काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोगमा २०औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश गरी कुल ४ प्रतिशत अर्थात् ६२ करोड २ लाख ९८ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
साथै, बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधनका लागि नियामकबाट प्राप्त हुने निर्देशन बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेश हुनेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।