प्रधानमन्त्री बालेनसँगको बैठक लगत्तै पक्राउ भए तामाङ

काठमाडौं । नुवाकोटस्थित किस्पाङ गाउँपालिकका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन् ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएको हो ।

तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्नका लागि सोही वृत्तले अनुमति मागेको र सोहीबमोजिम पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए । उनका अनुसार उनलाई हनुमानथानबाट पक्राउ गरिएको हो । 

दरबार मार्ग वृत्तमा परेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । तामाङले उजुरीकर्तालाई पाँच लाख ४५ हजार रुपैयाँ बुझाउन पर्ने थियो । पुरानो मुद्दा भएकाले अनुसन्धानको प्रक्रिया नटुंगिसकेकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि नामक कम्पनी चलाउँथे ।

 

Share News