काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । वडा अधिवेशन सम्पन्न गरेपछि कांग्रेसले स्थानीय तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो ।
आज हुने अधिवेशनबाट प्रत्येक पालिकामा नयाँ कार्यसमिति चयन हुनेछ । कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका कार्यसमितिमा सभापति, दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् ।
दुई उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । कोषाध्यक्ष भने निर्वाचनबाट चयन हुने छैनन् । निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था विधानमा छ ।
पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि संगठन निर्माण र प्रतिनिधि छनोटको प्रक्रिया थप अघि बढ्नेछ । पार्टीले महाधिवेशनअन्तर्गत यसअघि वडा तहको अधिवेशन अघि बढाइसकेको छ ।
यसैबीच, बाढीपहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको रसुवामा भने आज पालिका अधिवेशन नहुने भएको छ । विपद्का कारण जिल्लाको अवस्था सामान्य नरहेकाले त्यहाँको अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखेर रसुवाको अधिवेशनको मिति केही दिनपछि सार्ने तयारी गरिएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको अधिवेशनपछि क्रमशः माथिल्ला तहका सांगठनिक संरचना निर्माणको प्रक्रिया अघि बढ्नेछ ।