काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पोखरा फाइनान्स लिमिटेडको मर्जरका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ ।
साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एकआपसमा गाभिएपछि कायम भएको पोखरा फाइनान्सको नाममा १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेका अनुसार मर्जरपछि पोखरा फाइनान्सको नाममा कायम भएको प्रतिकित्ता १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्यका यी सेयरको कारोबार अब खुला गरिएको छ । मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
मर्जर साबिकका दुवै कम्पनीका सेयर १ः१ अनुपातमा कायम हुने गरी भएको थियो ।
समृद्धि फाइनान्स कम्पनीको सूचीकरण खारेज गरी त्यस कम्पनीको ८१ लाख ८९ हजार ११४ कित्ता सेयर पोखरा फाइनान्सको नाममा कायम गरिएको छ । यससँगै पोखरा फाइनान्सको कुल सूचीकृत सेयर संख्या १ करोड ९० लाख १४ हजार ६८० कित्ता पुगेको छ ।
नेप्सेले धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा प्रचलित नियम–विनियम र धितोपत्र सूचीकरण सम्झौतामा उल्लेखित शर्त पालना गर्नुपर्ने जनाएको छ ।