राष्ट्र बैंकका गभर्नरले बुझे साढे ४६ लाख, बोर्डलाई ३ करोड भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा गभर्नर, डेपुटी गभर्नर, सञ्चालक समिति सदस्यको तलब, बैठक भत्ता र अन्य सुविधाबापत कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षमा गभर्नर तथा डेपुटी गभर्नरहरूको तलबबापत ४८ लाख ९६ हजार १०० रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, सञ्चालक समिति बैठक भत्ताबापत ३४ लाख २० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ खर्च भएको छ ।

राष्ट्र बैंककाअनुसार गत वर्ष गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले तलब, भत्ता तथा अन्य सुविधाबापत ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन् । उनले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, सञ्चालक समिति बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गरेका हुन् ।

अर्थसचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ताबापत ५ लाख ४० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ३ लाख ४८ हजार १२० रुपैयाँ गरी कुल ८ लाख ८८ हजार १२० रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै, डेपुटी गभर्नर किरण पण्डितले कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ प्राप्त गरेका छन् । उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ बुझेका छन् । उनी कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदाको अवधिमा प्राप्त तलब तथा भत्तासमेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्की निवर्तमान डेपुटी गभर्नर डा. नीलम ढुंगाना (तिम्सिना) ले तलब, बैठक भत्ता तथा अन्य सुविधाबापत कुल ५४ लाख १८ हजार ९७१ रुपैयाँ प्राप्त गरेकी छन् । उनले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लाख ३४ हजार रुपैयाँ र अन्य सुविधाबापत ४२ लाख ३५ हजार ७११ रुपैयाँ बुझेकी हुन् ।

अर्का निवर्तमान डेपुटी गभर्नर बमबहादुर मिश्रले कुल ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन् । उनले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लाख ७० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ३८ लाख ९७ हजार ५११ रुपैयाँ बुझेका छन् ।

गत फागुन २४ गते ढुंगाना र मिश्र डेपुटी गभर्नर पदबाट बाहिरिएका थिए भने चैत २४ गते किरण पण्डित नियुक्त भएका थिए । अर्का डेपुटी गभर्नर दीर्घबहादुर रावलले प्राप्त गरेकाे तलब भत्ता भने समावेश छैन । उनी गत भदौ ३ गते नियुक्त भएका थिए ।

यसैगरी, राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ गरी कुल २४ लाख ४६ हजार ९६९ रुपैयाँ प्राप्त गरेका छन् ।

अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ गरी कुल २३ लाख ७३ हजार ८१३ रुपैयाँ बुझेका छन् ।

त्यस्तै, सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ गरी कुल २९ लाख ११ हजार २०१ रुपैयाँ प्राप्त गरेका छन् ।

Share News