काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने निर्णय डडेल्धुरा कांग्रेसले सर्वसम्मत रूपमा गरेको छ ।
डडेल्धुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णयमार्फत १५औं महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई महरको पक्षमा उभिन अपिलसमेत गरिएको छ ।
अधिवेशनबाट पारित अपिलमा महरलाई कांग्रेसको इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ ।
महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट–ड्रिभन’ नभई ‘नलेज–ड्रिभन’ र ‘नेसन–सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई डडेल्धुरा कांग्रेसले आफ्नो निर्णयको प्रमुख आधार बनाएको छ ।
संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई केवल ‘कन्भेन्टर सेन्टर’ नभई ‘पर्फर्मेन्स सेन्टर’का रूपमा विकास गर्नुपर्ने महरको अवधारणा आजको कांग्रेसको संस्थागत आवश्यकतासँग जोडिएको निर्णयमा उल्लेख छ ।
डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र सीमित नभई कांग्रेसको संगठनात्मक रूपान्तरणसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा व्याख्या गरेको छ ।
ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणलाई महरको नेतृत्व अवधारणाका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ ।
महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै डडेल्धुरा कांग्रेसले १५औं महाधिवेशनमा सहभागी हुने देश तथा विदेशका महाधिवेशन प्रतिनिधिसँग समर्थनका लागि औपचारिक अपिल गरेको छ ।
अधिवेशनबाट पारित निर्णयले महरको उम्मेदवारीलाई डडेल्धुराबाट सुरु भएको पहलका रूपमा अघि बढाउँदै यसलाई १५औं महाधिवेशनसम्म पुर्याउन देश तथा विदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गरेको छ ।
डडेल्धुरा कांग्रेसको यो सर्वसम्मत निर्णयले महरको महामन्त्री उम्मेदवारीलाई जिल्लास्तरीय समर्थनको विषयबाट अघि बढाउँदै १५औं महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्तुत गर्ने राजनीतिक आधारसमेत तयार गरेको छ ।