राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउन कार्यदलको सिफारिस

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

निर्वाचन परिणामको समीक्षा र त्यसपछि पार्टीको सांगठनिक अवस्थाबारे बहस चलिरहेका बेला कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकलाई औपचारिक रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो ।

आइतबार बसेको १५ सदस्यीय कार्यदलको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टी नेतृत्वलाई सुझाव दिने विषयमा सर्वसम्मत निर्णय गरेको कार्यदलका सदस्य एवं सचिव महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकले कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा  र महासचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदालाई आधार बनाएर एकीकृत प्रतिवेदन तयार गर्ने सहमति पनि गरेको छ ।

‘दुवै मस्यौदालाई मिलाएर एकीकृत मस्यौदा तयार गरी सचिवालयमा पेस गर्ने सहमति भएको छ,’ बस्नेतले भने ।

कार्यदलले तयार गर्ने प्रतिवेदनमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन र आगामी सांगठनिक दिशासँग सम्बन्धित विषयहरू समेटिने बताइएको छ । 

राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सिफारिस पनि यही समग्र समीक्षाको एउटा महत्त्वपूर्ण निष्कर्षका रूपमा आएको हो ।

एमालेभित्र पछिल्लो निर्वाचनपछि पार्टीको संगठन, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक रणनीतिबारे विभिन्न तहमा समीक्षा भइरहेको छ । 

निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको विषयलाई लिएर पार्टीभित्रै समीक्षा र पुनर्गठनको आवश्यकता उठ्दै आएको छ । 

यही पृष्ठभूमिमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको थियो ।

Share News