सर्वोच्चमा सिफारिस ४ न्यायाधीशविरुद्ध उजुरी दिन १० दिनको मौका

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका चार न्यायाधीशबारे कुनै गुनासो वा आपत्ति भए प्रमाणसहित उजुरी दिन सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सार्वजनिक आह्वान गरेको छ । 

समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीका सम्बन्धमा उजुरी मागेको हो । डा. बागचन्दलाई मुख्य न्यायाधीश तथा अन्य तीन जनालाई न्यायाधीशमा सिफारिस गरिएको हो ।

समितिका अनुसार प्रस्तावित नियुक्ति उपयुक्त छैन भन्ने लाग्ने व्यक्तिले १० दिनभित्र कार्यालय समयमा उजुरी दिन सक्नेछन् । उजुरी शिष्ट र मर्यादित भाषामा लेखिएको हुनुपर्ने तथा त्यसमा स्पष्ट आधार र प्रमाण खुलाउनुपर्नेछ ।

उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबारमा बुझाउन सकिनेछ । त्यसैगरी, सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्राप्त उजुरी तोकिएको समयभित्र समितिको सचिवालयमा पुग्ने गरी पठाउन समितिले आग्रह गरेको छ ।

उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा निजको नाम गोप्य राखिने समितिले जनाएको छ ।

Share News