सरकारको ‘अडिट’ गर्ने एमालेको नीति, सदन र सडकबाट खबरदारी

फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभामा पार्टीको संख्या घटे पनि सरकारका गलत निर्णय र गतिविधिमाथि कडा निगरानी राख्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा पार्टीको आगामी प्रतिपक्षीय भूमिकाबारे धारणा राख्दै भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सरकारको नेतृत्वमा रहेको र एमाले २५ सिटमा सीमित भएको अवस्थामा पार्टीको भूमिका बदलिएको उल्लेख गरेका हुन् ।

भट्टराईले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक न्याय र विकास निर्माणका सकारात्मक कदममा सरकारले अघि बढाएका कामलाई एमालेले साथ दिनुपर्ने बताएका छन् । 

तर ती विषयमा सरकारले गलत निर्णय वा गतिविधि गरेमा त्यसको निरन्तर खबरदारी गर्नुपर्ने उनको धारणा छ ।

उनले एमालेले अब ‘खबरदारी र जागरण’लाई प्रतिपक्षीय भूमिकाको केन्द्रमा राख्नुपर्ने बताए । 

सरकारका कामको निगरानी गर्दै आवश्यकताअनुसार जनदबाब सिर्जना गर्नसमेत पार्टीले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

भट्टराईले सरकारका गतिविधिमाथिको निगरानी संसदमा मात्र सीमित नराखी आवश्यकताअनुसार सदन र सडक दुवै मोर्चालाई समन्वय गरेर अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

उनले संसदीय संख्याका आधारमा एमाले कमजोर अवस्थामा पुगे पनि लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र राष्ट्रिय एकताका क्षेत्रमा पार्टीको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरे । 

वर्तमान संविधान निर्माणमा एमालेले नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै उनले बदलिएको संसदीय समीकरणकै आधारमा पार्टीको राजनीतिक हैसियतलाई मूल्यांकन गर्न नहुने संकेत गरेका छन् ।

भट्टराईको प्रस्तावले सरकारलाई समर्थन गर्ने र विरोध गर्ने विषयलाई मुद्दाका आधारमा छुट्याउनुपर्ने एमालेको प्रतिपक्षीय रणनीतिको संकेत गरेको छ । 

संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासका सकारात्मक काममा सहयोग गर्ने तथा त्यसविपरीतका निर्णयमा सदन र सडकबाट दबाब बढाउने उनको प्रस्ताव छ ।

Share News