काठमाडौं । यस वर्षको दशैँ अवधिमा देशभर सडक दुर्घटनामा परी ११५ जनाले ज्यान गुमाएका छन् । गत असोज २५ गतेदेखि कात्तिक ९ गतेसम्म देशभर सडक दुर्घटनामा परी २ हजार ९१९ जना घाइते भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटनाका प्रमुख कारण मानवीय कमजोरी, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु र सडकको जीर्ण अवस्था हुन् ।
सवारीसाधनको सङ्ख्या बढ्दै गए पनि सोही अनुपातमा सडक पूर्वाधार विकास हुन नसक्दा दुर्घटना बढेको सुवेदीले बताए । दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसँगै पैदलयात्रीले पनि एउटै सडक प्रयोग गर्नुपर्ने अवस्थाले दुर्घटना बढाएको उनको भनाइ छ ।
उनका अनुसार काठमाडौं उपत्यकामा विगतका वर्षको तुलनामा दुर्घटना कम भए पनि देशभरको अवस्था चिन्ताजनक छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनको ब्रेक, टायर र इन्जिनको अवस्था जाँच गर्ने, मादक तथा लागू पदार्थ सेवन गरेर सवारी चलाए/नचलाएको परीक्षण गर्ने, सवारीको गति नियन्त्रण गर्ने र क्षमताभन्दा बढी भार बोक्न नदिने कार्यलाई निरन्तरता दिएको छ ।
लामो दूरीको यात्रामा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्थाको पालना गर्नुपर्नेमा पनि उनले जोड दिए । चालकले यात्रुसँग र यात्रुले चालकसँग सम्मानजनक व्यवहार गर्नुपर्ने उनको भनाइ छ । ट्राफिक प्रहरीले पनि सवारी जाँचका क्रममा नागरिकसँग सम्मानजनक व्यवहार गर्ने उनले बताए ।
यात्रुका समस्या सम्बोधन गर्न ट्राफिक प्रहरीले यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको सुवेदीले जानकारी दिए । नेपाल प्रहरी र ट्राफिक प्रहरीले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन क्यामेरा तथा ड्रोनको प्रयोगलगायतका उपाय अपनाइरहेको उनले बताए ।

नेपाल प्रहरीका अनुसार असोज २५ गते सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १३१ जना घाइते भएका थिए । असोज २६ गते १४ जनाको मृत्यु र १९१ जना घाइते भएका थिए । असोज २७ गते ७ जनाको मृत्यु र १३६ जना घाइते भएका थिए भने असोज २८ गते १७ जनाको मृत्यु र ३५४ जना घाइते भएका थिए ।
असोज ३१ गते दुर्घटनामा परी ४ जनाको मृत्यु र २५७ जना घाइते भएका थिए । कात्तिक १ गते ९ जनाको मृत्यु र १९६ जना घाइते भएका थिए । कात्तिक २ गते ९ जनाको मृत्यु र १७३ जना घाइते भएका थिए भने कात्तिक ३ गते ६ जनाको मृत्यु र २३८ जना घाइते भएका थिए ।
त्यस्तै, कात्तिक ४ गते ५ जनाको मृत्यु र ३१३ जना घाइते भएका थिए । कात्तिक ५ गते ८ जनाको मृत्यु र २०५ जना घाइते भएका थिए भने कात्तिक ६ गते ६ जनाको मृत्यु र २२९ जना घाइते भएका थिए । कात्तिक ७ गते दुर्घटनामा परी १० जनाको मृत्यु र १४१ जना घाइते भएका थिए । कात्तिक ८ गते २ जनाको मृत्यु र १९३ जना घाइते भएका थिए भने कात्तिक ९ गते १२ जनाको मृत्यु र १६२ जना घाइते भएका थिए ।