काठमाडौं । आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न भूभागमा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बंगालको खाडी क्षेत्रमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा भारी वर्षा हुनसक्ने देखिएको हो ।
विभागका अनुसार असोज ९ र १० गते वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी रहने सम्भावना छ ।
उक्त अवधिमा विशेषगरी भारी वर्षा हुनसक्ने भएकाले मौसमको अवस्थाप्रति सतर्क रहन विभागले सुझाव दिएको छ ।
पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म वर्षा हुने सम्भावना रहेपनि लुम्बिनी प्रदेशमा भने भारी वर्षाको जोखिम बढी देखिएको छ ।
विभिन्न मौसम पूर्वानुमान प्रणालीले समेत लुम्बिनी क्षेत्रमा उल्लेख्य वर्षा हुनसक्ने संकेत गरेका छन् ।
पूर्वानुमानअनुसार आगामी चारदेखि पाँच दिनको अवधिमा कतिपय क्षेत्रमा कुल ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने देखिएको छ । यद्यपि उक्त परिमाण एकै दिनमा नभई धेरै दिनमा हुने सम्भावित वर्षाको समग्र अनुमान हो ।
लामो समयसम्म ठूलो परिमाणमा वर्षा भएमा नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।
त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो ।
विभागले विकसित भइरहेको मौसमी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
वर्षाको वास्तविक परिमाण, तीव्रता र बढी प्रभावित हुनसक्ने क्षेत्रबारे भने मौसम नजिकिँदै जाँदा थप स्पष्ट विवरण सार्वजनिक हुने विभागको भनाइ छ ।