प्रवर्द्धनमा समेत सक्रिय छन् ।

अभिमन्युको शैक्षिक पृष्ठभूमि विज्ञान, गणित र इन्जिनियरिङसँग जोडिएको छ । उनले अमेरिकाको रोज–हल्म्यान इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेका छन् । अमेरिकामा अध्ययन सकेपछि उनी त्यहीँ करिअर बनाउने सोचमा थिए । तर पछि पारिवारिक व्यवसायको जिम्मेवारी र नेपालमै केही नयाँ गर्ने सोचले उनलाई स्वदेश फर्काएको थियो ।

सुरुमा उनलाई व्यावसायिक सवारीसाधन, विशेषगरी बजाजका तीनपाङ्ग्रे सवारीसाधनको व्यवसाय हेर्ने जिम्मेवारी दिइएको थियो । त्यतिबेला नेपालमा तीनपाङ्ग्रे व्यावसायिक सवारीसाधनको बजार त्यति परिचित थिएन । उनले यसको बजार विस्तारका लागि पूर्वको काँकडभिट्टादेखि पश्चिमको महेन्द्रनगरसम्म तीनपाङ्ग्रे सवारीसाधनको प्रवर्द्धनात्मक यात्रा सञ्चालन गरेका थिए ।

उक्त अभियानमा उनी आफैंले पनि लामो दूरीसम्म सवारी चलाएका थिए । अभियानको उद्देश्य तीनपाङ्ग्रे सवारीसाधनमार्फत स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनु थियो । उनको व्यावसायिक यात्राको सुरुवाती चरणको यो अनुभवले उनलाई बजार, ग्राहक र वितरण प्रणाली बुझ्न सहयोग गरेका बताउँछन् ।

उनले युरोग्रिप टायरको नेपाली बजार विस्तारमा पनि भूमिका खेलेका छन् । उनले डिलरलाई केवल बिक्रीको माध्यम नभई व्यावसायिक साझेदारका रूपमा व्यवहार गर्ने रणनीतिमा जोड दिएका छन् । उनी सन् २०२४ मा नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको अध्यक्ष निर्वाचित भएका थिए । उनको नेतृत्वमा मञ्चले युवा उद्यमीलाई प्रोत्साहन गर्ने, स्टार्टअपलाई अवसर उपलब्ध गराउने र व्यवसायमा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरेको थियो । 

उनी पारिवारिक व्यवसायमा प्रवेश गर्दा आफूलाई पनि आफ्नो छुट्टै व्यावसायिक पहिचान स्थापित गर्नुपर्ने चुनौती रहेको बताउँछन् । उनका अनुसार पारिवारिक नामकै कारण जिम्मेवारी पाउनु र आफ्नो कामबाट व्यवसायमा मूल्य थप्नु फरक कुरा हुन् । त्यसैले उनले कामबाट आफ्नो क्षमता प्रमाणित गर्ने प्रयास गरेको उनको भनाइ छ । 

अहिले कम्पनी बजाज र केटीएम ब्राण्डका सवारी साधनहरू बिक्री गरिरहेको छ । कम्पनीले बजाजका पल्सर सिरिज एनएस २००, एन १६०, एन १५०, २२० एफ १२५, डोमिनार, एभेन्जर, प्लाटिना, डिस्कभर तथा विद्युतीय स्कुटर चेतक पर्दछन् । कम्पनीले अस्ट्रियन प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमका ड्युक र एड्भेन्चर सिरिजका मोटरसाइकलहरू पनि आधिकारिक डिलरका रूपमा बिक्री गरिरहेको छ । 

यसैगरी, तीनपाङ्ग्रे सवारी साधनमा यात्रुवाहक र ढुवानी प्रयोजनका लागि प्रयोग हुने बजाजका तीनपाङ्ग्रे अटो रिक्सालाई कम्पनीले बजाज अटो–नेपाल नेटवर्क मार्फत देशभर बिक्री तथा मर्मत सेवा उपलब्ध गराउँदै आएको छ । गोल्छा परिवारको औद्योगिक यात्राको सुरुवात रामलाल गोल्छाले सन् १९३१ मा विराटनगरमा हनुमान इन्डस्ट्रिज स्थापना गरेपछि भएको थियो । त्यसपछि परिवारले जुट, स्टिल, खाद्यान्न, चिनी, अटोमोबाइललगायतका क्षेत्रमा व्यवसाय विस्तार गरेको थियो । 

