गुल्मी कांग्रेसको निर्वाचनमा २१५ भन्दा बढी फर्जी मत खसेको आरोप, पुनः मतगणनाको माग

संयोजक भन्छन्– आरोपबारे आफैँ छानबिन गर्दै छु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा सम्पन्न निर्वाचनमा २१५ भन्दा बढी फर्जी मत खसालिएको आरोप सार्वजनिक भएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फका उम्मेदवार होविन्द्र कार्कीले विदेश तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताका नाममा फर्जी मत खसालिएको दाबी गर्दै पुनः मतगणना र निष्पक्ष छानबिनको माग गरेका छन् ।

कार्कीले सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत निर्वाचनमा धाँधली भएको दाबी गरेका हुन् । उनले यस विषयमा पत्रकार सम्मेलन गरेरसमेत तथ्य सार्वजनिक गर्ने र छानबिनका लागि दबाब दिने बताएका छन् ।

कार्कीका अनुसार क्षेत्रीय अधिवेशन सुरुमा रिडीमा गर्ने निर्णय भएको थियो । तर, भारी वर्षाका कारण अधिवेशनस्थल परिवर्तन गरी रानीबासमा निर्वाचन गराइएको थियो । स्थान परिवर्तनका कारण कतिपय वास्तविक मतदाता उपस्थित हुन नसकेको अवस्थामा उनीहरूकै नाममा मत खसालिएको कार्कीको आरोप छ ।

२१५ भन्दा बढी फर्जी मत खसेको आफूले पाएको कार्कीले बताए । उनले आरोपको सत्यतथ्य पत्ता लगाउन मतदाता विवरण, मतदानसम्बन्धी अभिलेख र मतगणनाको प्रक्रियाबारे छानबिन गर्नुपर्ने माग गरेका छन् । 

निर्वाचन मण्डलले छानबिन गर्दै

विवाद सार्वजनिक भएपछि निर्वाचन मण्डलका संयोजक अधिवक्ता भीम न्यौपानेले आरोपबारे आफूले छानबिन गरिरहेको बताए । मतदाता प्रमाणित गर्ने जिम्मेवारी आफ्नो भएको स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको दाबीको सत्यतथ्य जाँच भइरहेको बताएका हुन् ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले आफूले सामाजिक सञ्जालबाटै घटनाबारे जानकारी पाएको बताए । निर्वाचनमा फर्जी मत खसेको विषयमा क्षेत्रीय निर्वाचन मण्डलसँग बुझ्नुपर्ने उनको भनाइ छ । पन्थीका अनुसार निर्वाचनको प्रक्रिया नै सकिएको अवस्थामा अन्य विषय उठाउनु सान्दर्भिक हुँदैन ।

कार्कीले लगाएको आरोप पुष्टि भएमा त्यसले क्षेत्रीय निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने जिल्ला कांग्रेसका नेताहरूले बताएका छन् । विवाद निरूपणका लागि मतदाता नामावली, मतदानका क्रममा गरिएको प्रमाणीकरण, मतपत्रको अभिलेख र निर्वाचन परिणामको विवरण जाँच गर्नुपर्ने देखिएको ती नेताहरूले बताएका छन् । 

null

Share News