तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो, ४७ प्रतिशत मात्रै काम

काठमाडौं । मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ ।

२७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । 

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ईलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो । 

सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ ।

यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।

ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
 

Share News