काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशका प्रमुख राष्ट्रिय राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । सडक विभागले शनिबार (१० गते बेलुका ८ः०० बजे) जारी गरेको अद्यावधिक विवरण अनुसार अवरुद्ध सडकहरू खुलाउन तथा यातायात सुचारु गराउन विभिन्न स्थानमा मेशिन तथा जनशक्ति परिचालन गरी प्रयास भइरहेको छ ।
विभागका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भाइरल डाँडा र धानखोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ र पहिरो पन्छाउन मेशिन परिचालन गरि सकिएको छ ।
यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला, फिस्लिङ, बाँगे, चालिसे लगायतका स्थानमा पहिरो हटाई केही समय एकतर्फी रूपमा फसेका सवारी साधन र एम्बुलेन्स पास गराइए पनि रातिको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति यातायात पूर्ण रूपमा बन्द गरिएको छ ।
बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने, कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा डाइभर्सन बगेकाले मर्मत कार्य भइरहेको छ । थप क्षति नभएमा भोलि साँझसम्म सञ्चालनमा ल्याउन सकिने आकलन गरिएको छ ।
उता कान्ति राजमार्गको चपली र तकुर्च लगायत अवरुद्ध सम्पूर्ण खण्डको पहिरो हटाई आज बिहानदेखि नै यातायात सञ्चालनमा ल्याइएको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गत घोडाबाँधे-हटिया खण्डको नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहा लगायतका ठाउँमा पहिरो र ढलेका रुख हटाई एकतर्फी यातायात सञ्चालन गरिएको छ भने अन्य अवरुद्ध खण्डमा मेशिन परिचालन गरी कार्य जारी राखिएको छ ।
कालीगण्डकी करिडोरको जैमिनीनगरपालिका-८, बेलबगर लगायतका स्थानमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिए पनि लामो दूरीका सवारीलाई अनुमति दिइएको छैन ।
तमोर करिडोर (मुलघाट-फिदिएम) अन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँमा खोलाको बहाव उच्च रहेकाले यातायात सञ्चालन हुन सकेको छैन ।
बहाव कम हुनासाथ सडक खुलाउन मेशिनहरू ‘स्ट्यान्डबाई’ राखिएको छ । यस्तै, राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्ड अवरुद्ध रहेकाले पहिरो हटाउने काम भइरहेको छ ।
कर्णाली राजमार्गको गगने खोला, राँका क्षेत्र, बाङ्गेसिमल-दहीखोला तथा हारे नजिकमा साना–ठूला पहिरो पन्छाउने कार्य जारी छ । हारे नजिक ठूला ढुङ्गा हटाउन लोडरसहितको टोली परिचालन गरिएको छ ।
भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा आंशिक अवरोध रहेकाले साना सवारीसाधन सावधानीपूर्वक आवतजावत गरिरहेका छन् ।
यसैगरी, बेसीसहर-चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका स्थित खोत्रोमा निरन्तर वर्षा र ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।
जलविद्युत् आयोजनाहरूसँग समन्वय गरी ठूला उपकरणहरू तयारी अवस्थामा राखिएको सडक विभागले जनाएको छ । सडक सम्बन्धी थप अद्यावधिक विवरण विभागको वेबसाइटमा उपलब्ध छ ।