काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा हाल बहाल रहेका ७ प्रदेश सभापतिमध्ये ६ जना र ७७ जिल्ला सभापतिमध्ये ७३ जना सहभागी हुने भएका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सुदूरपश्चिम प्रदेश सभापति तथा चार जिल्लाका सभापतिबाहेक सबै प्रदेश र जिल्ला सभापति महाधिवेशन प्रक्रियामा सहभागी हुने जानकारी दिए ।
उनका अनुसार महाधिवेशन प्रक्रियामा सहभागी नहुने जिल्ला सभापतिमा कञ्चनपुरका पदम बोगटी, मुगुका ऐनबहादुर शाही, डोटीका नरेन्द्रबहादुर सिंह र बागलुङका जित शेरचन रहेका छन् ।
उनीहरूले पार्टीले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहयोग नगरेको भन्दै सम्बन्धित जिल्लामा नेतृत्व परिवर्तन गरिएको कांग्रेस प्रवक्ता चालिसेले जानकारी दिए ।
कांग्रेसले यी जिल्लामा सभापतिको जिम्मेवारीसमेत परिवर्तन गरेको छ ।
निर्वाचित सभापतिहरूको स्थानमा कार्यवाहक सभापति तोकेर महाधिवेशनअन्तर्गतका संगठनात्मक गतिविधि अघि बढाउने तयारी गरिएको छ ।
यस्तै, अहिलेसम्म सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर महाधिवेशनमा भाग लिने नलिने पक्का नभएको चालिसेले बताए ।
प्रवक्ता चालिसेका अनुसार सुदूरपश्चिम प्रदेशबाहेक कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सभापति १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुनेछन् ।
त्यस्तै, ७७ जिल्लामध्ये चार जिलाबाहेकका ७३ जिल्ला सभापति महाधिवेशनमा सहभागी हुने चालिसेले जानकारी दिए ।
कांग्रेसले महाधिवेशनको तयारी अघि बढाइरहेका बेला प्रदेश तथा जिल्ला तहका नेतृत्वको सहभागितालाई महत्वपूर्ण मानिएको चालिसेले बताए ।
जिल्ला तहबाट हुने अधिवेशन, प्रतिनिधि छनोट र महाधिवेशन प्रतिनिधिको व्यवस्थापनमा जिल्ला सभापतिको भूमिका रहने भएकाले उनीहरूको सहभागिता महाधिवेशन प्रक्रियासँग प्रत्यक्ष जोडिएको चालिसेले जानकारी दिए ।
पार्टीभित्र महाधिवेशनको मिति, अधिवेशनका बाँकी प्रक्रिया र प्रतिनिधि छनोटलगायत विषयमा संस्थापन र इतर पक्षबीच मतभिन्नता रहँदै आएको छ ।