एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले, भारत–नेपाल अवसरबारे सम्बोधन गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका वाग्लेले समिटको विशेष सत्रमा सम्बोधन गर्न लागेका हुन् ।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित सम्मेलनमा ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी छन् । उक्त सत्रमा नेपाल–भारतबीचको सम्बन्ध, आर्थिक सहकार्य र आपसी अवसरका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए । बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको थियो ।

त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले सम्बोधन गरेको सम्मेलनको विशेष सत्रमा पनि वाग्ले सहभागी भएका थिए । सो क्रममा वाग्ले र जयशङ्करबीच बदलिँदो विश्व व्यवस्था, बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धको भावी दिशाबारे रोचक प्रश्नोत्तर भएको थियो ।

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेको सहभागितालाई नेपाल–भारत सम्बन्ध, आर्थिक साझेदारी र क्षेत्रीय सहकार्यका विषयमा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ । 

Share News