कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई थापाको आठबुँदे प्रतिज्ञा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आठबुँदे प्रतिज्ञा गराएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित शपथग्रहण समारोहमा थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संविधान, पार्टीको विधान, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहने प्रतिज्ञा गराएका हुन्।

प्रतिज्ञापत्रमा पार्टीको विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुने, पार्टीको नीति तथा निर्देशनअनुसारका कार्यक्रम र अभियानमा सक्रिय सहभागी हुने तथा संगठनात्मक निर्णयको सम्मान र कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

प्रतिज्ञाअनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै देश र जनताको हितमा काम गर्ने तथा संविधानले तोकेका नागरिक कर्तव्य इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, कांग्रेसको विधान, सिद्धान्त र ‘समृद्ध नेपाल र सम्मानित नेपाली’को लक्ष्यप्रति समर्पित रहने तथा पार्टीको उद्देश्य पूरा गर्न आफूलाई प्राप्त पदीय जिम्मेवारी सक्रियता र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिज्ञा उनीहरूले गरेका छन्।

पार्टीको नीति तथा निर्देशनअनुसारका कार्यक्रम, अभियान र गतिविधिमा सक्रियतापूर्वक सहभागी हुने, पार्टी अनुशासन पालना गर्ने र संगठनात्मक निर्णयलाई सम्मान गर्दै कार्यान्वयन गर्ने विषय पनि प्रतिज्ञापत्रमा समेटिएका छन्।

प्रतिज्ञापत्रमा नेपालको संविधान र प्रचलित कानुनले निषेध गरेका कार्यमा संलग्न नहुने तथा आफ्नो क्षमताअनुसार त्यस्ता गतिविधि रोक्न प्रयास गर्ने उल्लेख छ। पार्टी र समाजबीचको सम्बन्ध सुदृढ गर्दै सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्।

त्यसैगरी, पार्टीको विधानविपरीत हुने गतिविधिविरुद्ध उभिने, सत्यनिष्ठा र जिम्मेवारीबोध कायम राख्ने तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहने प्रतिज्ञा गरिएको छ। पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धतासहित प्रतिज्ञापत्रका आठ बुँदा समेटिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथसँगै गरेको यो प्रतिबद्धताले पार्टीभित्रको अनुशासन, संस्थागत निर्णयको कार्यान्वयन र जिम्मेवारीपूर्ण राजनीतिक अभ्यासलाई जोड दिएको छ। 

Share News