बैंकिङ क्षेत्रमा समस्या छ, तर आत्तिनुपर्ने अवस्था छैन : मनोज गोयल

काठमाडौं । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र विगतको तुलनामा अप्ठ्यारो अवस्थामा पुगे पनि धराशायी हुने अवस्थामा भने नरहेको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले आर्थिक गतिविधि चलायमान हुँदै गए बैंकिङ क्षेत्र पनि पुनः सहज अवस्थामा फर्किने बताए । 

उनका अनुसार बैंकिङ क्षेत्रमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा पर्ने भएकाले बैंकिङ क्षेत्रलाई सहज बनाउनेतर्फ सरकार र नियामक निकायको ध्यान जान आवश्यक छ ।

गोयलले अहिले बलियो सरकार रहेकाले आर्थिक गतिविधि बढ्ने र त्यसले बैंकिङ क्षेत्रलाई समेत सहज बनाउने अपेक्षा रहेको बताए । 

‘हाम्रो अर्थतन्त्रमा अवसर रहेकाले बैंकिङ क्षेत्र पनि सहज हुन्छ,’ उनले भने, ‘अहिले बैंकिङ क्षेत्र जरो आएजस्तो अवस्थामा छ ।’

उनले बैंक तथा वित्तीय संस्थाका पुराना प्रवद्र्धकलाई बाहिरिन दिने र नयाँ प्रवद्र्धकलाई प्रवेशको अवसर दिनुपर्ने माग आफूहरूले गर्दै आएको बताए । 

बैंकिङ क्षेत्रमा नयाँ लगानी र प्रवर्द्धकको प्रवेशले क्षेत्रलाई थप गतिशील बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

गोयलले कर प्रणाली र कर्जा नोक्सानी व्यवस्थापनमा समेत सुधार आवश्यक रहेको बताए । 

विशेषगरी खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुँदा बैंक तथा वित्तीय संस्थाले थप कर तिर्नुपर्ने व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने उनको भनाइ छ ।

‘कर सुधार, लोन लस प्रोभिजनलगायतका व्यवस्थामा सुधार गर्न जरुरी छ,’ उनले भने, ‘खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुँदा थप कर तिर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था सरकारले हटाउनुपर्छ ।’

बाढीबाट प्रभावित ऋणीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको पनि उनले बताए । 

त्यसका लागि नेपाल राष्ट्र बैंकसँग आवश्यक छलफल गरिने गोयलले जानकारी दिए ।

Share News