सूर्यांश वैद्य

सूर्यांश वैद्य पनि युवा अटो व्यवसायी हुन् । उनी नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् भने सो ग्रुपका निर्देशक रूमा काम गरिरहेका छन् । ग्रुप अन्तर्गतकै वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनले विशेषगरी एथरका दुईपांग्रे सवारीसाधनको व्यवसाय हेरिरहेका छन् ।

नेपालका लागि वैद्य इनर्जी दुईपांग्रे ईभी एथरको आधिकारिक बिक्रेता हो । वैद्य इनजीले एथरको आयात, बिक्री र बिक्रीपछिको सेवामा काम गरिरहेको छ । उनी वैद्य परिवारको व्यवसायिक विरासतलाई निरन्तरता दिँदै अटोमोबाइल, विद्युतीय सवारी, मोबिलिटी सेवा र नयाँ व्यवसायमा काम गरिरहेका छन् । यसमार्फत नेपालमा विद्युतीय मोबिलिटी र विशेषगरी इलेक्ट्रिक स्कुटर व्यवसायमा काम गरिरहेका छन् ।

null

सूर्यांश वैद्य ।

उनी पिटस्टपका पनि संस्थापक हुन् भने नेपाल  टोयटा गाडीको बजारमा पनि उनी सक्रिय छन् । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उच्च कद भएका उद्यमी सुरज वैद्य बुवा र पूर्व मिस इण्डिया तथा नाइमाकी अध्यक्ष रितुसिंह वैद्य उनकी आमा हुन् । नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड टेडर्स सिण्डिकेटले नेपालमा टोयोटा ब्राण्डका विभिन्न मोडलहरु बिक्री गर्दै आइरहेको छ । गाडीको मर्मत, सर्भिसिङ र ग्राहकलाई व्यवस्थित मोबिलिटी सेवा दिने अवधारणामा यो व्यवसाय अघि बढाइएको सूर्यांश बताउँछन् ।

नेपालमा परम्परागत गाडीको बजारसँगै नयाँ प्रविधि र इलेक्ट्रिक मोबिलिटीलाई विस्तार गर्ने सोचमा काम गरिरहेका उनी बताउँछन् । एथरका उत्पादन केही महँगो भएपनि गुणस्तरीय भएको नेपाली बजारमा उपभोक्ताले रुचाईरहेको उनको भनाइ छ । 

उनका अनुसार विश्व प्रशिद्ध ब्राण्ड टोयोटाको आयात, बिक्री वितरण र मर्मतसम्भारमा वैद्य अर्गानाईजेशनको संस्थागत अनुभव निकै लामो छ । त्यो अनुभव एथरमा पनि लागू गर्ने वैद्य इनर्जीको प्रयास छ । नेपाललाई ईभीमार्फत् इको सिस्टम बनाउनेतर्फ काम गरिरहेका उनको भनाइ छ । एथर ईभीमा सर्वसाधारणको आकर्षण पनि बढिरहेको उनी बताउँछन् । उनका अनुसार पैसा हुँदैमा व्यवसाय गर्न सकिँदैन । राज्यका नीति नियमको पालना गर्दै, बजारमा प्रतिस्पर्धा गर्दै उपभोक्ताको मन जित्नु सजिलो काम छैन । सूर्यांशले नेपालभन्दा बाहिर काम सजिलो रहेको तर आफूलाई भने स्वदेशमै व्यवसाय गर्न मन रहेको उनको भनाइ छ । 

