भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ । यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्मका लागि नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जानकारी भारतको ऊर्जा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै दिएको हो । 

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेपछि उत्पन्न कठिन परिस्थितिमा सहयोग पुर्याउन र द्विपक्षीय ऊर्जा सहकार्यलाई सुदृढ बनाउन भारतले यो कदम चालेको हो । 

उक्त सम्झौताअनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् नेपालतर्फ आयात गरिनेछ । 

सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातका विषयमा भने सन् २०२६ को डिसेम्बरमा पुनः समीक्षा गरिने भारतीय ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ । 

Share News