काठमाडौं । बल्खु-दक्षिणकाली हुँदै हेटौंडा चल्ने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरिएको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ति जारी गर्दै उक्त रुटमा चल्ने सवारीसाधनको आवागमन समय तोकिएको जानकारी दिएका हुन् ।
नयाँ व्यवस्थाअनुसार अब बल्खुबाट बिहान ५ बजेपछि मात्रै यस रुटमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै, बेलुकाको हकमा उक्त रुटमा चल्ने सवारीसाधनहरू राति ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्ने या त्यहाँ पुगिसक्नुपर्ने नियम लागू गरिएको छ ।
यात्रा सुरक्षालाई मध्यनजर गर्दै सवारीसाधनको यान्त्रिक अवस्थाको पूर्ण रूपमा जाँचपास गरेर मात्र सञ्चालन गर्न दिने निर्णयसमेत समितिले गरेको छ ।
यसका लागि काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने ट्राफिकसहितका सबै प्रहरी युनिटहरूले प्रत्येक भाडाका तथा यात्रुवाहक सवारीसाधनको अनिवार्य र कडाइका साथ चेकजाँच गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
