इन्जिनियरिङ सेवामा सरुवाको लहर : ३७ जना उपसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत ३७ जना उपसचिव सरहका इन्जिनियरको सरुवा तथा पदस्थापन गरेको छ । असोज ३० गते निर्णय गरिएपनि ढिलोगरी सार्वजनिक गरिएको सूचीअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह तथा मेकानिकल समूहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भवन तथा आर्किटेक्ट उपसमूहका २४ जना, निर्माण उपकरण सम्भार उपसमूहका नौ जना र जनरल मेकानिकल उपसमूहका चार जना गरी ३७ जना राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको छ ।

सरुवामा रुपक आचार्य, राजु न्यौपाने, जगदीश लामिछाने, खड्गबहादुर चौधरी, चन्द्रशेखर महतो, प्रविण शाह, शिखर लामा तामाङ, हिमाल केसी, दीपमा देवी शाक्य, विद्यादेवी सिंह, सुरोज पौडेल, उद्धव नेपाल, विश्वराम प्रजापति, सविन कर्माचार्य, सुमना श्रेष्ठ, शैल श्रेष्ठ, मञ्जर पन्थी, शशिधर घिमिरे, सुरेन्द्रकुमार साह, परिक्षित परिक किररिया, रमिना श्रेष्ठ, विनोद सिंह, गणेश कर्माचार्य र दीपक श्रेष्ठ छन्।

भवन तथा आर्किटेक्ट उपसमूहमा व्यापक फेरबदल

मन्त्रालयको निर्णयअनुसार रुपक आचार्यलाई शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलबाट संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङमा आयोजना प्रमुखका रूपमा सरुवा गरिएको छ। राजु न्यौपानेलाई बाँकेको सघन शहरी तथा भवन निर्माण आयोजनाबाट शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा सरुवा गरिएको छ।

प्रविण शाहलाई केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास), बबरमहलबाट संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, काठमाडौंमा आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ। शिखर लामा तामाङलाई पर्साको सघन शहरी तथा भवन निर्माण आयोजनाबाट शहरी विकास तथा भवन निर्माण विभागमा सरुवा गरिएको छ।

हिमाल केसीको पदाधिकार शहरी विकास तथा भवन निर्माण विभागको आयोजना कार्यान्वयन समूहमा कायम राखी ओखलढुंगाको सघन शहरी तथा भवन निर्माण आयोजनामा कामकाजका लागि खटाइएको छ। जगदीश लामिछानेलाई जुम्लाबाट पर्सा र खड्गबहादुर चौधरीलाई जाजरकोटबाट बाँकेको सघन शहरी तथा भवन निर्माण आयोजनामा खटाइएको छ।

त्यस्तै, चन्द्रशेखर महतोलाई क्षेत्रीय शहरी विकास आयोजना (आरयूडीपी), बबरमहलबाट जाजरकोटको सघन शहरी तथा भवन निर्माण आयोजनामा कामकाजका लागि पठाइएको छ। पर्सामा कार्यरत सुरोज पौडेललाई शहरी पूर्वाधार अनुसन्धान तथा तालिम केन्द्र, बबरमहलमा सरुवा गरिएको छ।

उद्धव नेपाललाई अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट क्षेत्रीय शहरी विकास आयोजना, बबरमहलमा कामकाजका लागि खटाइएको छ। विश्वराम प्रजापतिलाई काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाडौं जिल्ला आयुक्तको कार्यालयमा जिम्मेवारी दिइएको छ।

सविन कर्माचार्यलाई काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत भक्तपुर जिल्ला आयुक्तको कार्यालयमा खटाइएको छ। सुमना श्रेष्ठलाई काठमाडौं उपत्यका विकास प्राधिकरणबाट पूर्वाधार विकास मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। शैल श्रेष्ठलाई भक्तपुर जिल्ला आयुक्तको कार्यालयबाट अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा कामकाजका लागि पठाइएको छ।

मञ्जर पन्थीलाई ललितपुर जिल्ला आयुक्तको कार्यालयबाट क्षेत्रीय शहरी विकास आयोजना, बबरमहलमा कामकाजका लागि खटाइएको छ। शशिधर घिमिरेलाई धादिङको सघन शहरी तथा भवन निर्माण आयोजनाबाट शहरी विकास तथा भवन निर्माण विभागमा सरुवा गरिएको छ।

