सहकारीहरू अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगे : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताएका छन् ।

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उनले अधिकांश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको बताएका हुन् । उनले नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणाभन्दा बाहिर गएको आरोप लगाए । करिब ६५ प्रतिशत सहकारी संस्थाहरूले बचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गरे ।

सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उनको भनाइ छ । उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

हाल सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा केन्द्रित हुन नसकेको उनको भनाइ छ । उनले कुल ऋण लगानीको करिब ४० देखि ५० प्रतिशत घरजग्गामा गएको दाबी गरे । घरजग्गामा भएको लगानी अनुत्पादक लगानी रहेको उनको भनाइ छ ।

कृषि उत्पादनमा मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी भएको उनले बताए । करिब ३० देखि ३५ प्रतिशत लगानी सेवामुखी क्षेत्रमा गएको र औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको उनको भनाइ छ ।

उनले उत्पादनमा आधारित सहकारी विकासका लागि राज्यले सहकारीले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नुपर्ने बताए ।

उनले भने, ‘सहकारीहरू उत्पादनको दिशातर्फ जानुको सट्टामा बैंकिङको प्रिन्सिपलबाट जान थाल्यो । वैचारिक रूपले विचलन त्यहाँबाट सुरु भएको छ । ६० देखि ६५ प्रतिशत खाली बचत र ऋण दिने टाइपको मात्रै अथवा अर्धबैंकिङ, माइक्रोफाइनान्स टाइपको मोडलबाट गएछ । कृषि लगायतका घरेलु उद्योग लगायतका औद्योगिक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा कृषि क्षेत्रमा केवल २५ देखि ३० प्रतिशत मात्रै लगानी गर्ने देखिन्छ । बहुउद्देश्यीय टाइपको १० प्रतिशत जति देखिन्छ ।’

उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न कडा नियमन र कानुनी व्यवस्था आवश्यक रहेको बताए । उनले राज्यले सहकारीसँगै सहकारीबाट उत्पादित कृषि तथा अन्य वस्तुको बजार संरक्षण गर्ने नीति लिन आवश्यक रहेको उल्लेख गरे ।

Share News