काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धको भावी दिशाबारे रोचक प्रश्नोत्तर भएको छ ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा भइरहेको परिवर्तन र त्यसअनुसार अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको हो ।
सत्रमा प्रमुख वक्ताका रूपमा भारतीय विदेशमन्त्री जयशङ्करले आफ्ना धारणा राखेपछि अतिथिका रूपमा सहभागी अर्थमन्त्री वाग्लेले विश्व अहिले नयाँ व्यवस्थातर्फ अघि बढिरहेको हो कि भन्ने प्रश्न गरेका थिए । उनले विशेषगरी बहुपक्षीय सहकार्य कमजोर हुँदै गएको अवस्थामा क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखेका थिए ।
वाग्लेले सन् १९९० को दशकमा शीतयुद्धको अन्त्यपछि व्यापार तथा अर्थतन्त्रमा बहुपक्षीयतालाई प्राथमिकता दिइएको स्मरण गराउँदै अहिले भने विश्वमा व्यापारिक गुट र विभिन्न प्रकारका विभाजन बढिरहेको बताए ।
उनले विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र उपक्षेत्रीय सहकार्यलाई औपचारिक संरचनामार्फत अघि बढाउन सकिने सम्भावनाबारे जयशङ्करसँग प्रश्न गरे ।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?’ भन्दै वाग्लेले विश्वमा बढिरहेको तनाव, सङ्कट र राष्ट्रिय स्वार्थ केन्द्रित प्रवृत्तिले बहुपक्षीय सहकार्यको स्वरूप परिवर्तन गरिरहेको हो कि भन्ने जिज्ञासा राखेका थिए ।
उनले क्षेत्रीय तथा उपक्षेत्रीय समूहहरू विस्तार गरेर सहकार्यलाई संस्थागत गर्नुपर्ने हो वा तत्कालीन सरकार र नेताहरूको सद्भावमा आधारित पहललाई नै निरन्तरता दिनुपर्ने हो भन्ने विषयमा पनि भारतीय विदेशमन्त्रीको धारणा मागेका थिए ।
जवाफमा जयशङ्करले औपचारिक संस्थागत संरचना निर्माण गर्नु परम्परागत राजनीतिक सोचको महत्त्वपूर्ण हिस्सा भए पनि पछिल्ला दुई दशकमा धेरै मुलुक औपचारिक प्रतिबद्धताका लागि तयार नदेखिएको बताए ।
उनका अनुसार संस्थागत संरचना निर्माण गर्ने क्रममा वार्ता, प्रशासनिक प्रक्रिया, खर्चको व्यवस्थापन र नियम निर्धारणमै धेरै समय तथा ऊर्जा खर्च हुने गरेको छ । कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको उनले बताए ।
जयशङ्करले औपचारिक संरचना निर्माण गर्न सम्भव भएका क्षेत्रमा त्यसलाई प्राथमिकता दिन सकिने उल्लेख गर्दै अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई उदाहरणका रूपमा प्रस्तुत गरे । तर सबै विषयमा औपचारिक संरचना आवश्यक नहुने र कतिपय अवस्थामा अनौपचारिक सहकार्यलाई निरन्तरता दिनु नै उपयुक्त हुने उनको भनाइ थियो ।
उनले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नभएको उल्लेख गरे । सहकार्यको स्वरूप विषय, साझेदार मुलुक र उनीहरूबीचको प्रतिबद्धताको स्तरमा निर्भर हुने उनले बताए ।
‘तपाईंले मलाई प्रवृत्ति सोध्नुभयो भने, म भन्छु प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,’ जयशङ्करले भने ।
उनका अनुसार भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान सोच भएका मुलुकबीचका करिब ५० वटा समूह निर्माण गरेको छ ।
जयशङ्करले अहिले मुलुकहरूले प्रशासनिक बोझ कम हुने र ठोस परिणाम दिन सक्ने सहकार्यको स्वरूप खोजिरहेको बताए । अत्यधिक जटिल र बोझिलो संरचना निर्माण गर्नुभन्दा आवश्यकताअनुसार साझेदारी गर्दै परिणाममुखी काम गर्नु प्रभावकारी हुने उनको भनाइ थियो ।
दुई नेताबीचको संवादले बदलिँदो विश्व व्यवस्थामा बहुपक्षीय सहकार्यको भविष्य, क्षेत्रीय साझेदारीको भूमिका र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउने उपायबारे बहसलाई थप उजागर गरेको छ ।