कांग्रेस नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने भएको छ  । 

पार्टीले सम्भव भए शुक्रबार (आज) आयोगमा पुगेर नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण बुझाउने तयारी गरेको हो ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले सकेसम्म आज शुक्रबार  निर्वाचन आयोगमा गएर नयाँ कार्यसमितिको विवरण अद्यावधिक गराउने जानकारी दिए । 

उनका अनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण आयोगमा पेस गर्ने तयारी गरिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगमा नयाँ कार्यसमितिको विवरण अद्यावधिक गराउने निर्णय गरेको थियो । 

बैठकले त्यसका लागि आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो ।

कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । 

महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित २३१ जना केन्द्रीय नेतृत्वमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उपसभापतिमा पुष्पा भुसाल, विनोद चौधरी, चन्द्र भण्डारी र मधु आचार्य चयन भएका छन् । 

महामन्त्रीमा प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणा निर्वाचित भएका छन् । विभिन्न समावेशी समूहबाट ११ जना सहमहामन्त्री चयन भएका छन् ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भए पनि चार जना निर्वाचित केन्द्रीय सदस्यको शपथ भने रोकिएको छ । 

अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनिता खड्का, मोहनबहादुर बस्नेत र उमेशचन्द्र यादवको शपथ तत्कालका लागि रोकिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दलको केन्द्रीय समिति तथा पदाधिकारीमा भएको परिवर्तनको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । 

आयोगमा विवरण पेस भएपछि आवश्यक जाँचबुझ गरी दलको अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढ्नेछ ।

Share News