काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको वार्षिक साधारणसभा बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । साथै, अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित भएको छ ।
सभाबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणसँग सम्बन्धित अन्य अनुसूचीहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।
त्यस्तै, आगामी आर्थिक वर्षका लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको बैंकले जनाएको छ ।
साधारणसभामा सेयरधनीले उठाएका जिज्ञासाको जवाफ अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।
प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थालाई दिगो, सबल र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे ।