चक्रवात ‘अर्नव’ को प्रभावले वर्षा र हिमपातको जोखिम, हाइ अलर्टमा सरकार

काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’को प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना देखिएपछि सरकारले देशभर उच्च सतर्कता अपनाएको छ । 

सम्भावित जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि मातहतका सबै निकायलाई तयारी अवस्थामा राखिएको हो ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल प्रवेश गर्दासम्म कमजोर हुने आकलन गरिएको छ । 

नेपालमा अत्यधिक तीव्र हावाहुरीको जोखिम कम रहे पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरी चल्ने सम्भावना कायमै छ ।

सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकायहरूलाई सतर्क बनाएको छ । सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

विशेषगरी हिमाली क्षेत्रमा हुन सक्ने हिमपात र प्रतिकूल मौसमलाई दृष्टिगत गर्दै पदयात्रा तथा पर्वतारोहणमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पर्यटक तथा पर्वतारोही टोलीहरूलाई आधिकारिक मौसम पूर्वानुमानको जानकारी लिएर मात्र यात्रा अघि बढाउन आग्रह गरेका छन् ।

यसैगरी, सम्भावित मौसमी प्रतिकूलताबाट हवाई उडान प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विशेष सतर्कता अपनाएको छ ।

प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । साथै सञ्चार र विद्युत् प्रणालीलाई चुस्त राख्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आ–आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी थालेका छन् । उनीहरूले सर्वसाधारणलाई मौसमको अवस्था हेरेर यात्रा तथा अन्य गतिविधि गर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सरकारले चक्रवातका विषयमा फैलिन सक्ने भ्रामक सूचना र अफवाहबाट सचेत रहनसमेत नागरिकलाई अपिल गरेको छ ।

आधिकारिक निकायबाट जारी हुने सूचना तथा मौसम पूर्वानुमानलाई मात्र आधार मानेर आवश्यक सावधानी अपनाउन र सुरक्षित रहन सरकारले आग्रहसमेत गरेको छ ।

Share News