काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले व्यापक जनधनको क्षति पुर्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार बाढीका कारण ११ जनाको मृत्यु भएको छ भने ७३७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ४३६ जना स्थायी र ३१ जना अस्थायी बासिन्दा रहेका छन् ।
वडागत रूपमा हेर्दा वडा नं. १ मा ४३७ जना, वडा नं. २ मा ७५ जना (२ जनाको मृत्यु), वडा नं. ३ मा ३० जना (१ जनाको मृत्यु), वडा नं. ४ मा ७७ जना (१ जनाको मृत्यु) र वडा नं. ५ मा ११८ जना (७ जनाको मृत्यु) प्रभावित भएका छन् ।
उनले भनिन्, ‘पर्यटक, मजदुर तथा अन्य पेसाकर्मीहरू समावेश नभएकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण जनप्रतिनिधि, शिक्षक र निजामती कर्मचारीहरूसमेत प्रभावित भएका छन् ।’
गुरुङका अनुसार उत्तरगया गाउँपालिका वडा नं. १ की कार्यपालिका सदस्य ज्ञानु विक सम्पर्कविहीन छन् । त्यसैगरी, जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही र कार्यालय सहयोगी रेप्पा तामाङ बेपत्ता रहेका छन् भने सूचना प्रविधि अधिकृत जनक आचार्यको मृत्यु भएको छ ।
साथै मिननाथ न्यौपाने, रमेश लामिछाने, संजिव तामाङ, नारायण बहादुर थापा, अजय कुमार यादव, ममता श्रेष्ठ, मनमाया तामाङ, सुक बहादुर तामाङ, प्रिन्सिपल सुरज डंगोल र सुष्मा तामाङ लगायतका शिक्षक तथा विद्यालय कर्मचारीहरू सम्पर्कविहीन छन् ।
भौतिक पूर्वाधारतर्फ गाउँपालिकाभर ६१३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६१८ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । साथै २२ वटा टहरा तथा अन्य संरचनामा क्षति पुगेको छ ।
सार्वजनिक निकायहरूतर्फ उत्तरगया गाउँपालिकाको कार्यपालिका कार्यालय (कैदलेटार) र वडा नं. १ को सम्पर्क कार्यालय नौविशेमा क्षति पुगेको छ ।
यसबाहेक सामुदायिक स्वास्थ्य एकाइ, कृषि तथा पशु सेवा सम्पर्क केन्द्र, उत्तरगया आँखा केन्द्र, विभिन्न विद्यालयका १० वटा भवन, ८ वटा शौचालय र ३४ वटा कक्षाकोठाहरू क्षतिग्रस्त भएका छन् ।
बाढीले यातायात, विद्युत र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद गराएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडकको वेत्रावती-मैलुङ खण्ड र वडा नं. १, २ र ३ जोड्ने सडक पूर्ण रूपमा क्षति भएको छ ।
३ वटा पक्की पुल र ३ वटा झोलुङ्गे पुल बाढीले बगाएपछि आवतजावत तथा राहत सामग्री ढुवानीमा गम्भीर समस्या पैदा भएको छ भने वडा नं. १ मा विद्युत र सञ्चारको नेटवर्क पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
विस्थापित र प्रभावितहरूलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।गाउँपालिकाभित्रका शिक्षालय आवि, भिमसेन स्थान, शिम्ले आवि, गणेश आवि र निलकण्ठ मावि छात्रावासमा गरी १७८ जना र नुवाकोट जिल्लाको विदुर तथा बट्टार क्षेत्रमा सारिएका ५३३ जना गरी कुल ७११ जना नागरिकले आश्रय लिइरहेका गाउँपालिकाकी उपाध्यक्ष गुरुङले बताइन् ।
उनका अनुसार राहत वितरणको क्रममा हालसम्म वडा नं. १ मा ११३, वडा नं. २ मा ७२, वडा नं. ३ मा १८, वडा नं. ४ मा ३२१ र वडा नं. ५ मा ४१७ गरी कुल ९४१ घरधुरीलाई राहत सामग्री वितरण गरिसकिएको छ । साथै भदौ १४ देखि १९ गतेसम्ममा विभिन्न ११५ वटा सरकारी, संघसंस्था तथा व्यक्तिगत तहबाट सहयोग प्राप्त भएको गुरुङको भनाइ छ ।
सडक र पुल भत्किएका कारण दुर्गम क्षेत्रहरूमा राहत पुर्याउन ठूलो चुनौती सामना गर्नुपरिरहेको उनले बताइन् । ‘अहिले पूर्णरुपमा विवरण आएको छैन् । सामान्य राहत वितरण गरिरहेका छौं । पूर्णरुपमा विवरण आएपछि उहाँलाई कहाँ राख्ने के गर्ने भन्नेबारे योजना बनाउँनेछौं,’उपाध्यक्ष गुरुङले भनिन् ।