काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा अधिकांश जीवन बीमा कम्पनीहरूको नाफा घटेको छ । कम्पनीहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमध्ये चार कम्पनीको मात्रै नाफा बढेको हो ।
चालु आवको असोज मसान्तसम्ममा १४ बीमा कम्पनीहरूले १ अर्ब ७४ करोड ३९ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको तुलनामा ११.३४ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड ६९ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।
पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा २४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफा २.२६ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा दोस्रो धेरै नाफा आर्जन गर्ने कम्पनीमा रलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असोजसम्ममा २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा भने कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको छ ।
गत आवको यही अवधिमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । असोजसम्ममा एशियन लाइफले १६ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ५.७९ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा नेपाल लाइफको नाफा घटेको छ । असोजसम्ममा कम्पनीले १५ करोड ३५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन गत आवको तुलनामा २८.७५ प्रतिशतले कमी हो । गत आवको यही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रथम त्रैमासमा सानिमा रिलायन्सले १५ करोड २ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सले १४ करोड १२ लाख रुपैयाँ, नेशनल लाइफले १२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा सानिमा रिलाइन्सको नाफा ०.४० प्रतिशतले बढेको छ भने आईएमई लाइफको १०.७८ र नेशनल लाइफको १०.७९ प्रतिशतले घटेको छ ।
त्यस्तै, अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा सूर्य ज्योति लाइफको १५.९५ प्रतिशत, सिटिजन्स लाइफको २३ प्रतिशत, हिमालयनको नाफा २२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १०.५२ प्रतिशतले नाफा घटेको छ ।
पहिलो त्रैमासमा प्रभु महालक्ष्मीले सर्वाधिक ४५.८९ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ६ करोड ३७ लाख नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, मेट लाइफको नाफा ४६.०९ प्रतिशतले घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो त्रैमाससम्ममा ६५ लाख ४४ हजार रुपैयाँ घाटामा देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १२ लाख १२ हजार रुपैयाँ रहेको थियो ।