अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने

काठमाडौं । सरकारले जुनसुकै जिल्लाबाट नेपाली नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था लागू गरेको छ । गृह मन्त्रालयले नागरिकता जारी भएको जिल्ला नै पुग्नुपर्ने बाध्यता हटाउँदै सबै जिल्ला प्रशासन कार्यालयलाई जुनसुकै जिल्लाका नागरिकलाई प्रतिलिपि उपलब्ध गराउन परिपत्र गरेको हो ।

सरकारको एक सय बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ र नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै आगलागी वा पानीमा भिजेर नागरिकता नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचामा नागरिकताको प्रतिलिपि आवश्यक परेको अवस्थामा सेवा लिन सकिने जनाएको छ।

नयाँ व्यवस्थाअनुसार सेवा लिन आउने नागरिकको चाप व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारीसमेत तोकिएको छ।

जसअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि ललितपुर जिल्ला प्रशासन कार्यालय तथा कोशी र मधेश प्रदेशका नागरिकका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालय तोकिएको छ।

नागरिकताको प्रतिलिपि जारी गर्दा भने सम्बन्धित व्यक्तिको विवरण प्रमाणीकरण अनिवार्य गरिएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग निवेदकको जैविक विवरण हुबहु मिलेमा मात्र प्रतिलिपि जारी गरिने प्रशासनले स्पष्ट पारेको छ।

नयाँ व्यवस्थाले नागरिकता जारी भएको जिल्लाभन्दा बाहिर बसोबास गर्ने नागरिकलाई प्रतिलिपि लिन सहज हुने अपेक्षा गरिएको छ। यसअघि नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यताले टाढा बस्ने नागरिकले समय र खर्च दुवै बेहोर्नुपर्ने अवस्था थियो। 

Share News