काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो ।
असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
उनका अनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा वागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उनले बताइन् ।
सम्पर्कविहीनहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ ।
जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उहाँले जानकारी दिए ।
विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको प्रवक्ता महतको भनाइ छ ।
हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उनले बताइन् ।
प्राधिकरणले अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरी विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराएको थियो ।
उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताइन् ।
प्राधिकरणले ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन तथा सम्प्रेषण गरिरहेको छ ।
उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उनले बताइन् ।
नवलपरासी १ हजार बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण
प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ ।
पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन् ।
उनका अनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले बताइन् ।
त्यस्तै, म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ ।
स्थानीय तथा प्रदेशस्तरका गोदाममा रहेका सामग्रीसँगै प्राधिकरणको केन्द्रिय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ ।
महतका अनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको उनले बताइन् । –न्युज एजेन्सी नेपाल