जय गोल्छा

जय गोल्छा नेपालको औद्योगिक तथा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनको पाँचौं पुस्ताका युवा व्यवसायी हुन् । उनी गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सका प्रबन्ध निर्देशकका रुपमा छन् भने नेपाली अटोमोबाइल क्षेत्रमा सक्रिय छन् । विशेषगरी विद्युतीय सवारीसाधन (ईभी ) को बजार विस्तारमा जुटिरहेका छन् । नेपाली बजारमा लिपमोटर, सिट्रोन र प्युजोजस्ता ब्रान्डको व्यवसाय विस्तारमा उनी संलग्न छन् ।

जय नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य हेमन्त गोल्छाका छोरा हुन् । उनले अमेरिकामा इन्डस्ट्रियल इन्जिनियरिङ (औद्योगिक इन्जिनियरिङ) अध्ययन गरिसकेका छन् । 

अमेरिकामा अध्ययनका क्रममा उनले विभिन्न कम्पनीमा इन्टर्नसिपसमेत गरेका थिए । अध्ययन पूरा गरेपछि अमेरिकामै रोजगारीको अवसर भए पनि उनले नेपाल फर्किएर पारिवारिक व्यवसायमा काम गर्ने निर्णय गरे । कोभिड महामारी सुरु हुनुअघि नै उनी नेपाल फर्किएका थिए । नेपाल आएपछि बुबा हेमन्त गोल्छासँगै व्यवसाय बुझ्न र काम गर्न थालेका हुन् । 

null

जय गाेल्छा ।

सांग्रिला मोर्टसले नेपालमा लिपमोटर चीनको विद्युतीय सवारीसाधन उत्पादक कम्पनीका विभिन्न गाडीहरू बिक्री गर्दै आइरहेको छ । यसैगरी, सिट्रोन फ्रान्सेली अटोमोबाइल ब्रान्ड तथा फ्रान्सेली सवारीसाधन प्यूजो नेपालमा विक्री गर्दै आइरहेको छ । विशेषगरी विद्युतीय गाडीको बढ्दो बजारलाई उनले व्यावसायिक अवसरका रूपमा लिएका छन् । जयको व्यावसायिक यात्राको एउटा रोचक पक्ष उनी निर्देशक भएर पनि दैनिक व्यवसायमा प्रत्यक्ष संलग्न हुनु हो । 

उनले आफूले मार्केटिङ तथा डिजिटल मार्केटिङ, गाडीको बिक्री र बजार विस्तार ग्राहकसँग प्रत्यक्ष संवाद, नयाँ मोडलको बजार प्रतिक्रिया बुझ्ने तथा विद्युतीय गाडीको प्रविधि र ग्राहकको आवश्यकताको अध्ययनलगायत काममा प्रत्यक्ष ध्यान दिइरहेको बताउँछन् । उनका अनुसार गाडी आयात गरेर शोरुममा राख्नु मात्रै पर्याप्त हुँदैन, ग्राहकले त्यसलाई स्वीकार गर्नुपर्छ ।

उनी पुरानो पारिवारिक व्यावसायिक विरासतलाई आधुनिक प्रविधि, डिजिटल मार्केटिङ र नयाँ पुस्ताको सोचसँग जोड्ने प्रयासमा छन् । उनले नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डलाई नेपाली बजारमा स्थापित गर्ने, अटोमोबाइल व्यवसायमा प्रविधिको प्रयोग, डिजिटल मार्केटिङ र ग्राहककेन्द्रित बिक्री प्रणाली तथा पारिवारिक व्यवसायलाई आधुनिक व्यवस्थापन प्रणालीमा लैजानेमा जोड दिइरहेका छन् ।

सौरभ थापा

अर्का अटो युवा व्यवसायी हुन् सौरभ थापा । उनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा अटो व्यवसायी ध्रुवबहादुर थापाका छोरा हुन् । सौरव अहिले हिमालय अर्गनाइजेसनको अटोमोबाइल व्यवसाय सम्हालिरहेका छन् । २७ वर्षको उमेरमै उनले अटोमोबाइल आयात, ब्रान्ड छनोट, बिक्री तथा बजार विस्तारदेखि डिलर नेटवर्क व्यवस्थापनसम्मको जिम्मेवारी लिएका छन् ।

