काठमाडौं महानगरले संकलन गर्‍यो ४ अर्ब बढी राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को पाँच महिनामा राजस्ववापत ४ अर्ब रुपैयाँ संकलन गरेको छ । 

काठमाडौं महानगरपालिकाको राजस्व विभागका अनुसार मंसिर ७ गतेसम्ममा ४ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आवको तुलनामा चालु आवमा राजस्व संकलन २५.२८ प्रतिशतले वृद्धि भएको छ । गत आवको यही समयमा महानगरले ३ अर्ब ३७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

महानगरपालिकाले चालु आवको पाँच महिनामा आन्तरिक राजस्वतर्फ ३ अर्ब १० करोड १८ लाख रुपैयाँ संकलन भएको छ । गत आवको सोही अवधिमा महानगरले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । 

गत आवको तुलनामा महानगरले २४.२३ प्रतिशतले आन्तारिक राजश्व संकलनमा वृद्धि गरेको छ । महानगरले चालु आवमा आन्तारिक आयतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ संकलन गर्ने प्रक्षेपण गरेको छ ।

यसैगरी, बाँडफाँटबाट प्राप्त राजस्वतर्फ चालु आवको मंसिर ७ गतेसम्ममा ६६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही महिनामा ५२ करोड ९ लाखरुपैयाँ राजस्व संकलन गरेको थियो ।

महानगरपालिकाले गत आवको तुलनामा चालु आवमा १४ करोड ४० लाख रुपैयाँले बढी राजस्व संकलन गरेको छ । अर्थात चालु आवमा महानगरले यो २६.४१ प्रतिशतले राजस्व संकलनमा वृद्धि गरेको छ ।

महानगरपालिले संघीय सरकार र प्रदेश सरकारमार्फत पाउने समानीकरण अनुदान र सशर्त अनुदानमा कमी आएको छ । आन्तरिक अनुदानतर्फ चालु आवमा ७१ करोड ५१ लाख रुपैयाँ संघीय सरकार र प्रदेश सरकारबाट अनुदान पाएको छ ।

गत आवमा संघीय सरकार र प्रदेश सरकारमार्फत ७५ करोड ३२ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा चालु आवमा महानगरले संघीय सरकार र प्रदेश सरकारमार्फत पाउने समानीकरण अनुदान २९.६३ प्रतिशतले घटेको छ  । 

राजस्व विभागका अनुसार महानगरमा सबैभन्दा बढी राजस्व घरबहाल करबाट उठेको छ । पाँच महिनामा महानगरले ८२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । महानगरले चालु आवमा ६ अर्ब २५ करोड रुपैयाँ घर बहाल करबाट राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म २५.८९ प्रतिशत प्रगति देखिन्छ ।

महानगरले सम्पति करबाट ७६ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ४४.४२ प्रतिशत प्रगति हो । महानगरले चालु आवमा  १ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन गर्ने प्रक्षेपण गरेको छ ।

त्यसैगरी, महानगरले घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५५ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

महानगरले चालु आवमा उक्त शीर्षकमा १ अर्ब ६४ करोड रुपैयाँ संकलन गर्ने प्रक्षेपण गरेको छ ।

महानगरले व्यवसाय करबाट ३८ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले नक्सापास दस्तुरबाट १० करोड ८४ लाख रुपैयाँ, अन्य प्रशासनिक शुल्कबाट ९३ लाख ३ हजार रुपैयाँ संकलन गरेको छ ।

Share News