मोरङमा कार्यरत सुरेन्द्रकुमार साहलाई धादिङको सघन शहरी तथा भवन निर्माण आयोजनामा कामकाजका लागि पठाइएको छ। पूर्वाधार विकास मन्त्रालयमा कार्यरत परिक्षित परिक किररियालाई शहरी विकास तथा भवन निर्माण विभागमा सरुवा गरिएको छ। रमिना श्रेष्ठलाई काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत ललितपुर जिल्ला आयुक्तको कार्यालयमा कामकाजका लागि खटाइएको छ।

विनोद सिंहलाई मधेशस्थित संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयबाट जुम्लाको सघन शहरी तथा भवन निर्माण आयोजनामा कामकाजका लागि पठाइएको छ। गणेश कर्माचार्यलाई संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट नेपाल शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना ९न्युगिप०, बबरमहलमा खटाइएको छ। दीपक श्रेष्ठलाई शहरी विकास तथा भवन निर्माण विभागबाट संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मधेशमा सरुवा गरिएको छ।

दीपमा देवी शाक्यलाई क्षेत्रीय शहरी विकास आयोजनाबाट पूर्वाधार विकास मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने विद्यादेवी सिंहलाई सोही आयोजनाबाट शहरी विकास तथा भवन निर्माण विभागमा ल्याइएको छ।

हेभी इक्विपमेन्ट डिभिजनका प्रमुख पनि फेरिए

मेकानिकल समूहअन्तर्गत निर्माण उपकरण सम्भार उपसमूहका नौ जना इन्जिनियरको सरुवा गरिएको छ। यस क्रममा विभिन्न स्थानमा रहेका हेभी इक्विपमेन्ट डिभिजनका प्रमुखहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ।

हेटौंडामा कार्यरत राममानुस साहलाई कैलालीको गोदावरीस्थित हेभी इक्विपमेन्ट डिभिजनमा सरुवा गरिएको छ। नेपालगञ्जमा कार्यरत राजनमान श्रेष्ठलाई पोखरा, इटहरीमा कार्यरत विजयकुमार साहलाई जनकपुर र काठमाडौंमा कार्यरत सन्दीप अग्रवाललाई सडक विभागमा सरुवा गरिएको छ।

सडक विभागमा कार्यरत महेशकुमार पराजुलीलाई हेटौंडास्थित हेभी इक्विपमेन्ट डिभिजनमा पठाइएको छ। पोखरामा कार्यरत टेकराज बोहरालाई काठमाडौं, कैलालीको गोदावरीमा कार्यरत हरिहर पन्तलाई नेपालगञ्ज र बुटवलमा कार्यरत जयमंगल रायलाई इटहरी सरुवा गरिएको छ। जनकपुरमा कार्यरत महेशकुमार इशरलाई बुटवलस्थित हेभी इक्विपमेन्ट डिभिजनमा सरुवा गरिएको छ।

सवारी परीक्षण कार्यालयका प्रमुख पनि फेरिए

जनरल मेकानिकल उपसमूहअन्तर्गत चार जना इन्जिनियरको सरुवा गरिएको छ। सवारी परीक्षण कार्यालय टेकुका प्रमुख सुरेश श्रेष्ठलाई पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सार्वजनिक यातायात व्यवस्थापन तथा सवारी मापदण्ड शाखामा सरुवा गरिएको छ। उक्त शाखामा कार्यरत शंकरसिंह थामीलाई सवारी परीक्षण कार्यालय टेकुको प्रमुखमा खटाइएको छ।

सवारी परीक्षण कार्यालय इटहरीमा कार्यरत सुजन जोन्जुलाई बुटवलस्थित सवारी परीक्षण कार्यालयमा सरुवा गरिएको छ। नेपाल पानीजहाज कार्यालयमा कार्यरत मनिराम भुसाललाई यातायात व्यवस्था विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयको निर्णयमा नियमित सरुवा र पदाधिकार कायम राखेर अर्को निकायमा कामकाजका लागि खटाउने व्यवस्था दुवै समेटिएका छन्। त्यसैले सबै कर्मचारीको हकमा नियमित सरुवा भएको नभई केहीको जिम्मेवारी अर्को आयोजना वा कार्यालयमा कामकाजका लागि तोकिएको हो।
 

Share News