उनी अहिले हिमालय अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीमध्ये अटोमोबाइल क्षेत्रको व्यवस्थापकीय निर्देशकका रूपमा कार्यरत छन् । उनका बुबा ध्रुव थापाका अनुसार उनी पछिल्लो तीन वर्षदेखि व्यवसायको अधिकांश जिम्मेवारी आफै सम्हाल्दै आएका छन् । 

ध्रुव थापा भन्छन्, ‘उसले पढ्दै गर्दादेखि नै मसँगै हिँडेर व्यवसाय सिकेको हो । सात/आठ वर्षअघिदेखि नै व्यवसायका विभिन्न पक्ष बुझ्दै आएको थियो । तर पछिल्लो तीन वर्षदेखि भने धेरैजसो जिम्मेवारी उसैलाई दिएको छु । अहिले अटोमोबाइलको आयात, बिक्री र ब्रान्डसँग सम्बन्धित अधिकांश काम उसैले हेर्छ ।’

null

सौरभ थापा ।

सौरभले व्यवस्थापन विषयमा स्नातक तहको अध्ययन पोखरामै गरेका छन् । अहिले स्नातकोत्तर तहको अध्ययनसमेत अघि बढाइरहेका छन् । 

सुरुमा बुबासँगै हिँडेर व्यवसाय बुझ्ने गरेका उनी अहिले भने आफै व्यावसायिक निर्णय लिने र कम्पनी सञ्चालन गर्ने तहमा पुगेका छन् । ध्रुवका अनुसार सौरभले व्यवसायको जिम्मेवारी लिन थालेपछि आफूले पनि धेरै कामबाट अलग रहेर अन्य क्षेत्रमा ध्यान दिन पाएका छन् ।

हिमालय अर्गनाइजेसनका रियल इस्टेट, होटल तथा अन्य व्यवसायको जिम्मेवारी भने ध्रुव आफैले हेर्दै आएका छन् । हिमालय अर्गनाइजेसनको अटोमोबाइल व्यवसायमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन आयात तथा बिक्री हुँदै आएको छ । कम्पनीले लामो समयदेखि अटोमोबाइल क्षेत्रमा काम गर्दै आएको छ । ध्रुव थापा स्वयंले यस क्षेत्रमा करिब ३२ वर्षको अनुभव हासिल गरिसकेका छन् । 

सौरभलाई पारिवारिक जीवनको एउटा घटनाले निकै प्रभाव पार्यो । जेनजी आन्दोलनका क्रममा ध्रुव थापाको घर तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएपछि परिवारले ठूलो क्षति बेहोर्नुपरेको थियो । लामो समयको मेहनतबाट निर्माण गरेको व्यवसाय र सम्पत्तिमा क्षति पुगेपछि त्यतिबेला परिवार निकै तनावमा थियो । साेही बेला नै २७ वर्षीय सौरभले परिवारलाई सम्हाल्ने प्रयास गरे ।

आफूभन्दा बढी अनुभव भएका अभिभावकलाई समेत उनले हौसला दिएको ध्रुव सम्झन्छन् । ध्रुव भन्छन्, ‘त्यतिबेला ऊ सानै उमेरको भएकाले आत्तिन्छ कि भन्ने लागेको थियो। तर हामीभन्दा पनि बढी परिपक्वता देखायो । जे भयो भयो, अब फेरि उठ्न सकिन्छ, भएका कुरालाई सम्हालेर अगाडि बढ्नुपर्छ भनेर उल्टै हामीलाई सम्झाउने र ढाडस दिने काम गर्यो ।’

ध्रुवका अनुसार छोराछोरीलाई पढाइसँगै आफ्नो पेसा र व्यवसायबारे सिकाउँदै लैजाँदा उनीहरूमा जिम्मेवारीबोध विकास हुन्छ । यसले भविष्यमा व्यवसाय सम्हाल्न सहज बनाउनुका साथै कामप्रतिको अनुशासन र व्यावसायिक संस्कार पनि विकास गर्छ ।

Share News