काठमाडौं । सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव ह्वात्तै बढेको छ । खोलामा पानीको सतह बढेसँगै नदी किनारमा रहेका सुकुम्बासी तथा अस्थायी टहराहरूमा पानी पसेको छ ।
बस्तीमा पानी पसेर डुबानको जोखिम बढेपछि प्रहरीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार बाढीको जोखिमलाई ध्यानमा राख्दै खोला किनारका बस्तीहरूमा तुरुन्तै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
‘खोला किनारका केही घर तथा टहराहरूमा पानी पसेपछि हामीले स्थानीयहरूलाई सुरक्षित ठाउँमा सारेका छौं,’ स्रोतले भन्यो, ‘अहिले पनि उद्धार र सतर्कताका लागि प्रहरी टोली खटिएर काम गरिरहेको छ ।’
स्रोतका अनुसार विगतका वर्ष वा सामान्य समयको तुलनामा यसपटक मनोहरा खोलामा पानीको बहाव निकै उच्च देखिएको थियो । यद्यपि, प्रहरीको समयमै भएको सक्रियता र पूर्वसतर्कताका कारण कुनै पनि मानवीय क्षति हुन पाएको छैन ।
हाल वर्षा थामिएकाले खोलामा पानीको बहाव पनि बिस्तारै घट्दै जान थालेको छ । पानी घटे पनि पुनः वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।