काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ ।
नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी मुख्य नाराका साथ आगामी असोज २३ गते काठमाडौंमा यो सम्मेलन हुन लागेको हो ।
सम्मेलन सम्बन्धी सहकार्यका लागि सिबिफिन र एनबिआईबीच गत असोज ५ गते समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
सम्मेलनमा तिनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूसहित देशभरका करिब ४०० जना उद्यमी, व्यवसायी र सरोकारवालाहरूको सहभागिता रहनेछ ।
कार्यक्रमले विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई), युवा उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने विषयमा केन्द्रित रहेर गहन छलफल चलाउने बताइएको छ ।
समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले यो सम्मेलनले वित्तीय पहुँच, समावेशीकरण, नवप्रवर्तन र डिजिटल बैंकिङको उपयोग बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बैंकिङ क्षेत्र र युवा उद्यमीहरूबीचको सम्बन्धलाई थप व्यावसायिक बनाउँदै जिम्मेवार कर्जा उपभोगको संस्कृति विकास गर्न र उत्पादनशील क्षेत्रमा लगानी बढाउन सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे ।
त्यस्तै, नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवाहरूलाई उत्पादन र रोजगारीमा जोड्नुपर्नेमा जोड दिए ।
नीतिगत व्यवस्था, स्टार्टअपका लागि बिउ पुँजी र वित्तीय पहुँच जस्ता विषय बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष जोडिएकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनले उल्लेख गरे ।
मुलुकको अर्थतन्त्रमा पर्याप्त तरलता र न्यून ब्याजदर कायम रहेको वर्तमान अवस्थामा आयोजना हुन लागेको यस सम्मेलनले उदीयमान युवा उद्यमीहरूलाई सही मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
यसले युवा उद्यमी अनुकूल नीति निर्माण गर्न, लगानीको वातावरण सुधार गर्न र नेपालको वित्तीय क्षेत्रको दिगो विकासमा नयाँ आयाम थप्न स्पष्ट दिशाबोध गर्ने आयोजकको विश्वास छ ।