काठमाडौं । अमेरिकी वित्त मन्त्रालयले सोमबार इरानका विभिन्न व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले ती संस्थालाई आवरण कम्पनी (फ्रन्ट कम्पनी) र मुद्रा विनिमय केन्द्रका रूपमा पहिचान गरेको छ ।
मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको प्रतिबन्ध सूचीमा दुई दर्जन नाम समावेश छन् । सूचीमा इरानका नौ नागरिकका साथै मुख्यतः तेहरान र दुबईमा रहेका कम्पनीहरू छन् ।
अमेरिकी वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यी प्रतिबन्ध इरानको विश्वव्यापी ‘छाया बैंकिङ सञ्जाल’ नियन्त्रण गर्ने बृहत् प्रयासको हिस्सा भएको जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त सञ्जालमार्फत अर्बौं डलर अन्तर्राष्ट्रिय रूपमा स्थानान्तरण हुने गरेको छ । यसले व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद इरानलाई विदेशी मुद्रा प्राप्त गर्न सहयोग पुर्याउँदै आएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भनेका छन्, ‘इरानको अर्थतन्त्र डुबिरहेको छ र उसका नेताहरू आत्तिएका छन् ।’
उनले इरानको छाया बैंकिङ प्रणाली आर्थिक रूपमा टाट पल्टिएको सरकारको अन्तिम वित्तीय सहारा भएको बताए ।
‘वित्त मन्त्रालयले यी अवैध सञ्जाललाई ध्वस्त पार्ने काम जारी राख्नेछ । यसको जरासम्म नपुग्दासम्म हामी यो अभियान रोक्ने छैनौं,’ उनले भने ।