काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउसँग भेटवार्ता गरेका हुन् ।
भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी बढाउन, प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे ।
अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणमा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
उनले परियोजना तयारीका लागि एआईआईबीले विशेष कोषमार्फत अनुदान सहायता उपलब्ध गराउने जानकारी दिइन् । उक्त कोषअन्तर्गतको अनुदान प्रयोग गरेर नेपाललाई दिने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराउन सकिने उनको भनाइ थियो ।
भेटमा अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे । उनले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति पनि दुःख व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले मध्यमकालीन र दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा लगानी बढाउन आग्रह गरे । उनले एआईआईबीसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न अनुरोध गरे ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन् ।